आन्दोलनरत नर्स भन्छन–न कमाइले खान पुग्छ, न जागिरको भर छ

प्रकाशित समय 6:44:00 PM
शान्ति तामाङ
काठमाडौं, ३ माघ । अमिका महर्जन त्रिवि शिक्षण अस्पतालमा स्नातक नर्सिङ पढ्दै छिन् । कलेजको शुल्क मात्र साढे ४ लाखभन्दा बढी तिरेकी छन् । पढाइ यसै वर्ष सकिन्छ । त्यसपछि काम गर्न विदेश जाने उनको योजना छ ।
‘म पाएसम्म नेपालमै काम गर्न चाहन्थेँ, पिसिएल (प्रमाणपत्र तह) सकेपछि थाहा पाएँ, यहाँ न कामको सम्मान छ, न राम्रो पारिश्रमिकै पाइन्छ, अमिका भन्छिन, ‘अब त ब्याचलर सकेर विदेशै जाने हो । दुई दशकदेखि नर्सिङ पेसा गरिरहेकी रमिला चौलागाईंको यस्तै अनुभव छ । यहाँ नर्सिङलाई तेस्रो दर्जाको काम ठानिन्छ भन्ने उनलाई लाग्छ । ‘सेवा, सुविधामा उपेक्षा गरिन्छ, भन्छिन, ‘कमाइले न खान पुग्छ न त जागिरको भरै छ । जागिरको भर छैन भन्ने अनुभव त्रजिना जतिलाई जस्तो कसलाई होला ?
उनी मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा पाँच वर्षदेखि काम गरिरहेकी थिइन् । साउन २९ गते एक्कासि जागिरबाट निकालिइन् । करारमा काम गरिरहेकी उनले आफू किन जागिरबाट निकालिएँ भन्ने नै थाहा पाइनन् । ‘श्रम ऐनअनुसार करार कर्मचारीलाई हटाउन ३५ दिनअघि नै सूचना दिनुपर्छ, तर केन्द्रले त्यसो गरेन, उनले भनिन् । यी तीन नर्सले भोगेको समस्या देशभरको साझा हो ।
यही समस्याविरुद्ध नेपाल नर्सिङ संघले पुस २६ देखि देशव्यापी विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ । संघका ११ बुँदे माग छन् । यी माग नर्सिङ पेसाको आत्मसम्मान र वृत्ति, विकाससँग सम्बन्धित रहेको संघकी कार्यवाहक अध्यक्ष गंगा थापा बताउँछिन् । जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन सरकारद्वारा निर्धा्रित ‘नर्स–बिरामी अनुपात’ सबै अस्पतालमा लागू गरियोस् भन्ने उनीहरूको प्रमुख माग छ । निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई तहगत रूपमा सरकारी सरह तलबभत्ता दिनुपर्ने, स्वयंसेविकाका नाममा भइरहेको नर्सको श्रमशोषण बन्द गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई बिनासर्त पुनर्बहाली गराउन पनि संघले माग गरेको छ । नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, सरकारी तथा निजी क्षेत्रका नर्सलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, विदा सुविधा र जोखिम भत्ता दिनुपर्ने, दुर्गममा काम गर्नेलाई उचित पारिश्रमिक र सुरक्षा प्रत्याभूति गर्नुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासको प्रस्ट खाका तयार गर्नुपर्ने माग पनि राखिएको छ ।
योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर, ब्याचलरलाई मास्टर र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन विदाको व्यवस्था गर्नुपर्ने माग पनि छ । नर्सहरुले आज बुधबारसम्म दिनको तीन घन्टा काम छाडेर विरोध जनाउने छन् । माघ ४ देखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेको सिफ्टमा काममै नजाने कार्यक्रम छ ।
‘अझै माग पूरा नभए माघ ७ देखि चौबीसै घन्टा काम छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन्छौं, संघकी कार्यवाहक अध्यक्ष थापाले भनिन् । आन्दोलनमा नर्ससँग सम्बन्धित सबै संघसंस्थाको समर्थन रहेको उनको भनाइ छ । यसअघि विरोधकै क्रममा पुस २६ र २७ गते कालोपट्टि बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म काम छाडेका थिए । स्वास्थ्य सचिव पुष्पा चौधरीले नर्सहरूका माग पूरा गर्न अनौपचारिक छलफल भइरहेको र छिट्टै समाधान हुने बताएकी छन् ।
‘उनीहरूका माग जायज छन, छिट्टै समाधान हुन्छ, चौधरीले भनिन, ‘हामीले आजै उनीहरूसँग अनौपचारिक छलफल गरिसकेका छौं । अब वार्तामा बोलाउँछौं र छुट्टै समिति बनाएर माग सम्बोधन गर्छौं । उनले स्वास्थ्य सेवामा प्रभाव नपर्ने गरी सांकेतिक आन्दोलन गर्न नर्सहरूलाई आग्रह गरेकी छन् । नेपालमा नर्सिङ पेसाको इतिहास सय वर्ष पुग्न लागेको छ ।
विसं १९८५ मा विद्यादेवी, राधादेवी, विष्णुदेवी र धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर पालामा प्रसूति सेवासम्बन्धी डेढवर्षे तालिम लिन भारत पठाइएको थियो । त्यसअघि विदेशबाट नर्स ल्याई राजपरिवार तथा विशिष्ट व्यक्तिले आफ्नो सेवामा लगाउँथे । २००९ सालमा उमादेवी दास तथा रुक्मिणीचरण श्रेष्ठलाई भारतमा चारवर्षे नर्सिङ तालिम लिन पठाइयो । उनीहरू फर्किएपछि २०१३ सालमा पहिलोपटक नर्सिङ स्कुल खुलेको हो ।
नर्सहरूले सय वर्षको इतिहासमा दुई दशकभन्दा बढी समय उस्तै खाले माग राखेर आन्दोलन गरेका छन् । ‘हाम्रो यो आन्दोलन २०५२ सालदेखिकै हो । ०६६र६७ सालमा पनि २१ बुँदे माग राखेर आन्दोलन गरेका थियौं, चौंलागाईंले भनिन, ‘सरकारले सधैं दुई–तीनवटा माग पूरा गरेजस्तो गर्छ, फेरि टालटुल पार्छ । यसपालि भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रबाट नर्सहरू निकालिएपछि लामो समयदेखि थाती विरोध बल्झिएको उनले बताइन् ।
नर्सिङ काउन्सिलमा अनमी र नर्स गरी ६७ हजार ८२ जना दर्ता छन् । तीमध्ये नर्सको संख्या ३७ हजार हाराहारी छ । स्वास्थ्य मन्त्रालयको २०७१ को तथ्यांकअनुसार सरकारी स्वास्थ्य सेवामा २० हजार ४ सय २३ जना मासिका, अनमी र नर्स कार्यरत छन् । निजी स्वास्थ्य संस्थामा कति छन् भन्ने यकिन तथ्यांक छैन । नेपालमा बिएस्सी नर्सिङका लागि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »