बैंक पुनर्सथापना नहु“दा सास्ती ११ स्थानीय तहमा छैन बैंक

प्रकाशित समय 8:07:00 PM
शम्भु यादव
सिरहा, २९ माघ । सिरहाको भारतीय सीमासँग जोडिएका ठाडी, बरियारपट्टि र माडर व्यापारिक नाका हुन् । यी नाकामा व्यापारव्यवसाय फस्टाउँदो छ तर बैंकिङ सुविधा छैन । जिल्लाकै पुराना बजार क्षेत्रमा बैंक नहुँदा व्यापारी र स्थानीयवासीलाई सास्ती भएको छ ।
सशस्त्र माओवादी विद्रोहमा १७ वर्षअघि सीमावर्ती बजार ठाडी र माडरबाट विस्थापित भएका नेपाल बैंकका शाखा अझै पुनर्स्थापना भएका छैनन् । बैंक पुनर्सथापना नहुँदा सिरहाको दक्षिणी भेगका वासिन्दा भारत र टाढा रहेका नेपाली बजारका बैंकमा कारोबार गर्न बाध्य छन् । माओवादी द्वन्द्वका बेला असुरक्षाका कारण ग्रामीण क्षेत्रबाट प्रहरी चौकी विस्थापित हुन थालेपछि २०५८ सालमा सिरहाको ठाडी र माडरबाट नेपाल बैंकको शाखा कार्यालय बिस्थापित गरिएको थियो । तर, अहिले प्रहरी चौकी, र छोटी भन्सार कार्यालय पुनस्र्थापना भए पनि बैंक स्थापना भएका छैनन् ।
ठाडीस्थित भन्सार कार्यालयका प्रमुख हिमालय दाहालका अनुसार, बैंक नहुँदा संकलन भएका राजस्व जम्मा गर्न हुलाकी मार्ग हुँदै मूल भन्सार कार्यालय माडर पुग्नुपर्छ । ‘प्रहरी सुरक्षामा महिनामा एक पटक मूल भन्सार कार्यालयमा रकम जम्मा गर्दै आएका छौं, उनले भने, ‘यसबाट जोखिम मोल्नुपरेको छ, बैंक स्थापना भइदिएको भए सहज हुन्थ्यो । भन्सारले मूल भन्सार कार्यालयमा सुरक्षा घेरामा रकम जम्मा गर्दै आए पनि सर्वसाधारण सीमावर्ती भारतीय बैंकमा वित्तीय कारोबार गर्न बाध्य छन् ।
सिंहदरबारको अधिकार र अन्य सेवा स्थानीय तहमार्फत गाउँगाउँमा पुगे पनि वित्तीय कारोबार हुने बैंकको सेवा पुग्न सकेको छैन । आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तह रहेको सिरहामा ११ स्थानीय तहमा बैंक छैन । सिरहाको कर्जन्हा, धनगढीमाई, कल्याणपुर नगरपालिका र अर्नमा, विष्णपुर, नरहा, औरही, वरियारपट्टि, लक्ष्मीपुर पतारी, नवराजपुर तथा सखुवानन्कारकट्टि गाउँपालिकामा बैंक छैन । बैंक नहुँदा समाजिक सुरक्षा भत्ता, उपभोक्ता समितिको काम र चेक साट्न समस्या भइरहेको कर्जन्हा नगरपालिकाका कार्यकारी अधिकृत रमेश दासले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »