गरिब मर्दा दाउराखर्च पनि पाइएन

प्रकाशित समय 10:42:00 PM
मिथिलेश यादव
सिरहा, २८ पुस । परालले छाएको सानो छाप्रो । एकातिर काठ र अर्काेतिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना । त्यसमाथि पातलो सुकुल ओछ्याइको छ । नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ । यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको बिछ्याउना हो । यही ओछ्यानमा कठयांग्रिएर मंगलबार राति उनकी श्रीमती माकोदेवी पासवान (४५) ले प्राण त्याग गरिन् ।
खाना खाएर परालको ओछ्यानमा निदाउन गएकी उनको सुतेकै ठाउँमा सास चुँडियो । बिहान ४ बजे घुर बालेर उठाउन जाँदा उनी टसमस नभएपछि परमेश्वरले चिच्याउँदै छिमेकी गुहारेका थिए । ‘हामी पुगेर हल्लाउँदा उनको शरीर कक्रक्क परिसकेको थियो, स्थानीय रामलाल पासवानले बताए ।
गरिबहरूको बस्तीमा एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ । उनीहरूका लागि जाडोको सहारा नै घुर हो । एक सातादेखि पछिया हावासँगै चलेको शीतलहरका कारण मुसहर बस्तीमा अत्यास बढेको छ । मुटु कमाउने चिसोमा मजदुरी गरेर साँझ घर फर्केकी थिइन् उनी । राति घुर तापेर ओछ्यानमा गएकी उनको अधिक चिसोका कारण मृत्यु भएको वडाध्यक्ष राजेश्वर साह (सुडी) ले बताए ।
गाउँको ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ । जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका परमेश्वरलाई श्रीमती गुमाउनुको पीडाले निकै दुखाएको छ । भक्कानिँदै उनले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आयो, परिवारको सहारा श्रीमती खोसेर लग्यो । शरीर छोप्ने कपडा जोड्न मुस्किल भएका बेला आफूहरूका लागि महँगो ओढ्नेओछ्याउने खरिद गर्ने समस्या रहेको उनले बताए ।
न्यानो ओढ्नेओछ्याउने नहुँदा श्रीमतीको प्राण गएको दुखेसो गर्दै उनले मौसम र सरकार दुवै गरिबमारा रहेको गुनासो पोखे । ‘चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ, उनले भने, ‘गरिब मरे पनि सरकारले चासो देखाउँदैन ।
चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका बासिन्दाहरू बताउँछन् । स्थानीय राजदेव पासवानले भने, ‘चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थ्यो, अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन । चिसोले गरिब मर्दा दाउराखर्च पनि सहयोग भएन ।
चिसोले कठ्यांग्रिएर माकोदेवीको मृत्युपछि ७८ परिवारको बसोबास रहेको यो सुकुमवासी पासवान बस्तीमा त्रास फैलिएको छ । गरिबीले गर्दा अरूहरू पनि चिसोका कारण यसरी नै मर्ने हुन् कि भन्ने डर स्थानीयमा पलाएको हो । बस्तीका प्रायः सबैको जीवनशैली उस्तै छ । सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो । जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी ।
न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका यो बस्तीका महिला पुरुष पातलो कपडा ओढेर थरथर काम्दै घरधन्दा गर्ने गर्छन् । असह्य जाडो भए उनीहरू परालको आगोमा जीउ तताउने गर्छन् । तर, परालको आगो धेरैबेर टिक्दैन, निभिहाल्छ । अनि फेरि उस्तै कँपाइ । ‘दाउरा कहाँबाट ल्याउनु हजुर, स्थानीय दुःखी पासवानले भने, ‘खाना पकाउन, सुत्नदेखि ताप्न परालकै सहारा छ । गिरहत (जमिन्दार) को खेतमा धान काटेबापत उनीहरू पराल पाउँछन् ।
चिसो बढेपछि सीतापुरमा घुर ताप्दै एक वृद्धा । अहिले गहुँमा सिँचाइ गर्ने, तरकारी रोप्ने सिजन भए पनि जाडोका कारण काम रोकिएको यहाँका विपन्नहरू बताउँछन् । जाडोमा दैनिक ज्यालादारीमा जान नपाएपछि बिहान बेलुकी छाक टार्ने पिरलोमा छन् उनीहरू ।
पासवान बस्तीमा मात्र होइन, मुसहर बस्तीको कष्ट पनि कम्ती अत्यासलाग्दो छैन । बस्नका लागि गतिलो घर छैन । न्यानो कपडा छैन । परालमा बस्नुपर्ने र पराल नै ओछ्याएर सुत्नुपर्ने बाध्यता छ । मुसहर बस्तीका अधिकांशको दैनिकी यसरी नै चलिरहेको छ । उमेर भएकाहरूले जसोतसो गुजारा चलाए पनि बच्चा र वृद्धलाई अप्ठ्यारो हुने गरेको छ । दिनभर घाम नलाग्ने र हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । यो साता चिसोका कारण गोलबजार नगरपालिका–४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह, धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार २ लालपुरका ८० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
विपन्नलाई घुरकै सहारा सिरहाको लक्ष्मीपुरपतारी–६ सीतापुरकी जहरीदेवी पासवान (६५) बुधबार बिहान परालको घुरमा ज्यान तताउँदै थिइन् । एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता उनले सुनाइन् । उनले भनिन, ‘हाम्रा लागि जाडोको सहारा नै घुर हो । एक सातादेखि पछिया हावासँगै चलेको शीतलहरका कारण मुसहर बस्तीमा अत्यास बढेको छ । ‘बाँसको टाटीले घेरिएको घरमा चिसो हावा पसेर निदाउन सकिँदैन, जहरीदेवीले भनिन, ‘दैनिक मजदुरी गरेर खानुपर्ने हाम्रा लागि शीतलहर काल हो । पराल ओछ्याएर रात काट्ने  र दिउँसो घुर बालेर ताप्ने यो बस्तीका सबैको दैनिकी बनेको छ ।
स्थानीय सरकारसँग पैसा छैन लक्ष्मीपुरपतारी गाउँपालिका ६ सीतापुरमा मंगलबार चिसोले कठ्यांग्रिएर एक विपन्न महिलाको मृत्यु भयो । दर्जनौं विपन्न परिवार चिसोका कारण छटपटाइरहेका छन् । उनीहरू स्थानीय सरकारसँग बाक्ला लुगाफाटा र ओढ्नेओछ्याउने कपडाको याचना गरिरहेका छन् । तर, स्थानीय सरकारसँग न्यानो कपडा जोरजाम गरिदिने पैसा छैन ।
यो वडाका अध्यक्ष राजेश्वर साहका अनुसार वडाको खातामा शून्य रकम छ । ‘हामीले कागजकलम पनि गाउँपालिका सँग माग फारम भरेर माग्नुपर्ने अवस्था छ, उनले भने, ‘शीतलहरबाट पीडितलाई तत्काल राहतको अवश्यकता छ तर हामीसँग पैसा छैन । गाउँपालिकासँग रकम माग गरे पनि अहिलेसम्म प्राप्त नभएको उनले बताए । यो वडामा करिब डेढ सय घर मुसहर र पासवानको बसोबास छ ।
चिसो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएका छन् । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार विद्यार्थीलाई विद्यालय पुग्नै कठिन भएकाले माघ १ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »