दल बदल्दै निर्वाचन जित्दै

प्रकाशित समय 9:52:00 PM
बुटवल, २ पुस । कपिलवस्तु–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका बृजेश गुप्ताको यो चौथो विजय हो । तर यी सबै विजय एउटै दलको उम्मेदवारका रुपमा भने भएका होइनन् । २०५६ सालमा विद्युत् प्राधिकरणको इन्जिनियरबाट राजीनामा दिएर राजनीतिमा होमिएका गुप्ताले चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न पार्टी बदल्दै मैदानमा उत्रेका छन् । पार्टी फेर्दै चुनावमा भिडेका उनका लागि सधैं जित हात लागेको छ ।
नाकाबन्दी सकिएपछि  मधेस आन्दोलन तुहियो, नेताहरु जता लाग्दा भविष्य सुरक्षित हुन्छ, त्यतै लागे, अहिले भएको त्यही हो । तुलानारायण साह, मधेस मामिलाका विज्ञ ।
२०५६ सालमा राप्रपाबाट चुनाव जितेका उनी मधेस आन्दोलनको उभार आएका बेला २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीमा पसे । त्यही पार्टीबाट उनले २०६४ र २०७० सालको संविधानसभा चुनाव जिते । मधेस केन्द्रित पार्टी एक भई राष्ट्रिय जनता पार्टी बनेपछि भने उनी त्यहाँ सन्तुष्ट हुन सकेनन् । मधेस आन्दोलन तुहिएपछि उनको मोहभंग भयो । अहिले एमालेको एमालेको सूर्य चिह्न लिएर चुनाव लडे र जिते । पश्चिम तराईमा दल परिवर्तन गर्दै चुनाव लड्ने गुप्ता एक्ला होइनन् । दल फेर्दै चुनाव लडेका मध्ये धेरैले चुनाव जिते । केही पराजित भए ।
२०४८ सालदेखि मधेसमा प्रभावशाली नेता हृदयेश त्रिपाठी पनि दल फेर्दै चुनाव लड्नेमा पर्छन् । नेपाल सद्भावना पार्टीबाट २०४८ सालपछिका तीन चुनाव जितेका उनले संविधानसभाका दुईवटा चुनाव तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडे । पहिलो संविधानसभाको चुनाव भारी मतले जिते । दोस्रोमा भारी मतान्तरले कांग्रेसका देवकरण कलवारबाट पराजित भए ।
यसपालि उनले एमालेको सूर्य चिह्न लिएर चुनाव लडे । उनको चुनाव जित्ने मिसन पूरा भयो । उनले कांग्रेसका कलवारलाई नै साढे पाच हजार  मतान्तरले हराए । त्रिपाठीले कुनै बेला मधेसको कट्टर विरोधी भनेर आलोचना गरेको दल एमाले रोजेर चुनाव जितेका छन् । एमालेको साथबिना त्रिपाठीले चुनाव जित्न नसक्ने र एमालेका लागि त्रिपाठीजस्तालाई सहयात्री बनाएर अघि बढ्नु उपयुक्त भएकाले दुवैको स्वार्थ मिलेपछि यो तालमेल मिलेको हो ।
२०६४ सालको संविधानसभा चुनावमा कपिलवस्तु–५ बाट फोरम नेपालका अभिषेकप्रताप साहले चुनाव जिते । पुराना नेता तमलोपाका डा. मन्जुर खाँलाई  हराउँदै २६ वर्षीय साह सबैभन्दा कान्छो सभासद् भएपछि चर्चाको शिखरमा उक्लिए । २०७० को संविधानसभा चुनावमा पनि साहले पराजय भोग्नुपरेन । संघीय समाजवादी  फोरमको उपमहासचिव भई छोटो समयमा पार्टीको केन्द्रीय नेतृत्वमा  पुग्न सफल साहले यसपालि चुनाव जित्न कांग्रेस रोजे । चुनावको केही साताअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट अबिर र टीका लगाएर कांग्रेस पसेका साहले अहिले कपिलवस्तु–३ बाट जित हात पारेका छन् ।
पश्चिम तराईका नवलपरासी, रुपन्देही र कपिलवस्तुको मधेसी समुदायको बाहुल्य रहेको क्षेत्रमा मुख्य राजनीतिक दलले यसपालि मधेस केन्द्रित दलबाट आएका तिनै नेतालाई उम्मेदवार बनाएर मैदानमा उतारे । तीमध्ये धेरैले चुनाव जिते, केहीले हारे ।
पश्चिम नवलपरासी १ (क) मा एमालेबाट चुनाव जितेका अजय शाही पनि पार्टी बदल्दै चुनाव लड्ने नेता हुन् । उनको जित भने यो पहिलो हो । यसपालि एमालेको सूर्य चिह्नबाट लडेका उनी यसअघि हरेक चुनावमा दल फेर्दै आएका छन् । पहिले राप्रपाको राजनीतिमा सक्रिय उनी २०६४ सालमा स्वतन्त्र उम्मेदवार भई संविधानसभा सदस्यमा उठे । २०७० सालमा तराई मधेस समाजवादीबाट चुनाव लडेका उनी अहिले त्रिपाठीको सहयात्री भई सूर्य चिह्नबाट चुनाव लडे । उनीहरु घोषित रुपमा एमाले प्रवेश गरेको घोषणा गरेका छैनन् तर कानुनी रुपमा उनीहरु  एमालेका सांसद हुन् ।
मधेस आन्दोलनको उभारसँगै मधेसी जनअधिकार फोरममा सक्रिय भई केन्द्रीय सदस्य हुन भ्याएका बसुद्दिन खाँले यसपाली कांग्रेस रोजेर फाइदै भएको छ । रुपन्देही ४ (क) बाट  खाँले चुनाव जितेका छन् । गएको संविधानसभा चुनावमा उनी रुपन्देही ६ बाट संघीय समाजवादी फोरमका उम्मेदवार थिए । लुम्बिनीका चर्चित युवा फकुरुद्दिन खाँ कुनै बेला राप्रपामा सक्रिय थिए । पछि मधेस आन्दोलनको लप्कोसँगै संघीय समाजवादी फोरममा सक्रिय भए । त्यही पार्टीबाट गएको स्थानीय तहको चुनावमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार भए । लोकप्रिय मत ल्याएर पराजित भएका उनीमाथि कांग्रेसको आँखा प¥यो । प्रदेशसभामा टिकट दिने वचन पाएपछि उनी कांग्रेस पसे र सानदार मतसहित चुनाव जिते ।
कांग्रेसमा लामो समय सक्रिय दीर्घनारायण पाण्डे स्थानीय चुनावमा महाराजगन्ज नगरपालिकाको मेयरमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भए तर पराजित भए । केही महिनाअघि एमाले प्रवेश गरेका उनी कपिलवस्तु २ (क) बाट विजयी भए । त्यहींको प्रदेशसभा (ख) बाट  चुनाव जित्ने धर्मबहादुरलाल श्रीवास्तव पनि एमालेमा नयाँ अनुहार हुन् । तमलोपामा सक्रिय उनले चुनावको केही साताअघि एमालेबाट चुनाव लड्ने निधो गरेका थिए ।
मधेसवादी दल कमजोर
कुनै बेला पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मधेसी दलको राम्रै प्रभाव थियो । पूर्वपश्चिम राजमार्ग आसपास र त्यसदेखि उत्तरी क्षेत्रमा एमाले र कांग्रेसको प्रभाव रहे पनि हुलाकी सडकदेखि दक्षिणको क्षेत्रमा मधेस केन्द्रित पार्टीको एकछत्र प्रभाव मानिन्थ्यो । अहिलेको चुनावले मधेस केन्द्रित क्षेत्रीय दलको प्रभाव कमजोर देखाएको छ । नवलपरासीमा प्रभावशाली नेता हृदयेश  त्रिपाठी, कपिलवस्तुका बृजेश गुप्ता, ईश्वरदयाल मिश्र र रुपन्देहीका ओमप्रकाश यादव गुल्जारी एमालेमा र कपिलवस्तुका अभिषेकप्रताप साहलगायत कांग्रेसमा पसेर चुनाव लडेपछि रुपन्देहीका सर्वेन्द्रनाथ शुक्लमात्रै राष्ट्रिय जनता पार्टीबाट चुनाव लड्ने प्रभावशाली नेता भए । उनले पनि जित हात पार्न सकेनन् । रुपन्देही २ (क) बाट संघीय समाजवादी फोरमका सन्तोष पाण्डे र कपिलवस्तु १ (ख) बाट सहसराम यादवले चुनाव जिते । प्रदेशमा यहाँबाट मधेस केन्द्रित तललाई यिनै दुई सिटमात्रै हात लागेको हो ।
मधेस मामिलाका विश्लेषक तुलानारायण साहले आन्दोलन असफल भएपछि मधेसमा मधेस केन्द्रित दललाई संकट पर्नु अस्वाभाविक नभएको बताए । ‘नाकाबन्दी सकिएपछि  मधेस आन्दोलन तुहियो, नेताहरु जता लाग्दा भविष्य सुरक्षित हुन्छ, त्यतै लागे, अहिले भएको त्यही हो, उनले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »