दुर्घटनामा ज्यान गुमाएका सिंचाइ सचिवकी डाक्टर छोरी, जसले उद्धारमा संलग्न प्रहरीको जीवन बचाइन

प्रकाशित समय 5:53:00 PM
नवराज मैनाली
काठमाडौं, २७ माघ । छोरी रञ्जनाको विवाहको कुरा गर्न सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव कपिलवस्तु पुगेर काठमाडौं फर्कंदै थिए । तर, छोरीको विवाह गराउन नपाउँदै शनिबार बिहान दुर्घटनामा उनले ज्यान गुमाए ।
उनी चढेको बा २ झ ३१४० नम्बरको बोलेरो जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा दुर्घटनामा प¥यो । घटनामा यादवको मृत्यु भयो भने छोरा बेपत्ता छन् । विवाहको तयारीमा जुटेको यादवको परिवारका सदस्यहरु विक्षिप्त छन् । बुवा दुर्घटनामा परेको खबर पाएपछि छोरी रञ्जना पनि बिहानै सलाङघाट पुगेकी थिइन् । बिहान करिब साढे ९ बजे त्रिशुलीको करिब ६० फिट तलबाट बुवाको शव निकालियो । बगरमा राखिएको शवको छेउमा बसेर उनी रुँदै थिइन् । प्रहरीहरु बेपत्ता रहेका अन्य व्यक्तिको खोजीमा लागिरहेका थिए ।
त्यत्तिकैमा उद्धारमा खटिएका एक प्रहरी त्रिशुलीमा डुबेर गम्भीर घाइते भएको खबर आयो । सशस्त्र प्रहरीका गोताखोर सशस्त्र प्रहरी हवल्दार तारानाथ चपाई बेहोस भएका थिए । नदीमा करिब २० फिट मुनि अक्सिजन मास्क खुस्किएपछि उनी बेहोस भएका थिए । उनीसँगै खोलामा डुबेका अर्का प्रहरीले उनलाई उद्धार गरेर ल्याएका थिए । उनको अवस्था निकै गम्भीर भइसकेको थियो । उद्धारमा खटिएका इलाका प्रहरीका कार्यालयका गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनालाई  रञ्जना चिकित्सक भएको थाहा थियो । उनले रञ्जनालाई घाइते भएका प्रहरीलाई एक पटक हेरिदिन आग्रह गरे ।
पीडा लुकाएर रञ्जना उपचारमा खटिइन् । उनले बेहोस रहेका चपाईको सिपिआर (छातीमा दुई हातले थिचेर श्वासप्रश्वास फर्काउने विधि) गरिन् । ‘त्यसपछि घ्यारघ्यार आवाज आयो । लगत्तै सेनाको हेलिकोप्टर बोलाएर हवल्दार चपाईलाई काठमाडौं लगिएको थियो । सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेका उनको अवस्था अहिले सामान्य छ । ‘तत्कालै चिकित्सक रञ्जनाले उपचार नगरेको भए घाइते प्रहरीको अवस्था गम्भीर हुन सक्थ्यो, धादिङमा कार्यरत सशस्त्र प्रहरीका डिएसपी जनक सापकोटा भन्छन, ‘चिकित्सकले सिआरपी गरेकाले उनको छिटै होस खुल्यो ।
डा. रञ्जना नेपाल प्रहरीकै कर्मचारी हुन् । उनी प्रहरी अस्पतालमा इन्सपेक्टरका रुपमा कार्यरत छिन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »