दाइजोको निहु“मा बुहारीको हत्या ः ससुरा जेल

प्रकाशित समय 7:58:00 PM
जनकपुरधाम, ११ पुस । एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ । जनकपुर उपमहानगरपालिका–२ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा उनका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको हो । आइतबार जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले हत्यामा संलग्न रहेको अभियोगमा ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको हो । सोही घटनाको आरोपी मृतककी सासु सुमित्रादेवी शर्मालाई भने समान्य तारेखमा रिहा गरिएको छ।गत मंसिर ९ गते बिहान रञ्जनाको शव उनको सुत्ने कोठामा फेला परेको थियो । रञ्जनाको हत्या उनका सासुससुराले नै गरेको आरोप छिमेकीले लगाएपछि माइती पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो।सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी रामनारायण शर्मा र प्रभादेवी शर्माले आफ्नो छोरीलाई पटक पटक सासुससुरा र श्रीमान आनन्दमोहन ठाकुरले दाइजोको माग गर्दै प्रताडना दिने गरेको बताएका थिए ।
घटना लगत्तै प्रहरीले रञ्जनाका ससुरा देवनारायण र सासु सुमित्रादेवीलाई पक्राउ गरेर कारवाही अघि बढाएको थियो । हत्या अभियोगमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिए पनि अनुसन्धानका क्रममा सासु ससुराको मात्र संलग्नता रहेको खुलेको थियो । जनकपुरको कृष्णा नर्सिङ ईन्स्टिच्युटमा तेश्रो वर्षमा नर्सिंङ पढ्दै गरेकी रञ्जनाको डेढ वर्षअघि १८ लाख दाइजो दिएर विवाह गरिएको थियो । बिहेको केही महिना नबित्दै उनका श्रीमान आनन्द मोहनलगायत घरपरिवारले रञ्जनामाथि विभिन्न लान्छना लगाइ दाइजोको मागसहित यातना दिँदै आएको छिमेकी बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »