पूर्वाधार नहु“दा गाउ“पालिका सञ्चालनमा अफ्ठ्यारो

प्रकाशित समय 5:01:00 PM
रामबाबु यादब
सिरहा, ५ फागुन । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि प्रत्येक सेवाहरु गाउँपालिकामै पाउने व्यवस्था भए पनि पूर्वाधार खडा नहुँदा लक्ष्मीपुर पतारी गाउँपालिकालाई सञ्चालनमै अफ्ठ्यारो परेको छ ।
जिल्ला सदरमुकामस्थित प्रत्येक विषयगत कार्यालयबाट प्राप्त हुने सेवाहरु गाउँपालिकाबाटै ती कार्यालयका प्रतिनिधिहरुबाट प्रदान हुने व्यवस्था भए पनि कर्मचारी बस्ने भवन नहुँदा लक्ष्मीपुर पतारीका गाउँपालिकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न सकेको छैन । विषयगत कार्यालयहरुबाट खटिएका कर्मचारीहरु भने कार्यकक्षको अभावमा कोही कार्यालयमै आउँदैनन् भने कोही गाउँपालिका भवनको छेउको चियापसलमा गफ चुट्न व्यस्त भएको पाइएको छ ।
विषयगत कार्यालयका कर्मचारी मात्र होइन गाउँपालिकाकै विभिन्न फाँटका कर्मचारीहरुलाई बस्न पनि कोठाको अभाव छ, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नं. ३ का वडा सचिव शंकर बिसीले भने, अहिले हाम्रो वडाका पदाधिकारीलाई बस्ने कोठाको त व्यवस्था गरिएको छैन । लक्ष्मीपुर पतारी गाउँपालिका गठन भएपछि गाउँपालिकाको कार्यालय साविक महेशपुर पतारीको गाविस कार्यालयमा सञ्चालन भएको छ । सोही कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि साविक महेशपुर पतारी गाविस पर्ने वडा नं. ३ का वडा कार्यालयलाई बस्ने कोठाको समेत अभाव भएको छ । उक्त वडा कार्यालयले आफ्नो कार्यालय सञ्चालनका लागि भाडाको घर खोज्नुपर्ने अवस्था छ ।
कोठाको अभाव गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष समेतलाई परेको छ । तीन वटा कोठा रहेको उक्त भवनको बैठक कोठामा गाउँपालिका अध्यक्ष रामबल्लभ साह तथा उपाध्यक्ष आशादेवी यादवको संयुक्त कार्यकक्ष बनाइएको छ । अर्को कोठामा प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महत तथा तेश्रो कोठालाई गाउँपालिकाको जिन्सी कक्ष बनाइएको छ । गाउँपालिकाको लेखा फाँट, योजना फाँट, सामाजिक विकास फाँट, पञ्जिका फाँट लगायतका सम्पूर्ण शाखाहरु गाउँपालिकाको मूल भवनदेखि तीन सय मीटर पर महेशपुर बजारका पुराना भाडाका घरहरुमा सञ्चालन छन् । सेवाग्राहीहरु गाउँपालिका सम्बन्धी आफ्नो काम लिएर आउँदा मूल भवन र भाडामा रहेका अन्य फाँटहरु ओहोरदोहोर गर्दा वाक्क हुन्छन् ।
जनप्रतिनिधिदेखि गाउँसभा हल र विभिन्न फाँटहरुमा काम गर्ने कर्मचारीहरुका लागि प्रशस्त कोठा चाहिने भएकोले त्यसको अभावमा गाउँपालिका सञ्चालनमै साँच्चै नै समस्या छ, लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महतले भने, हामीसँग ऐलानी जग्गाहरु प्रशस्त भए पनि भवन बनाउने रकम नभएको हुनाले पूर्वाधारको समस्या छ । हामीले गाउँपालिकाको मूल भवनको निर्माणको प्रस्ताव माथि पठाइसकेका छौ तर मूल भवन निर्माण नहुञ्जेल गाउँपालिकाका पदाधिकारी मात्रै होइनन् स्थानीय बासिन्दाले समेत समस्या भोग्नुबाहेक कुनै अर्को विकल्प छैन, प्रमुख प्रशासकीय अधिकृत महतको दुखेसो छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »