नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली, कृत्रिम तथ्यांक तयारी पारी अनियमितता

प्रकाशित समय 10:26:00 PM
मिथिलेश यादव
सिरहा, १२ पुस । सीमावारि नै सरकारी विद्यालय प्रशस्त छन् । गाउँमै कक्षा ८ सम्मको पढाइ हुने आधारभूत विद्यालय पनि ठाढीमै छ । तर, पढ्ने उमेरका बालबालिका लाम लागेर पारि (भारतीय बजार लौकाहा) का विद्यालयमा जान्छन् । पारिका संस्थागत विद्यालय वाहन (गाडी) सहित विद्यार्थी लिन वारिका गाउँबस्ती आइपुग्छन् । पारिका सरकारी विद्यालयमा विद्यार्थी पैदलै पुग्छन् । गाउँको विद्यालय छोडेर किन पारिका विद्यालय पुग्छन् नेपाली विद्यार्थी ? यताका विद्यालयलाई राजनीतिले चौपट बनाएको गुनासो स्थानीय अभिभावकको छ ।
ठाढीको बीच गाउँमा सञ्चालित आधारभूत विद्यालय विश्वासपट्टी डेढ दशकअघिसम्म विद्यार्थीको आकर्षण केन्द्र थियो । पढाइ गुणस्तरीय भएपछि ठाढी, सिनुरिया, विश्वासपट्टीलगायत छिमेकी गाउँबाट पनि यस विद्यालयमा विद्यार्थी पढ्न आउँथे । पढाइमा नियमितता थियो । व्यापारी वर्गदेखि किसानसम्म सबैका बालबालिका यही विद्यालय मा आधारभूत शिक्षा पढ्थे । विद्यालयको बेहालबारे बेलीविस्तार लगाउँदै ठाढीका शिवशंकर साह भन्छन, ‘विद्यालय मा राजनीति पसेपछि पढाइलेखाइ चौपट भयो । यस विद्यालयमा कार्यरत शिक्षकशिक्षिका नेता बढी शिक्षक कम छन, उनले भने । प्रधानअध्यापकदेखि शिक्षकसम्म सबै राजनीतिक आडमा पढाइलेखाइमा ध्यान दिन छोडेर सेवासुविधा हजम (पचाउन) गर्नेतिर लागेपछि पढाइ भद्रगोल बनेको स्थानीयको भनाइ छ । ‘दरबन्दीका सातजना शिक्षक छन, विद्यार्थीको उपस्थिति भने शून्य, एक स्थानीयले भने, ‘अहिलेको शिक्षक टोली परिवर्तन नभएसम्म पढाइलेखाइमा सुधार आउनेवाला छैन । गाउँको विद्यालयमा पढाइलेखाइ बेहाल बनेपछि यहाँका अभिभावक आफ्ना छोराछोरी पारिको विद्यालयमा पढाउन बाध्य बनेको स्थानीय दिलीप गुप्ताको भनाइ छ । ‘हाम्रा छोराछोरी पढाउन नजिकमा लौकाहाबाहेक अर्को शैक्षिक विकल्प नै छैन, उनले भने ।
लौकाहाको राजकीय कन्या मध्यविद्यालय आकर्षक शैक्षिक गन्तव्य बनेको छ । साथै कन्भेन्ट विद्यालय, लक्ष्मीनारायण जनता विद्यालयमा समेत वारिका विद्यार्थी जाने गरेका छन् । ठाढीबाट मात्रै पाँच सय विद्यार्थी लौकाहा जान्छन् । तीमध्ये करिब अढाइ सय विद्यार्थी राजकीय कन्या मध्यविद्यालयमा पढ्न जाने गरेको स्थानीय बताउँछन् । विद्यालय प्रशासनका अनुसार नेपाली विद्यार्थी गुणस्तरीय पढाइ खोज्दै त्यहाँ पढ्न आइरहेका छन् ।
यस्तैमध्येकी एक विद्यार्थी हुन् ठाढीकी आँचल गुप्ता । उनी राजकीय कन्या मध्यविद्यालय लौकाहामा कक्षा ७ मा अध्ययनरत छिन् । गाउँको विद्यालयमा पढाइ नभएपछि उनी सो विद्यालयमा पढ्न गएकी हुन् । गाउँको विद्यालय पढ्दाको अनुभूति सुनाउँदै आँचलले भनिन, ‘शिक्षक आउँदैनन, आए पनि गफिएर समय बिताउँछन, पढाउँदैनन् । विद्यालयमा पढाइ नै नभएपछि विकल्प खोज्दै पारिको विद्यालयमा पढाइ सुरु गरेको उनको भनाइ छ । पारिको विद्यालयमा उनले भारतको राष्ट्रिय गान घोक्नुपर्छ । राष्ट्रिय जनावर पनि भारतकै सिकाउँछन् । उनलाई नेपालको राष्ट्रिय गान थाहा छैन । नेपाली भाषा राम्ररी बोल्न नजान्ने उनले भनिन, ‘पढाइलेखाइ हिन्दीमा भएपछि नेपाली कसरी बोल्न सक्छु ? नेपालको राष्ट्रिय गान, नेपाली भाषा प्यारो त लाग्छ नि ।
स्थानीय धर्मनाथ गुप्ता भारतीय विद्यालयमा छोराछोरी पढ्न पठाउनु रहर नभई बाध्यता भएको बताउँछन् । ‘गाउँको विद्यालयको पढाइ राम्रो बनाउन हामीले धेरै प्रयास ग¥यौं तर राजनीतिको अगाडि हाम्रो केही चलेन, उनले सुनाए । जबसम्म नेताहरूले असल मनसायले प्रयास थाल्दैनन् तबसम्म यहाँको शैक्षिक अवस्थामा सुधार हुन मुस्किल हुने उनी बताउँछन् । ‘नियमनकारी देखि कारबाही गर्ने निकाय सबैले नेताका कुरा सुन्छन, नेताजति सबै शिक्षकका संरक्षक छन, हाम्रो गुनासोको वजनभन्दा नेताका कुराको वजन भारी हुँदोरहेछ अनि यो विद्यालयको शैक्षिकस्तर कसरी माथि उठ्छ, उनी भन्छन् ।
ठाढीको आधारभूत विद्यालयमा प्रायः ताला झुन्डिएको हुन्छ । विद्यालयनजिकै घर भएका एक शिक्षक भन्छन, ‘यहाँ विद्यालय भवन छ, विद्यार्थी छैनन् । हाजिरी रजिस्टरमा मात्र विद्यार्थी छन, कक्षामा उपस्थिति हँुदैन । हाजिरी रजिस्टरमा अभिलेख भएका विद्यार्थी सबै सीमापारि (लौकाहा) को विद्यालयमा पढ्न जाने गरेको र उनीहरूको अभिलेख आपूmहरूले राखेको उनले बताए । विद्यालयको अभिलेखअनुसार विद्यार्थीको संख्या चार सय रहेको उनको भनाइ छ । विद्यार्थी भने दैनिक चारजना पनि उपस्थित हुँदैनन् ।
गाउँभरिका विद्यार्थी पढ्न पारि जान्छन् तर उनीहरूको अभिलेख राखेर ठाढीस्थित आधारभूत विद्यालय विश्वासपट्टीले वर्षौंदेखि सरकारी सेवासुविधा अनियमितता गर्दै आएको स्वयं शिक्षकहरू बताउँछन् । ‘यस्तै रहेछ यहाँको चलन, एक शिक्षकले भने, ‘अहिलेसम्म कसैले केही गर्न सकेको छैन । विद्यार्थी पढ्न पारि जान्छन, अभिलेख यहाँ राखिन्छ । स्रोत व्यक्तिले यही अभिलेखलाई सदर गरेर शिक्षा कार्यालयबाट सेवासुविधा निकासा हुँदै आएको एक शिक्षकले बताए । यसमा राजनीतिक पहँुच र सांगठनिक शक्तिले काम गरेको उनको भनाइ छ ।
‘हामी शिक्षक राजनीतिक रूपमा संगठनसँग आबद्ध छांै, उनले भने, ‘रकम भुक्तानीमा सांगठनिक र पार्टीको पावर लगाएर भुक्तानी लिन्छौं । राजनीतिक पावर भएपछि काम तमाम, ती शिक्षकले भने, ‘जति उजुरी गए पनि नेताले मिलाइहाल्छन् ।
यो विद्यालयका प्रधानअध्यापक रामचन्द्र साहविरुद्ध स्थानीयले कैयौँ पटक शिक्षा कार्यालयमा उजुरी गरे तर सुनुवाइ भएको छैन । जिल्ला शिक्षा अधिकार महेन्द्रप्रसाद महतोले बदमासी गर्नेलाई अनुगमन गरी कारबाही गर्ने बताए । स्थानीयले भने यस्तो आश्वासन उनले यसअघि पनि पटकपटक दिँदै आएको तर काम केही नगरेको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »