सामान्य व्यवसायीले गरे स्वास्थ्य चौकीलाई २५ लाखको जग्गादान

प्रकाशित समय 11:22:00 PM
मणिलाल विश्वकर्मा
लहान, २९ मंसिर । भौतिक सम्पत्तिको आधारमा सामाजिक हैसियत मापन गरिने हाम्रो समाजमा धन सम्पत्ति जोड्न दिनरात दौडिरहेका हुन्छन् । पुर्ख्यौली सम्पत्तिको हिस्सामा किचलो भए कतिपयले बरु मुद्दा लड्दालड्दै सम्पत्ति सिध्याउँछन, सहोदर अंशियारसँग मुद्दा मामिला गर्न छोड्दैनन् । तर सिरहाको गोलबजार नगरपालिका १ मुक्सारमा सामान्य व्यवसाय गरेर जीविका चलाइरहेका ४५ वर्षीय रामकुमार महतोले आफूले दुःख गरेर जोडेको करिब पाँच का जग्गा  गाउँको स्वास्थ्य चौकीलाई दान गरेर ‘धन होइन, मन हुनुपर्छ भन्ने देखाएका छन् । गाउँमा टेण्ट, डिजे साउण्ड सञ्चालनको आम्दानीबाट घरखर्च कटाएर महतोले जोडेको चार का १७ धुर जग्गा गाउँको स्वास्थ्य चौकीलाई दान गरेका छन् । उक्त जग्गाको मूल्य अहिलेको भाउमा करिब २५ लाख रुपैयाँ हुने स्थानीय गाउँलेहरु बताउँछन् । स्वास्थ्य चौकी नबन्ने भएपछि दान गोलबजार नगरपालिका १ मुक्सारको अनूमा रहेको साविकको उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भएपछि बिरामीहरुको चाप अनुसारको भवन बनाउन पछिल्लो चार वर्षदेखि जग्गाको खोजी भइरहेको थियो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग, जिल्ला स्वास्थ्य कार्यालयको टोली चार पटक जग्गाको लागि गाउँ आएपनि जग्गा दिन कोही तयार थिएनन् । स्थानीय वुद्धिजीवी तथा शिक्षक सागर पूर्वेका अनुसार आफ्नै गाउँठाउँका बिरामीका लागि बन्ने स्वास्थ्य चौकीका लागि जग्गा दिने कोही नभेटेपछि उनले दुःखले जोडेको जग्गा दान गरेका हुन् ।
‘सम्पत्ति मानिसका लागि बाँचुञ्जेलसम्मका लागि मात्र हो, मरेपछि पनि गाउँका मानिसले सम्झिने भएकाले जग्गादान गरेको हुँ’ जग्गादाता महतोले भने । उनको निर्णयमा पत्नी चन्द्रकलादेवी महतोले पनि सहमति जनाएपछि स्वास्थ्यचौकी लाई जग्गादान गर्ने तारतम्य मिलेको शिक्षक पूर्वेले बताए ।
भवनको शिलान्यास र सम्मान स्वास्थ्य चौकीका लागि २५ लाख रुपैयाँ बराबरको जग्गादान गर्ने महतोलाई बुधबार गाउँमा गोलबजार नगरपालिकाका प्रमुख देवानाथ साहले एक समारोबीच प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
सम्मानसँगै स्वास्थ्य चौकी भवनको नगरप्रमुख साहले शिलान्यास समेत गरेका छन् । भवन निर्माणपछि मुक्सार वरिपरीका करिब एक दर्जन गाउँका सेवाग्राहीलाई सहज हुने स्वास्थ्य चौकी प्रमुख जगत महतोले बताए । प्रमुख महतोका अनुसार मुक्सार स्वास्थ्य चौकीमा गोला, भुल्के डाँडा, चौधरी टोल, चारघरे, अनू, बैरीबाँध, बलडाँडा, टोड्के, जमदह, पहिरे डाँडा, धनडाँडा, ठकुरी टोल र रखाल डाँडाका बिरामीहरु आधारभूत स्वास्थ्य सेवा आउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »