हुलाकी सडकको काम सुरु, सिरहा खण्ड तीन वर्षमा बन्ने

प्रकाशित समय 7:12:00 PM
सन्तोष यादब
लहान, १ फागुन । मधेसको लाइफ लाइन मानिने हुलाकी सडक अन्तर्गत सिरहा खण्डको निर्माण कार्य सुरु भएको छ । पूर्वमा बलान नदीदेखि सिरहा बजारसम्म २९.८८ किलोमिटर सडक सिरहा नगरपालिका–१८ औरहाबाट माघ २४ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।
सिरहा खण्डको सडक निर्माणको ठेक्का स्वछन्द, रोशन, महादेव खिम्ती जे.भी जनकपुर उपमहानगरपालिका–४ धनुषाले पाएका छन् । दुई लेनको सडक कालोपत्रे गर्न एक अर्व २० करोड २० लाख रुपैयाँमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनियर चन्द्र यादवले बताए । उनका अनुसार सडकको चौडाइ ११ मिटर अर्थात ३६.०८ फिट रहनेछ ।
सडकको चौडाइ ६ मिटरमा कालोपत्रे र दुवैतर्फ दुई मिटरको सडकपेटी पनि रहनेछ । सडक निर्माण तीन वर्षभित्र गर्नुपर्ने सम्झौता भएको र जनताले सहयोग गरे समयमै निर्माण पुरा हुने इन्जिनियर यादवले बताए । उनले भने, ‘सडक सर्वेको काममा जनताले राम्रो सहयोग गरेका छन् । यसरी नै सहयोग पाए सम्झौता भएको समय भन्दा पहिले नै निर्माण गर्न सक्छौं ।
हुलाकी सडकको कतिपय ठाउँमा पुल बनाउनुपर्ने आवश्यकता देखिएको इन्जिनियर यादवले बताए । उनका अनुसार कतिपय ठाउँमा पुल एकदमै साँघुरो छ भने कतिपय ठाउँमा पुल नै छैनन् । पुल नभएको ठाउँमा तत्कालै पुल निर्माण गर्न पनि सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ ।
निर्माण सुरु भएसँगै सडकभित्र पर्ने रुखहरु किसानले धमाधम काट्न सुरु गरेका छन् । अधिकांश ठाउँमा सडकमा पर्ने रुख किसानले काटिसकेका छन् भने कतिपय ठाउँमा किसानहरुले अहिले धमाधम रुख काट्न थालेको इटाटारका धर्मेन्द्र पासवान बताउँछन् । नवराजपुर –१ का जयनाथ यादव भन्छन, ‘हुलाकी सडक निर्माण सुरु भएपछि यस भेगका जनता खुसीले गदगद भएका छन् । हुलाकी सडक बनेपछि मधेसको मुहार फेरिने र हजारौं युवाले रोजगारीको अवसर पाउने उनको विश्वास छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »