फोरम–राजपा एकता कसरत

प्रकाशित समय 9:12:00 PM
मिथिलेश यादव
लहान, २८ मंसिर । प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेस गठबन्धन मा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको कसरतमा जुटेका छन् ।
स्थानीय तह निर्वाचनमा प्रदेश २ मा पाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रेका थिए । यो गठबन्धनलाई प्रदेशसभा मा प्रत्यक्षतर्फ प्रस्ट बहुमत प्राप्त भएको छ । प्रत्यक्षतर्फ ६४ सिट रहेको यस प्रदेशमा मधेस गठबन्धनले ३५ सिट जितेको छ । समानुपातिक निर्वाचनतर्फको परिणाम भने आइसकेको छैन । प्रदेश २ को प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय हुन्छ ।
जनादेशको कदर गर्दै दुवै दलका शीर्ष नेता एकतामन पक्षमा सकारात्मक र गम्भीर देखिएका छन् । यसका लागि संवाद सुरु भइसकेको छ । परिणाम सकारात्मक नै आउँछ–राजकिशोर यादव ।
यो प्रदेशमा सरकार निर्माण गर्ने विषयमा फोरम–राजपाबीच छलफल सुरु भइसकेको छ । यी दुवै दलमध्ये बढी सिट जितेका लाई मुख्यमन्त्री र दोस्रोलाई उपमुख्यमन्त्री पद दिने लगभग सहमति भइसकेको राजपाका एक नेताले बताए । प्रादेशिक सरकार निर्माण गर्दा कुन दललाई कति मन्त्री र कुन मन्त्रालय भन्ने विषयमा छलफल सुरु भएसँगै दुवै दलबीच एकता पहलसमेत भएको छ ।
दुवै दलबीच प्रादेशिक सरकार गठन र पार्टी एकताका लागि  औपचारिक सम्वाद सुरु भएको छ । ‘पार्टी एकताका विषयमा घनीभूत छलफल जरुरी छ, राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले नागरिकसँग भने, अहिले हामी सबै मतदाता लाई धन्यवाद दिन घरदैलोमा व्यस्त छौं । दुई÷तीन दिनभित्रै अध्यक्षमण्डलका अध्यक्षसहित सम्पूर्ण सदस्य र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत पदाधिकारी बसेर पार्टी एकताका छलफल अघि बढाउने तयारी भएको उनले बताए ।
फोरम–राजपा एकताका लागि सूत्रधारको जिम्मेवारी पाएका राजपा अध्यक्षमण्डल सदस्य यादवले भने, ‘जनादेशको कदर गर्दै दुवै दलका शीर्ष नेता एकताको पक्षमा सकारात्मक र गम्भीर देखिएका छन् । सम्वाद सुरु भइसकेको जानकारी दिँदै उनले भने, ‘परिणाम सकारात्मक नै आउँछ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपासँग एकता प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएका छन् । मधेसी जनताको जनादेशको कदर हामी सबैले गर्नुपर्छ । म एकताको बाधक बन्दिनँं । गत स्थानीय तहको जनादेशलाई आत्मसात गरेर यो चुनावमा हामी मिलेर मधेसी जनताको दैलोमा पुग्दा असीम समर्थन पाएका छौं, यादवले भने, ‘हामी मजबुत नभएसम्म मधेसको अधिकार संस्थागत गराउन मुस्किल छ । मजबुत मधेस सरकार र मधेस प्रदेशको आर्थिक मजबुतीका लागि पनि मधेसी दल मिल्नुको विकल्प नरहेको पनि उनले बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन क्रममा जनताको घरदैलो पुग्दा उनीहरूले देखाएको भरोसा, निर्वाचन परिणाम जस्ता पक्षको शूक्ष्म र गम्भीर ढंगले विश्लेषण गर्दै एकता पहल सुरु भएको राजपाका अर्का  एक प्रभावशाली नेताले बताए । भर्खरै सम्पन्न निर्वाचन परिणामले हौसिएका फोरम अध्यक्ष यादवले भने, ‘सरकार निर्माण र पार्टी एकताका लागि चाँडैै औपचारिक रुपमा छलफल सुरु हुन्छ । मधेसको समृद्धि फुटेर होइन जुटेर गर्न हामी गम्भीर भई अघि बढ्छौं ।
मधेसलाई आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा समृद्ध बनाउनकै लागि मधेसी दललाई जनादेश दिएको बताउँदै यादवले भने, ‘जनताले दिएको जिम्मेवारी र देखाएको भरोसा खेर जान दिँंदैनौं । देशमा पहिलोपटक मधेस सरकार बन्न लागेको बताउँदै राजपा महासचिव मनीषकुमार सुमनले भने, ‘यो प्रदेशलाई नमुना प्रदेश बनाउन हामी (फोरम–राजपा) एक नभई हुँदैन । घरकै सदस्य नमिलेपछि अन्य पक्षको सहकार्य र सहयोग लिन असहज हुने उनको भनाइ छ ।
मिल्दा र फुट्दापछिको चुनावी परिणामको अनुभव बटुलिसकेका मधेसी दलका नेताहरू एकताका लागि गम्भीर देखिन्छन् । २०६३ को पहिलो मधेस आन्दोलनपछि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तीन मधेसी दलले प्रदेश नम्बर २ मा पर्ने जिल्लाका ४८ सिटमध्ये ३५ जितेका थिए । तत्कालीन समयमा मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी चुनावमा होमिएका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरम फुटेर टुक्राटुक्रा भयो, सदभावना र तमलोपा पनि विभाजित भए । परिणाम ४८ सिटमध्ये मधेसी दलले चार सिटमै चित्त बुझाउनुप¥यो ।
पहिलो संविधानसभा चुनावमा जित र दोस्रोमा हारको अनुभव सुनाउँदै पूर्वसञ्चारमन्त्री राजकिशोर यादव भन्छन, ‘पार्टी फुट्दा दोस्रो संविधानसभा चुनावमा धेरै मधेसी नेता हार्न पुगे । विगत अनुभव र गल्तीले सबै नेता घोत्लिनुपर्ने ठाउँमा पुगेको छौं । त्यसैले पनि एकता निश्चित छ, परिणाम आउन समय लाग्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »