को हुन् सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

प्रकाशित समय 6:47:00 PM
काठमाडौं, ३ माघ । सरकारले आज सात वटा प्रदेशमा प्रमुख नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक प्रदेश प्रमुख नियुक्त गरेको हो ।
बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ। प्रदेश प्रमुखमा कांग्रेस, राजपा र समाजवादी फोरमले भागबन्डा गरेका छन्। कानुन मन्त्री यज्ञबहादुर थापाकाअनुसार प्रदेश १मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा , ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त भएका छन्। थापाका अनुसार बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि ताकेको छ।
सरकारले प्रदेश नम्बर १को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी अस्थायी मुकाम तोकेको हो। 
यस्तो छ प्रदेश प्रमुखको पृष्ठभूमि प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन्। धनकुटा स्थायी वासिन्दा सुब्बाले सुरुमा अखिलको राजनीति गरेका थिए। जनमत संग्रहपछि उनी कांग्रेसमा लागेका थिए। प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ पूर्वकृषि सचिव हुन् । महोत्तरीका स्थायी वासिन्दा कायस्थ जलस्रोतविद् हुन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन् । कायस्थ संघीय समाजवादी फोरमको समानुपातिक सांसदका उम्मेदवार थिए । प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला समाजसेवी हुन् । माइती नेपाल संस्थामार्फत् उनले बेचिएकी चेलीको उद्दार गर्दै उनीहरुलाई सहयोग गर्दै आएकी थिइन् ।
उनी मंसिरमा चुनाव हुनु केही दिनअघि मात्र कांग्रेस प्रवेश गरेकी थिइन् । कोइराला प्रदेश प्रमुख हुने चर्चा चलेसँगै उनको नागरिकताको प्रसंग उठेको थियो । राजनीतिक अभियन्ता सरिता गिरीले दार्जिलिङकी अनुराधाको नागरिकता अंगीकृत भएको कुरा ट्वीटरमा लेखेकी थिइन् । अनुराधासँग वंशजको नागरिकता भएको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ । कुरा गर्दै अनुराधाले आफू ओखलढुंगाको रुम्जाटारमा जन्मेको र पढ्नमात्र दार्जिलिङ गएको उल्लेख गर्दै नागरिकताको अनावश्यक विवाद झिकिएको बताइन् ।
प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवर पूर्वमहान्याया धिवक्ता हुन् । अर्घाखाँचीका स्थायी वासिन्दा कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँद महान्यायाधीवक्ता बनेका थिए। प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झा पूर्वस्वास्थ्य सचिव हुन् । खिलराज रेग्मीको मन्त्रिपषिद्मा उनी स्वास्थ्य मन्त्री बनेका थिए । उनी राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी हुन् । ६ नम्बरका प्रदेश प्रमुुख सुर्खेतका दुर्गाकेशर खनाल बुद्दिजीवी हुन् । पञ्चायत कालमा कांग्रेसको राजनीति गरेका उनी शिक्षक थिए । बहुदल आएपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । ७ नम्बरका प्रदेश प्रमुख कैलालीका मोहनराज मल्ल राजनीतिज्ञ हुन् । उनी राष्ट्रिय पञ्चायतका सदस्य पनि थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मल्ल केही वर्षअघि कांग्रेस प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »