मल उत्पादन गर्ने अनुदान दुरुपयोग

प्रकाशित समय 7:38:00 PM
जनकपुर, १९ पुस । कागजमा कारखाना सञ्चालन भएको देखाएर लाखौं सरकारी अनुदान दुरुपयोग भइरहेको खुलेको छ । कृषि विभागअन्तर्गतको माटो निर्देशनालयले अनुदान दिएको पाँच वर्ष बिते पनि दुई संस्थाले कारखाना सञ्चालनमा ल्याई मल उत्पादन गरेका छैनन् ।
किसानलाई सहज रूपमा मल आपूर्तिका लागि सरकारले निजी तथा सहकारी क्षेत्रलाई अनुदान दिएर मल उत्पादन कारखाना सञ्चालन गर्ने योजना ल्याएको थियो । तर, लाखौं अनुदान लिए पनि दुई कारखाना हालसम्म सञ्चालनमा आएका छैनन् । फुलगामा–४ स्थित साना किसान तथा कृषि सहकारी र महेन्द्र नगरको बुद्ध प्रांगारिक मल कारखानाका नाममा अनुदान आएको देखिएको छ । सम्झौता अनुसार विभागको ५० प्रतिशत र ५० प्रतिशत आफ्नै लगानीमा प्रांगारिक मल उत्पादन गर्ने कारखाना निर्माण गर्नुपथ्र्यो । एउटा कारखाना निर्माण भए पनि पाँच वर्ष मल उत्पादन गर्नै सकेन । अर्को कारखानाका लागि उपकरण ल्याइयो तर अर्कै प्रयोजनमा प्रयोग भएको छ । फुलगामास्थित सहकारीको भवन पछाडि राखिएको उपकरणमा खिया लागिसकेको छ । ती उपकरण पाँच वर्षदेखि बेवारिस अवस्थामा छन् ।
सहकारी संस्था प्रमुख राम एकवाल साहले विभागबाट १३ लाख ४६ हजार पाँच सय अनुदान लिएर उपकरण खरिद गरे पनि कारखाना सञ्चालन गर्न नसकेको स्वीकार गरे । कारखाना सञ्चालनका लागि सरकारी सहयोग पाए पनि पुँजी बढी लाग्ने भएपछि काम अघि बढाउन नसकेको उनको भनाइ छ । आफ्नो सहकारीको रकम खर्च गर्दा पनि फाइदा नदेखिएपछि कारखाना नखोल्ने निष्कर्षमा पुगेको उनले सुनाए ।
सरकारले मल उत्पादनका लागि अनुदान दिँदै आए पनि कारखाना सञ्चालनमा आउन सकेको छैन । महेन्द्रनगरमा बुद्ध प्रांगारिक मल कारखाना स्थापना गर्न सरकारले ७९ लाख ११ हजार रकम अनुदान दिइसकेको पाइएको छ । तर, कारखाना हालसम्म सञ्चालन हुन सकेको छैन । कारखानाले विभागमा आर्थिक वर्ष ०७१÷७२ मा बुझाएको रिपोर्टमा एक हजार टन प्रांगारिक मल उत्पादन गरिसकेको उल्लेख छ । तर, कारखानाका लेखापाल नन्दकिशोर साहले ६ वर्षमा पहिलो पटक असोज २४ गते एक दिन मात्र कारखाना सञ्चालनमा आएको स्वीकार गरे । त्यसो भए दुई वर्षअघि नै एक हजार मेट्रिक टन मल उत्पादन कहाँबाट भयो भन्ने जिज्ञासामा लेखापाल साहले यसबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
प्राविधिक दिपन्कर सावन्तले भने असोज २४ गते एक दिनका लागि सञ्चालनमा आएको कारखानाले ५० टन मल उत्पादन गरेको बताए । अझै कारखाना पूर्ण क्षमतामा सञ्चालन हुन समय लाग्ने उनको भनाइ छ । विभागले अनुदान उपलब्ध गराएको पाँच वर्ष बितिसक्दा पनि मल उत्पादनको अत्तोपत्तो छैन। अन्यत्र उत्पादित मललाई आफ्नो नाम दिएर प्याकेजिङ गर्ने काम मात्र हुने गरेको स्रोतको दाबी छ । सरकारले किसानलाई चाहिएको बखत मल उपलब्ध गराउन उत्पादन कारखाना निर्माण गर्ने उद्देश्य सहित अनुदान दिँदै आएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »