तरकारीको आम्दानी शिक्षामा लगानी

प्रकाशित समय 8:45:00 PM
भरोसी यादव
सिरहा, १४ फागुन । सिरहाको गोलबजार न.पा.–९ डण्डाटोलका किसान तरकारीबाट आएको आम्दानी शिक्षामा लगानी गरिरहेका छन् । एक सय ५६ घर धुरी रहेको यो वडाका धेरैजसो किसान तरकारी खेती गर्छन् ।
स्थानीय ५७ वर्षिय किसान विलट महतो वर्षिक आम्दानीको ५० प्रतिशत छोराछोरी पढाउनमै खर्च हुने बताउँछन् । आफ्नै खेतवारीमा उव्जाएको तरकारी वेचेरै उनले एउटी छोरीलाइ अनमी र छोरालाई स्नातकोत्तर सम्म पढाएका छन् । छोरीको विवाह गरिसकेकोले एच.ए. पढेका माइला छोरालाई विपीएच पढिरहेका छन् । कान्छो छोरो विराटनगरमा वसेर आईएससी पढिरहेका छन् । अहिले उहाँको तरकारी खेतीको वार्षिक आम्दानी ५ लाख भन्दा बढी रहेको छ ।
अर्का किसान ४९ वर्षिय राजेशवर महतोले आफ्नो आम्दानीको ठूलो हिस्सा छोरा छोरीको पढाइमै खर्च गरिरहेका छन् । उनका तीन छोरी र तीन छोरामध्ये छोरीहरुलाई एसएलसी पास गराएर बिहा गरेका छन् । जेठो छोरो एमए (स्नातकोत्तर) पास गरेर गोलबजार खानेपानीमा काम गरिरहेका छन् । उनका माइला छोरा काठमाडौंमा इन्जिनियर र कान्छो छोरा विराटनगरमा आइएससी पढिरहका छन् । यो सवै खर्च उनले आफ्नो बारीमा फलेको तरकारी बेचेरै धानिरहेका छन् । तरकारी उत्पादनमा लाग्ने सवै खर्च कटाएर वार्षिक ७ लाख आन्दानी गर्ने राजेश्वरले बताए । उनी भन्छन, ‘मैले सवैछोरा छोरीलाई यही तरकारीकै आम्दानीले लेख पढ गराई रहेको छु, अरु श्रोत छैन, घरवाहिरै राखेर पढाउनु पर्नेभएकोले धेरै खर्च हुने गरेको छ ।
अनपढ भएकै कारण आफूहरुले २०५०÷५२ सम्म जिविका चलाउन ज·गलबाट दाउरा ल्याएर वेच्नुपरेको दुखेसो सुनाउँदै राजेश्वरले आफ्नो जस्तो दुःख छोराछोरीले भोग्नु नपरोस भन्दै उनीहरुलाई शिक्षामा विशेष जोड दिएको बताए । उनले भने, ‘अहिले मेरो आम्दानीको धेरै रकम छोराछोरीको पढाईमा खर्च गरेको छ, हामीले जस्तो दुःख गर्न नपोरोस् भनेरै उनीहरुको लेखपढमा जोड दिएका हौं ।
उनले अहिले एक विगाहा १० का जमिनमा नियमित रुपमा तरकारी उत्पादन भइरहेको बताए । उनले भने, ‘मैले मौसमी, वेमौसमी सवैखालको तरकारी गरिरहेको छु, अहिले बारीमा सिमी फलिरहेको छ, काँक्रा पनि निस्कने बेला भएको छ । तरकारीमा काउली, बोडी, खोर्सानी, सिमि, भाण्टा लागाएतका तरकारी गर्ने गरेको राजेश्वरले बताए ।
गाउँकै ३४ वर्षिय सन्तकुमार महतो आफ्नो एक विगहा जमिनमा सधैभरी कुनै न कुनै तरकारी उब्जाउँछन् । तरकारीबाट भएको आम्दानीले तीनजना छोरा छोरीलाई निजी विद्यालयमा पढाउँछन् । छोराछोरीलाई लेखपढ गराए पछि सुख पाउला भनेर अहिले आफूले मेहनत गरिरहेको उनले सुनाए ।
अहिले तराइमा छोराहरुलाई उमेर बढाएर रोजगारीको लागि विदेश पठाउने होड भएपनि छोरालाई लेखपढ गराई यही नै जागिरे बनाउने सन्तोषको धोको छ । उनले भने ‘खेती तरकारी, जागीर सरकारी जस्तो अरु दिगो आम्दानी छैन, विदेश जानुभन्दा पढाएर सरकारी जागिरमा लाउँछु, सकिन भने तराकारी खेती छदैं छ ।
राजेशवर, सन्तो र विलट महतोमात्र हैन यहाँका धेरै किसान तरकारीको आम्दानीबाट आफ्ना छोराछोरीको लेखपढमा खर्च गरिरहेका छन् । यहाँकै भुवन महतोले तरकारी खेती गरेरै जिल्लाकै निजी विद्यालयमा बोडर्स राखेर पढाई रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »