दिनभर गिटी नकुटी भन्सामा भात पाक्दैन उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु?

प्रकाशित समय 4:17:00 AM
उदयपुर, ९ मंसिर । ‘दैनिक रुपमा गिटी नकुटी खान पाइन्न कसरी चुनावबारे बुझ्न हिँड्नु?  शुक्रबार दिउँसो त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने । त्रियुगा नगरपालिका १२ मा घर भएको बताउने बोटकै श्रीमति विन्दालाई हजुरहरुलाई चुनावबारे थाहा छ भनेर प्रश्न गर्दा उनले भनिन, ‘असारमा भएको चुनाव फेरि हुन्छ र? 


दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेससभाको निर्वाचनले उदयपुरलाई जुरुक्कै बनाएको छ। बिहानदेखि बेलुकासम्म बजारका चोक, गाउँका चौतारासमेत उम्मेद वारको चर्चा बढेको छ । तर, दैनिक रुपमा मजदुरी गरेर खानेको लागि चुनावको कुनै रौनक छैन । ‘अहिलेसम्म हाम्रो बस्तीमा कुनै पनि उम्मेदवार आएका पनि छैन श्रीमान् श्रीमति मिलेर बालुवा चाल्दै गरेका रामकुमार चौधरीले भने, ‘असारको चुनावमा लापुर्जा दिन्छौँ भोट देऊ भने, भोट दिएको अहिलेसम्म लालपुर्जा दिएनन् । 
त्रिनपा १३ मा घर ढलानको काममा सिमेन्ट र बालुवा घोल्दै गरेकी रामकुमारी भनिन्, ‘बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममै व्यस्त हुन्छु के को चुनाव? यसैगरी, चुनावको मतलबै नगर्ने उनीहरु मात्र होइनन् । दैनिक मजदुरी गरेर खानेहरु धेरै भेटिन्छन् । नयाँ घर बनाएको ठाउँमा गएर इँटा बोक्ने, बालुवा घोल्ने, खोनाको किनारमा बसेर गिटी कुट्नेलाई प्रतिनिधि तथा प्रदेश सभाको चुनावको कुनै अर्थ भएको पाइँदैन।कम्युनिस्ट पार्टीहरुको मुखमै हुन्छ ‘सर्वहारा वर्ग । अहिले त्यही ‘सर्वहारा वर्गलाई नै चुनावको कुनै मतलब छैन । 
बुढापाकाले जसलाई भन्छन् उसैलाई भोट त्रियुगा नदीको किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले व्यंग्य गर्दै भने, ‘सबैतिरबाट हारेकालाई सर्वहारा भन्छन् । अनि जग्गा, छैन, उम्मेदवार आउँदा मीठो मसिनो खुवाउने हैसियत छैन, किन आउँछन् उम्मेदवार हाम्रो गाउँमा ? यता, बालुवा चाल्दै गरेकी सजना परियारले भोट हाल्ने अघिल्लो दिन मात्र उम्मेदवारका मान्छे बस्तीमा आउने गरेको बताइन् । ‘चुनावको अघिल्लो दिन बस्तीमा भोज पनि खान दिन्छन,  परियारले भनिन, ‘गाउँका बुढा पाकाले जसलाई भोट हाल्नु भन्छन, त्यसैलाई भोट हालिन्छ।’ अरूलाई नेता बनाउन हिँड्नुभन्दा बरु दिनभरि गिटी कुट्दा राम्रो रोज पाउने मजदुरको भनाइ हुन्छ । मझौला उद्योग, भवन निर्माण, भौतिक संरचना, सडक निर्माण जस्ता काममा लागेका सयौँ मजदुरलाई अहिले उदयपुरमा चुनाव लागेको छैन ।
मजदुर वर्गलाई अझै प्रभाव गर्न नसकेको निर्वाचन नेता कार्य कर्ताका लागि ‘चाडपर्व जस्तो भइसकेको छ । अहिल्यै चुनावमा हुने तडकभडक, आरोप प्रत्यारोप, सन्तुष्टि असन्तुष्टि पोख्नेको जमात छ । निर्वाचन मिति नजिकिँदै गर्दा जिल्लास्थित सबै पार्टीले घरदैलो अभियान, आमसभा, कार्यकर्ता भेला, प्रशिक्षण जस्ता रणनीतिलाई तीव्र पार्दै लगेका छन् । मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन लगायतका काम तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »