रञ्जना हत्याको दुई महिनापछि तीनजना पक्राउ

प्रकाशित समय 8:57:00 PM
शैलेन्द्र महतो
धनुषा, १५ माघ । रञ्जना हत्याको अभियोगमा प्रहरीले दुई महिनापछि उनका श्रीमानसहित तीनजनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२ किशोरी नगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या अभिगयोमा प्रहरीले उनका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र जेठानी रिकुकुमारी शर्मालाई पक्राउ गरेको हो ।
धनुषा जिल्ला अदालतले उनीहरुलाई पक्राउ गरी हाजिर गराउन आदेश गरेपछि धनुषा जिल्ला प्रहरीले पक्राउ गर्न कास्की प्रहरीलाई पत्र पठाएको थियो । रञ्जनाका श्रीमानसहित उनका जेठाजु र जेठानी पोखरामा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको पत्रका आधारमा तीनैजनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
मंसिर ८ गते राति रञ्जनाको आफ्नै घरमा हत्या भएको अवस्थामा मंसिर ९ गते विहान शव बरामद भएको थियो । रञ्जनाको हत्या उनको घरपरिवारका सदस्यले मिलेर गरेको छिमेकीहरुले आरोप लगाएपछि माइती पक्षले प्रहरीमा परिवारका पाँच जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया बस्ने मृतक रञ्जनाकी आमा प्रभादेवी शर्माले उनका ससुरा देवनारायण ठाकुर, सासु सुमित्रादेवी शर्मा, श्रीमान आनन्दमोहन शर्मा, जेठान अरबिन्दकुमार शर्मा र जेठानी रिंकु शर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गराएको थियो । लगत्तै प्रहरीले रञ्जनाका ससुरा देवनारायण र सासु सुमित्रादेवीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको थियो । तर तीन जनाको घटनामा संलग्नता नदेखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थिएन ।
गएको पुस ९ गते  रञ्जना शर्माको हत्या अभियोगमा धनुषा जिल्ला अदालतले उनका ससुरा ६२ वर्षका देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि जलेश्वर कारागार चलान गरेको थियो । भने  रञ्जनाकी सासु सुमित्रादेवी शर्मालाई सामान्य तारेखमा रिहा गरेको थियो । रञ्जनाको हत्यामा परिवारका ५ जनाकै संलग्नता रहेको भन्दै उनका छरछिमेक र महिला अधिकारकर्मीले कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
जनकपुरको कृष्णा नर्सिग इन्स्टिच्युट तेश्रो वर्षमा नर्सिग पढ्दै गरेकी रञ्जनाको डेढवर्ष अघि उनका घर परिवारले १८ लाख दाइजा दिएर विवाह गरिदिएका थिए । विवाह भएको केही समय पछि नै उनका श्रीमान आनन्दमोहन शर्मा लगायत घरपरिवारले रञ्जनामाथि विभिन्न लान्छना लगाई यातना दिँदै आएका थिए ।
दाईजोमा श्रीमान आनन्दमोहन शर्माले स्कुटी माग्दै आएकाले दाईजोकै कारण रञ्जनाको हत्या भएको रञ्जनाको माईतीले आरोप लगाएका छन् । रञ्जनाका श्रीमान आनन्दमोहन पोखराको वन विज्ञान अध्ययन केन्द्रमा कम्प्युटर अपरेटरमा कार्यरत छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »