सिरहाका आधारभुत विद्यालयको दिवा खाजामा लुट

प्रकाशित समय 7:50:00 PM
आशिष विश्वकर्मा
सिरहा, १६ फागुन । राज्यले आधारभूत तहको विद्यार्थीलाई नियमित कक्षामा टिकाईराख्न र ‘ड्रप आउट रोक्ने उदेश्यले संचालित दिवाखाजा कार्याक्रम प्रधानाध्यापक तथा शिक्षाका प्रतिनिधीलाई कमाउ धन्दा बनेको छ । विद्यार्थीसंख्या धेरै देखाएर प्रधानाध्यापक र विद्यालय निरिक्षकको मिलेमत्तो मा विद्यार्थीको खाजा रकममा लुट मच्चाउँदै आएको हो ।
जिल्ला शिक्षा कार्यालयबाट मिर्चैया १२ स्थित आधारभूत विद्यालय सिकरौनले ८४ जना विद्यार्थीको लागि दिवा खाजा वापत पहिलो किस्तामा एक सय ११ दिनको एक लाख ३९ हजार ८ सय ६० रुपैयाँ निकासा पाएको छ । एक जना विद्यार्थी बरावर १५ रुपैंयाको दरले शिक्षाले रकम निकासा दियो । तर, विद्यालयमा नियमित १० जना विद्यार्थी मुश्किलले उपस्थित हुन्छन् ।  
थारैमात्र विद्यार्थीसंख्या उपस्थित हुँदा खाजाको ठूलो रकम बचत हुन्छ । तर विद्यालयले सबै विद्यार्थी उपस्थिती कागजमा देखाएर रकम झ्वाम पार्छन । नियमित विद्यार्थी उपस्थितीको आँकडा हेर्ने हो १६ हजार ६ सय ५० रुपैयाँले खाजा पुग्छ । यसरी कम्तिमा एक लाख ३२ हजार २ सय १० रुपैयाँ बचत हुनआउँछ । बचत रकम प्रअ र विद्यालय निरिक्षकको मिलेमतो मा दुरुपयोग हुने गरेको छ  ।
गत आइतबार सञ्चारकर्मी टोली विद्यालय पुग्दा ३ जना विद्यार्थीलाई अघिल्तिर राखेर प्रधानाध्यापक  पुरुषेतम भुरेर र एक शिक्षीकाले पढाई रहेको थियो । प्रअ भुरेर गाउँमा विवाहको भतेर भइरहेकाले विद्यार्थीको उपस्थिति कम रहेको जिकिर गर्दै अरु दिन अलि बढि विद्यार्थी उपस्थित हुने बताए । विद्यालयमा दुई शिक्षक, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कार्यालय सहयोगी गरी चार जना कार्यरत छन् । 
सिकरौन मात्र होइन सुखिपुर १० स्थित जनता आधारभूत विद्यालय बलही नगुंर्वाले तीन सय ७० जना विद्यार्थीको लागि जनही १५ का दरले ६ लाख १६ हजार ५० रुपैयाँ निकासा पाएको छ । यस विद्यालयमा नियमित ७० देखि १२० जना सम्म विद्यार्थी उपस्थित हुने गरेको विद्यालयका प्रधानाध्यापक विजय नारायण यादव आफै स्विकान्र्छ । 
सरदर सय जनाकै उपस्थित रहने गरेपनि यहाँ दिवा खाजाको चार लाख ४९ हजार ५ सय ५० रुपैयाँ बचत हुन्छ । विद्यालयको अन्य स्रोत केही नभएकाले यसैबाट बचेको रकमले विद्यालय चलाउने गरेको उनले बताए । विद्यार्थीको चाप धेरै भएकोले निजी स्रोतमा एक जना शिक्षकलाई पनि यही रकमबाट तलब खुवाउने गरेको प्रअ यादवले सुनाए ।  विद्यालयमा एक निजी श्रोत सहित ५ शिक्षक कार्यरत छन् । 
त्यसैगरी, आधारभुत विद्यालय, नरहा गापा ५ पानवारीले दिवा खाजाको लागि २ सय २४ विद्यार्थीका लागि १ सय ११ दिनको ३ लाख ७२ हजार ९ सय ६० रुपैयाँ निकासा पाएको छ । तर विद्यालयमा दलित समुदायका विद्यार्थी बढी भएकाले दैनिक २० देखि २५ जनामात्र विद्यार्थी उपस्थित हुने गरेको स्थानीय विनोद लामाले बताउनु भयो । ‘शिक्षक आफैपनि नियमित विद्यालय आउँदैनन् उनले भने, ‘वरपर सवै दलित (मुसहर) समुदायका नानीहरु रहेकाले पनि न्यून उपस्थिति रहन्छ ।
विद्यालयमा एकजनामात्र शिक्षक सूर्य नारायण मण्डल, कार्यालय सहयोगी आशा लामा र बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता कार्यरत छन् । शिक्षा कार्यालय धाउनु पर्ने र अन्य व्यवस्थापनमा लाग्नुपर्ने भएकाले विद्यालयमा कम समयमात्र उपस्थिती हुनसकेको उनले सफाई दिए ।
सिकरौन, सुखिपुर र नरहाका यी आधारभूत विद्यालय मात्र होइन दिवा खाजा कार्यक्रम लागू भएका जिल्लाका २ सय २५ विद्यालयमध्ये अधिकांशमा प्रअ र विद्यालय निरीक्षकको मिलेमतोमा खाजा रकममा ब्रम्हलुट भइरहेको छ ।
जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार दुई सय २५ विद्यालयका ३२ हजार तीन सय ३७ विद्यार्थीका लागि १ सय ११ दिनको खाजा खुवाउन १५ रुपैयाँको दरले पहिलो किस्ता ५ करोड, ३८ लाख ३२ हजार रुपैयाँ निकासा भएको छ । यसमध्येका ठूलो रकम दुरुपयोग हुने गरेको छ । शिक्षाले आर्थिक वर्ष ०७३÷७४ मा दुई सय ३३ विद्यालयका ३२ हजार पाँच सय ५५ विद्यार्थीका लागि पाँच करोड ६० लाख ४४ हजार ६ सय २० रुपैयाँ दिवा खाजाका लागि निकासा दिएको थियो ।
कार्यालयका अनुसार जिल्लामा पाँच कक्षा सम्म संचालन भईरहेका दुई सय ९८ आधारभुत विद्यालय र ६४ मदरसा छन् । जसमध्ये शिक्षाले १० विद्यालयमा विभिन्न आन्तरिक विवादका कारण खाजा रकम खर्च नभएको भन्दै वेरुजु ठहर गरेको थियो । तथ्यांक अनुसार प्रावि गढगम्मा ८ हजार, प्रावि हरकट्टी २५ हजार, नरसिंह प्रावि जिझौल २५ हजार, प्रावि मेन्हा २० हजार, राजा प्रावि नरगी ३ हजार, जनकल्याण आधारभुत प्रावि नवराजपुरले १५ हजार, आधारभूत विद्यालय ललशैयाले ५८ हजार, आधारभुत विद्यालय लरकन्हा, लवकाटोल ले एक लाख २६ हजार र जनता आधार विद्यालय चतरी सलमपुर को नाममा ४६ हजार वेरुजु भएको देखाएको छ । बाँकी सवै विद्यालयहरुले पठाएको रकम सम्पूर्ण खर्च गरिसकेको विवरण जिल्ला कार्यालयमा पेस गरेको छ । 
जिल्ला शिक्षा कार्यालयका लेखाअधिकृत केशव कार्की विद्यालयले पठाएको विद्यार्थी संख्याको आधारमा रकम निकासा दिने गरेकोे बताए । ‘विद्यालयसम्म हाम्रो पहुँच हुँदैन उनले भने,  ‘विद्यालयका हेडमास्टर र विनिहरुले पठाएको प्रतिवेदनको आधारमा निकासा दिन्छौं ।
यता धेरैजसो प्रधानाध्यापकहरु शिक्षा कार्यालयलाई निश्चित रकम नवुझाई खाजा कार्यक्रम नै नदिने गरेको बताउँछन् । नाम नवताउने सर्तमा एक प्रधानाध्यापकले भने, ‘तपाईहरुलाई सवै थोक थाहा छदैछ, जिल्लाले कुनै पनि कार्यक्रम पार्नको लागि निश्चित रकम लिन्छ अनि मात्र कार्यक्रम पर्छ, यो पनि त्यस्तै हो ।
जिल्ला शिक्षा कार्यालयबाट खटिएका विद्यालय निरिक्षक तथा स्रोत व्यक्तिहरुले खाजाको विलभर्पाई पास गराउन ‘नजराना नचढाई पासै नगर्ने आरोप प्रधानाध्यापकहरुको छ । नाम नखुलाउने सर्तमै अर्का एक शिक्षकले भने, ‘जे गर्दा पनि विनि, स्रोत व्यक्तिलाई नख्वाई हुँदैन, हामीले कहाबाट ल्याउने ? त्यसैबाट बचाएरै गर्ने हो उनीहरुलाई पनि दिने हो ।
उता, विद्यालयका स्रोत व्यक्तिहरुले शैक्षिक गुणस्तर विकास लगायत पाठयोजना आपूmहरुले हेर्ने भएकाले आर्थिक विषयमा कुनै सरोकार नै नरहने बताउँदै आएका छन् । ‘दिवा खाजा रकमको विद्यालय व्यवस्थापन समिति र प्रअले लेखा जोखा राख्छन् स्रोत व्यक्ति भोगेन्द्र यादवले भने, ‘उनीहरुले आफै अडिट गराउँछन, त्यसमा हाम्रो कुनै सरोकार नै हँदैन ।
हाजिरी रजिष्टरमा भएको नामभन्दा कमै विद्यार्थी उपस्थित हुने गरेको औल्याउँदै उनले विद्यार्थी उपस्थितको आधारमा खाजाको रकम कसरी मिलाउँछन त्यो हामीलाई कुनै जानकारी नहुने बताए ।
यता जिल्ला शिक्षा  अधिकारी महेन्द्र महतोले सवैविद्यालय मा आफै जान नसक्ने भन्दै विनी र शिक्षकहरुले ल्याएकै आर्थिक प्रतिवेदनलाई सदर गर्ने गरेको जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »