छोरी जन्माउने सुत्केरीलाई ५ हजार पोषण भत्ता

प्रकाशित समय 9:40:00 PM
सर्लाही, २ पुस । सर्लाहीको बागमती नगरपालिकाले शनिबार ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ ।
छोरा जन्माउने महिलालाई ३ हजार रुपैयाँ र छोरी पाउने महिलालाई ५ हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गर्न सुरु गरिएको नगरपालिका प्रमुख भरत कुमार थापाले जानकारी दिए ।  स्थानीय तहको निर्वाचनपछि पदभार ग्रहण गरेलगत्तै बसेको नगरकार्य समितिको बैठकले गरेको निर्णय अनुसार शनिबार पहिलोपटक नगरपालिकाको १२ वटै वडाका ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो । 
जिल्लामै पहिलो प्रयास स्वरुप सुत्केरी महिलाले पोषणको अभाव झेल्नु नपरोस भनेर आफूहरुले यस्तो अभियानको सुरुवात गरेको नगरपालिका प्रमुख थापाले बताए । अझै पनि समाजमा छोरा र छोरीबीचमा विभेद भैरहेको बताउँदै नगरप्रमुख थापाले भने, ‘हामीले यो अभियानको सुरुवात गरेपछि यस्तो विभेदमा कमी आउने र चेतना अभिवृद्धि हुने अपेक्षा गरेका छौँ । सुत्केरी महिलालाई पोषण भत्ता वितरण गर्दै नगरप्रमुख थापाले आफ्नो कार्यकालभरी यो अभियानलाई निरन्तर रुपमा अघि बढाउने प्रतिवद्धता जनाए ।
समाजमा विद्यमान छोरा र छोरीबीचको विभेद तथा छोरी जन्मदा सुत्केरी महिला अपहेलित हुनुपर्ने कारण पनि आफूहरुले छोरा र छोरी जन्माउने सुत्केरीलाई फरक–फरक भत्ताको व्यवस्था गरेको नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानले बताए । नेपाल सरकारले स्वास्थ चौकीमा प्रसुती गराउने महिलालाई हिमाली जिल्लामा १ हजार ५ सय, पहाडी जिल्लामा १ हजार र तराईमा ५ सय दिने व्यवस्था छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »