मधेशमा कठ्यांग्रिएर यो वर्ष ५० को मृत्यु

प्रकाशित समय 7:41:00 PM
मधेशमा कठ्यांग्रिएर यो वर्ष अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै सप्तरीमा २१ र रौतहटमा १६ जनाको मृत्यु भएको छ । सप्तरीमा गत बिहीबार र शुक्रबार दुई दिनमा मात्रै ६ जनाको मृत्यु भएको सप्तरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवकुमार श्रेष्ठले बताए । त्यस्तै सिरहा, धनुषा र पर्सामा तीन–तीन, सर्लाहीमा दुई र महोत्तरी र बारामा एक–एकजनाको मृत्यु भएको छ ।
प्रहरीको फरक तथ्यांक विभिन्न स्थानीय तहले अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरे पनि प्रहरीले ४४ जनाको मात्र मृत्यु भएको तथ्यांक दिएको छ । प्रदेश नम्बर २ को प्रदेश प्रहरी कार्यालय जनकपुरले सबैभन्दा बढी रौतहटमा १५ जनाको मृत्यु भएको तथ्यांक दिएको छ । त्यस्तै, सप्तरीमा १४ जनाको मृत्यु भएको जनाएको छ । विभिन्न स्थानीय तहले भने सप्तरीमा २१ जनाको मृत्यु भएको जनाएका छन् ।
आगो ताप्ने क्रममा तीनको मृत्यु आगो ताप्ने क्रममा जलेर तीनजनाको मृत्यु भइसकेको छ । धनुषामा दुई र रौतहटमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक अभय झाले बताए । जलेर ज्यान गुमाउने तीनैजना महिला हुन् ।
जनजीवन कष्टकर बन्दै चिसो बढेसँगै पूर्वी तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । एक साताभन्दा बढी समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोले अत्यधिक चिसो बढेको छ ।  दिउँसो तापक्रम नबढ्दा बजारमा पनि चहलपहल घटेको छ । फुटपाथ र सडकमा व्यापार गरेर दैनिक गुजारा गर्नेको दैनिक जीवनयापन पनि प्रभावित भएको छ । न्यानो सामग्रीको अभाव गृह मन्त्रालयले शीतलहर प्रभावित तराई मधेसका २२ जिल्लाका लागि न्यानो प्याकेज सार्वजनिक गरे पनि जिल्लामा वितरण हुन सकेको छैन । चिसोबाट अत्यधिक प्रभावितमध्येको रौतहटमा न्यानो सामग्रीको अभाव भएको प्रजिअ उद्धवबहादुर थापाले बताए । प्रशासनसँग रहेको केही सामग्री वितरण गरिएको र थप सामग्रीका लागि गृह मन्त्रालयसँग माग गरिएको बताए । जिल्ला प्रशासन कार्यालय सप्तरी र सिरहाले भने आफ्नै पहलमा कम्बल वितरण सुरु गरेका छन् । सप्तरी र सिरहाको जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यालयमा मौज्दात नभएका सामग्री बजारबाट खरिद गरी वितरण सुरु गरेको जनाए ।
दुई दिनदेखि जिल्ला प्रशासन कार्यालयले कम्बल किनेर वितरण सुरु गरेको सप्तरीका प्रजिअ भगीरथ पाण्डेले बताए । उनले भने, ‘केन्द्रले निर्णय गरिसकेपछि प्रक्रियागत तरिकाले आउँदै गर्छ । त्यतिन्जेल नागरिकलाई ज्यान गुमाउन दिनुहुँदैन । त्यसैले राज्यको कर्तव्य र दायित्व बोध गरेर स्थानीय बजारमै किनेर भए पनि वितरण थालेका छौँ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जिल्लाको कुनै पनि स्थानमा राहत वितरण गर्नुपर्दा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी मात्र वितरण गर्न अनुरोध गरेका छन् । राहतस्वरूप बाँडिने न्यानो सामग्री एक परिवारलाई दोहोरिएर नपरोस् र धेरै प्रभावितले पाऊन् भन्ने उद्देश्यले यसो गरिएको उनको भनाइ छ ।
ज्येष्ठ नागरिक, बालबालिका र बिरामी जोखिममा  शीतलहरले चिसो बढ्दा ज्येष्ठ नागरिक, बालबालिका र बिरामी धेरै प्रभावित भएको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरले जनाएको छ । क्षेत्रीय कार्यालय जनकपुरका मानवअधिकार अधिकृत दीपकुमार यादवले शीतलहर प्रभावितका लागि गृह मन्त्रालयमार्फत बाँडिरहेको न्यानो पर्याप्त नभएको बताए । उनले भने, ‘ढिलै भए पनि शीतलहरबाट प्रभावितका लागि गृह मन्त्रालयअन्तर्गतका कार्यालयहरूबाट न्यानो बनाउने सामग्री वितरण थालिएको छ तर पर्याप्त छैन ।
स्थानीय सञ्चारकर्मी श्रवण देवले सप्तरीमा शीतलहर प्रभावितहरूका लागि स्थानीय प्रशासनले गर्नुपर्नेजति काम गर्न नसकेको आरोप लगाए । सप्तरीमा चिसोका कारण करिब २१ जनाको ज्यान गए पनि स्थानीय प्रशासनले तथ्यांक कम देखाएर दायित्वबाट पन्छिन खोजेको उनले आरोप लगाए ।
सामुदायिक विद्यालय बन्द करिब दुई सातादेखिको शीतलहरले जनजीवन प्रभावित भएपछि पूर्वी तराईका आठवटै जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको छ । विद्यार्थी बिरामी हुन थालेपछि सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले १ माघसम्मका लागि औपचारिक रूपमै सामुदायिक विद्यलाय बन्द गरिएको बताए । उनले भने, ‘माघ १ गतेअगाडि मौसममा सुधार नआए फेरि अर्को निर्णय गरेर विद्यालय बन्द गरिनेछ ।
यस्तै, जिल्ला शिक्षा कार्यालय धनुषाले ६ माघसम्मका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले मौसम हेरेर मात्रै विद्यालय खोलिने बताए । महोत्तरी र सप्तरीमा भने विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दाउरा बाँड्दै सुरक्षाकर्मी शीतलहर बढेपछि सुरक्षाकर्मीले विभिन्न स्थानमा दाउरा बाँड्न थालेका छन् । नेपाल प्रहरी, सशस्त्र र सेनाले विभिन्न स्थानमा दाउरा बाँडिरहेका छन् । प्रदेश प्रहरी प्रमुख विजयलाल कायस्थका अनुसार पैदल गस्तीमा हिँड्ने प्रहरीको हातमा र गाडी ड्युटीमा जाने प्रहरीको गाडीमै दाउरा राखेर विभिन्न स्थान पु¥याइएको छ ।
इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बेस लहानबाट गस्तीमा खटिएका टोलीले दैनिकजसो दाउरा वितरण गरिरहेका छन् । उता, प्रदेश प्रहरी कार्यालय जनकपुरले स्वेच्छिक आर्थिक सहयोग संकलन थालेको छ । प्रदेशभरिमा कार्यरत नेपाल प्रहरीबाट स्वेच्छिक आर्थिक संकलन गरिने प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले बताए ।
उनले भने, ‘चिसो अत्यधिक बढेको छ । नागरिकहरूले ज्यान गुमाउन थालेका छन् । त्यसैले प्रहरीभित्र पनि स्वेच्छिक आर्थिक अभियान थालेका छौँ । उनले प्रहरीबाट संकलन हुने रकमले कम्बल किनेर प्रभावितलाई वितरण गरिने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »