नेपालको मधेस आन्दोलन र यसका सिद्धान्तहरु

प्रकाशित समय 2:00:00 AM
 विजयप्रसाद मिश्र 
 नेपालमा भएको मधेस आन्दोलन कुन राजनीतिक वा सामाजिक सिद्धान्तसंग मिल्दो जुल्दो छ भी खोजविन गर्दा यसमा विभिन्न राजनीतिक र सामाजिक सिद्धान्तकारहरुको अवधारणाहरु मेल खाने देखिएको छ । उत्तर आधुनिकवादको अवधारणाका विद्वानहरुले बहुजातिय समाजमा जातिय राष्ट्रियताको हिंसा र जातिय आन्दोलनहरुलाई नकार्न सकिदैन भन्ने छ । यस सिद्धान्तको अवधारणा के हो भने विभिन्न जातिय स्तरमा बनेका समुदायका मानिसहरु आफ्नो जातको स्वभाव, चालचलनसंग मिल्ने र अर्को जातिको समुदायको मानिसहरुसंग स्वभाव, चाल चलनका कारणले आफूलाई फरक महशुस गर्ने हुन्छन् । उनीहरुको पहिचान उनीहरु कुन जातिका हुन त्यससंग सम्बन्धित हुन्छ ।
सामान्यतया आफ्नो जातिको युक्तिसंगत चहनाहरु पत्ता लगाउने र त्यसलाई व्यवहारमा उतार्ने काम गरिरहेका हुन्छन् । यो पत्ता लगाउँदा त्यो न्यायसंगत छ कि छैन भन्ने कुराको परीक्षण नै नगरी जातिय आधारमा आएकोले अन्धभक्त भई स्वीकार गर्ने चलन छ । उनीहरु आफ्नो जात अनुसारको बानी व्यहोरा स्वीकार गर्न बाध्य हुने र जातिय नियम हरुबाट बाँधिएर बसेका हुन्छन् ।    विशेषगरी तीन थरीका विद्वान हरुको सैद्धान्तिक अबधारणाहरु को विश्लेषण गर्नु सान्दर्भिक हुन्छ । पहिलो जातियता, दोस्रो राष्ट्रियता र तेस्रो क्षेत्रीयता । नेपालका समाजशास्त्री डा. चैतन्य मिश्रले मधेको आन्दोलन क्षेत्रीय आन्दोलन नभई यो जातिय आन्दोलन नै हो भनेको छ । उनले यो तराईको आन्दोलन नभई मधेसको आन्दोलन भएको उल्लेख गरेको छ । जातियता र राष्ट्रियतालाई सामाजिक र संस्कृतिक पहिचानका आधारभूत स्रोत मानिन्छ । एकातिर आफ्नो पहिचान र अर्कोतिर अरुसंग आफ्नो स्थान निर्धारण गर्ने माध्यमले जातियता र राष्ट्रियता बन्ने गर्दछन् । माथीको विचारमा सहमत भएजस्तै थप कुरा गर्दै अन्य विद्वानहरु हेमिल्टन, सोबर र विल्सनले के भनेका छन् भने जातिय आधारमा मानिसहरु आफ्नो जातलाई अरु जातको  दाँजोमा बढी सहयोग गर्दछन् । उनीहरुको एकअर्का जाति बिचमा जातिय दुश्मनी, हेपाहा शब्दको प्रयोग गर्ने, जातिय द्वन्द्वबढाउने काम गरिरहने बानी हुन्छ भनेका छन् ।
उत्तर आधुनिकबादको अवधारणामा फरक मत राख्दै ब्रासले जातिय राष्ट्रियताको कारणले हुने हिंसा सामाजिक संरचनात्मक कारणले हो भनेका छन् । उनको भनाईमा जातिय झगडा जातिय विविधताको कारणले स्वतः हुने होइन भन्ने छ । यसको लागि जातिय दुश्मनीको कारणको खोजी र व्याख्या गर्नु आवश्यक रहेको उनको तर्क छ । धेरै सोसियल कन्सट्रक्टिजम्को सिद्धान्तको ज्ञाता मध्ये ह्याच्टरको भनाईमा दुई वा दुई भन्दा बढी समुदायहरु एक अर्कामा एकअर्का लाई जव स्वीकार गर्न वा आपस मा संगठित हुन सफल हुदैनन् त्यसपछि तिनीहरु छुट्टिन चाहन्छन् । उनीहरुमा जति बढी फुट हुन्छ त्यति बढी जातिय शत्रुता उग्रहुदै जान्छ ।
राजनीति शास्त्रको सिद्धान्तमा राल्फ उहेन्डर्फको द्वन्द्वको सिद्धान्तले पनि समाजमा विभिन्न खालका समुदायहरु र संरचनाहरु हुन्छन, यी संरचनाले आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गर्छन र यसबाटै द्वन्द्वको  जन्म हुन्छ भनेका छन् । उनले द्वन्द्वको स्वरुप जति ठूलो हुन्छ  सामाजिक संरचनामा पनि त्यत्तिकै ठूलो परिवर्तन आउँछ भनेका छन् । मधेस आन्दोलनमा पनि मधेसका विभिन्न मधेसी समुदायका मानिसहरु आन्दोलित थिए र यसले आन्दोलित समुदाय को अधिकारमा परिवर्तन ल्याएको छ । राल्फ डहेन्डर्फको अवधारणा मा कुनै पनि समुदायका दुई विपरित स्वार्थ भएका समुह हुन्छन् । यी दुई समुहमाथी कसैले नियन्त्रण गरेन भने यिनीहरु खुला रुपमा प्रकट हुन पुग्दछन् । दुई थरी समुदाय मध्ये एक थरी यथास्थिति बनाइराख्न  चाहन्छन् भने अर्को थरी यसलाई परिवर्तन गरी आफ्नो हीत अनुकुल बनाउन चाहन्छन् । त्यसले द्वन्द्व उत्पदन्न हुन्छ र यो द्वन्द्वले सामाजिक र संरचनामा परिवर्तन हुन्छ ।   राल्फले ल्याएको अवधारणासंग मधेस आन्दोलनको तत्कालिन कारणलाई तुलना गरेर हेर्दा के देखिन्छ भने माओवादी र मधेसवादीबीच विवाद भएको थियो जसलाई तत्काल स्थानीय प्रशासनले रोक्ने प्रयास गरेन । माओवादीले छुट पाएपछि मधेसवादी समुहहरुले सार्वजनिक यातायात र कार्यालयहरु जलाउन थालेका थिए । तसर्थ यो सिद्धान्त मेल खाने देखिन्छ ।
त्यसैगरी होरोवीट्जले द्वन्द्वमा जातिय समुह नामक पुस्तकमा उल्लेख गर्दै भनेका छन् कि समाजमा जातिय आधारमा भएको विभाजन बाहिरी रुपमै देखिन्छ । राज्यले बनाउने विकास योजना, शैकि समस्या समाधान का लागि गरेको प्रयास, श्रमसंगठन मा पहुँचको अवस्था, भूमि नीति, व्यापारिक नीति, करनीतिलाई हेर्दा जातिय रुपमै कसैले अवसर पाएको र कसैले नपाएको देखिन्छ । जातीय रुपमा विभाजित समाज मा केन्द्रिय राजनीतिक एजेण्डा लाई समुदायमा लादिन्छ, जसले जातिय आधारमा मानिसहरु संगठित भई केन्द्रिय नीतिको सबै पक्षको विरुद्ध जनाउने गरेका हुन्छन् । यस सिद्धान्तले जातिय रुपमा मानिसहरु संगठित भएका हुन्छन् र सबै राजनतिक घटनाहरु जातिय परिणामले नै उब्जीने गर्दछ । सशस्त्र गतिविधिहरु हुन थाल्दछन् र चरम अवस्थामा पुग्दा राज्यको आर्थिक सम्बन्धको पुरै प्रक्रियाहरु अवरुद्ध हुन्छन् । सरकारले दिने अवसर र सरकारी नीतिबाट हुने फाइदाबाट सत्तामा नभएको जाति समुदाय पुरै बञ्चितको अवस्थामा रहेका हुन्छन् । विभाजित समुदाय जातिय द्वन्द्वको राजनीतिको केन्द्रविन्दुमा रहेको हुन्छ । जातीय द्वन्द्वको चुनौती यतिसम्म बढ्दछ कि राज्यहरुबीचको सम्बन्ध नै शान्तमय हुन सक्दैन । जातिय हिंसाले लुटपाट, हत्या, घरवार विहिनको अवस्था, धेरै जनसंख्या झगडामा उत्रिने गर्दछ । यस सिद्धान्तले विभाजित समाजमा जातिय आधार नै शक्तिशाली रहेको हुन्छ भनी व्याख्या गरेको छ । जातिय कुराले मानिसमा सजिलै उत्तेजना आउने र सर्व व्यापी हुनछ भनेको छ । मधेस आन्दोलनको सन्दर्भमा माथीका सिद्धान्तहरुसंग धेरै कुरा मेला खाएको पाइन्छ । हुनत, जातियता र राष्ट्रियताको अवधारणा हरुलाई हेर्दा के पाइन्छ भने राष्ट्रियताको उठान केही सांस्कृतिक आयामबाट हुन्छ तर मूल भावना राजनीतिक अस्तित्व रहन्छ । जनसंख्या, भूभाग र निसानजस्ता पहिचानका प्रतिक हरु जातीय सम्बन्धमा पाइन्छन् ।   पहिचानका प्रतीकहरु राष्ट्रितामा बढी व्यापक र निश्चित हुन्छन् । जातीय रुपमा स्थापित भएका स्थानहरु राष्ट्रिय सिमाना भन्दा पुराना हुने भएकोले एउटै जाति विभिन्न राष्ट्रमा छरिएको र एउटै राष्ट्रमा विभिन्न जातिहरु अटाए का हुन्छन् । नेपालको मधेसमा बसोबास गर्ने मधेसीमूलका मानिसहरुको अवस्थालाई हेर्ने हो भने भारतमा बस्ने र नेपालमा बस्ने मधेसीमूलका मानिसहरुको एउटै जातिका छन् । उनीहरुको भाषा, संस्कार मिल्दछ ।
त्यसैगरी जातियता सिमावद्ध हुनु आवश्यक हुदैन तर राष्ट्रियता को क्षेत्रीय परिधि हुन्छ । त्यसैले विभिन्न देशमा रहेका  केही विशेष जातिले आफ्नो वेग्लै राष्ट्र निर्माण गर्ने आन्दोलनहरु चलाइको हुन्छ । जातियता पहिचानको संस्कृति हो भने राष्ट्रियताको चिनारी सार्वभौमिकता हो । मधेसी हरुले आफ्नो राष्ट्रियताको पहिचान गुमेकोले आन्दोलन गरेका छन् भने जातिय रुपमा शासनको सबै क्षेत्रमा सहभागिताको सुनिश्चितता नभएकोले जातिय रुपमा संगठित भई शासनमा अवसर र पहिचान को लागि आन्दोलन गरेकाले उनीहरुको आन्दोलन जातियता र राष्ट्रियता सम्बन्धी विभिन्न विद्वानहरुले दिएको तर्कहरुसंग मिल्न जान्छ ।  धेरैजसो आधुनिक राष्ट्रहरु साँस्कृतिक विभिन्नता लाई बलपूर्वक मिचेर बनेका हुन्छन् । राज्य भनेको क्षेत्रगत रुप मा केही जनसंख्याको राजनीतिक संरचना हो र राष्ट्रले विभिन्न समुदायलाई भावनात्मक रुपमा पनि समेटेको हुन्छ । नेपालले मधेसी र जनजातिको भावनालाई समेटन सकेको छैन् । खस ब्राम्हणहरुको भावनालाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै मधेसीहरु जातिय रुपमा संगठित हुँदै राजनीतिक अधिकार को लागि आन्दोलन गरेकोले मधेस आन्दोलन । यसवारेमा भनिएको छ, आधुनिक जातियता मा सामाजिक न्याय र राजनैतिक समानताको अग्रता हुन्छ ।
जातियता तथा राष्ट्रियताका बारेमा विद्वानहरुले सारेका सैद्धान्तिक अवधारणामा समय सन्दर्भ तथा भौगोलिक परिवेशका आधारमा भिन्न समेत रहेको पाइन्छ । राष्ट्रियताको सन्दर्भमा सन् १९७० र १९८०का दशकमा व्यापक विश्लेषणहरु पाइन्छन् । यस अवधिलाई राष्ट्रियताको सैद्धान्तिक उदय र विस्तारको रुपमा रहेको पाइन्छ । राष्ट्र वा राष्ट्रियता निर्माणको दीर्घकालिन प्रक्रिया सामाजिक तथा आर्थिक, राजनैतिक तथा संस्कृतिक रुपान्तरणसंग गासिएको हुन्छ ।  
नेपालको मधेस आन्दोलनलाई व्याख्या गर्ने माथिका सबै सिद्धान्त हरु उपयुक्त हुँदा हुँदै पनि यहाँ जातिय कारणले मात्र वा पहिचान को लागि मात्र नभई राजतन्त्रको अन्त्यका लागि पनि मधेसीहरु बाट योगदान भएको र आन्दोलन का क्रममा राखिएको मागहरुमा संघीयता, गणतन्त्र जस्ता सबाल हरु पनि भएकाले यो आन्दोलन राजनीतिक र समाजशास्त्रीय दृष्टिकोणका सिद्धान्तहरुसंग केही अंशमा मिल्न गए पनि समग्र कुनै एकै सिद्धान्तमा आधारित रहेको पाइदैन । यहाँ मौनताको सिद्धान्त वा सहन शिलताको सिद्धान्त पनि उत्तिकै सान्दर्भिक छ । मधेसी समुदायले पहिले आवश्यकता र त्रासको कारणले आफू माथी भएको अन्यायलाई सहेर मौन भएर बसेका थिए । त्यही मौनता पछि मौनता र हिंसाको सिद्धान्त अनुसार परिवर्तन हुन गई धैर्यता को बाँध फुटेर मधेसीमूलका मानिसहरु गाउँगाउँबाट आन्दोलन मा सरिक भएकाले यो आम सञ्चारको सिद्धान्त अन्तर्गत पर्ने मौनताको सिद्धान्त र मौनता भंग भएपछि मौनता र हिंसाको सिद्धान्तको अवधारणासंग समेत मेल खान्छ । तर यो पनि पूर्ण रुपमा मेल खादैन ।
त्यसो भए नेपालमा भएको मधेस आन्दोलनसंग मिल्ने खालको सिद्धान्त कतै प्रतिपादन भएको छैन भने यसको प्रतिपादन हुन आवश्यक छ कि छैन ? सबैले भन्नु हुन्छ, छ । यहाँ मधेस आन्दोलन त एउटा उदाहरण मात्र हो । नेपालमा भएका त्यस्ता धेरै ऐतिहासिक राजनीतिक, सामाजिक आन्दोलन हरुको घटना को प्रबृत्ति र यसको उपलब्धीहरु विश्वका कुनै सिद्धान्त संग पूर्णरुपमा मिल्दैन । यसो नहुनुमा विश्वका ती बौद्धिक बर्गहरुको दोष होइन । यो दोष अन्य देशको सिद्धान्त आयायित गर्ने हाम्रा नेताहरुको सोचका कारणले भएको हो । अब हामी हाम्रो देश को माटो सुहाँउँदो सिद्धान्तको उत्पादन गर्ने अभियानमा लागौं । यसका लागि यहाँका बौद्धिक बर्ग हरुले प्रदीप गिरिजस्तो बौद्धिक बर्गलाई अगाडी लगाएर हामी सबैले उनलाई साथ दिऔं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »