चुरीबाट मनग्गे आम्दानी

प्रकाशित समय 7:29:00 PM
सन्तोष यादव
लहान, २ फागुन । मधेसका अधिकांश महिला श्रीमान्को कमाइमा निर्भर छन् । महिलाले घरबाहिर गएर केही काम गर्न खोजे नराम्रो दृष्टिले हेर्ने प्रवृत्ति अझै गइसकेको छैन । यस्तो पुरातन सोच परिवर्तन भइनसक्दा कतिपय स्थानीय महिला घरमै बस्न बाध्य छन् ।
गोलबजार नगरपालिका–६ की २६ वर्षीया गुलाब साह भने घरमै गुलाब साह चुडी उद्योग खोलेर मनग्गे आम्दानी गरिरहेकी छन् । घरेलु तथा साना उद्योग कार्यालय लहानबाट १५ दिने लहठी र चुडी (चुरा) बनाउने तालिम लिएर उनी उधोग खोलेकी छन् । चुरा बनाएर बेच्दा महिनाको ४० हजार रुपैयाँसम्म आम्दानी हुने उनी सुनाउँछिन् ।
लहठी र चुडी बनाउने तालिम लिँदा सुरुमा एकदमै गाह्रो भयो । यो सीप सिक्नै नसक्नेजस्तो पनि लाग्थ्यो तर मिहिनेत गर्न छाडिनँ, उनी भन्छिन, ‘सीप सिक्न त धेरै मिहिनेत लाग्यो । अठोट लिएपछि सफल भएँ । सबै खालको चुडी र लहठी बनाउन सिकेको छु ।
उनले दुई सयदेखि दुई हजार रुपैयाँसम्मको लहठी बनाउने गरेकी छन् । तालिमपछि पाँच हजार रुपैयाँ लगानी गर्दा उनले पहिलो पटक १५ हजार आम्दानी गरिन् । त्यसपछि उनले उत्साहित भएर उद्योग नै दर्ता गरिन् । अहिले राम्रै आम्दानी हुने उनी सुनाउँछिन् । उनले महिनामा २० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेकी छन् ।
बजारमा नयाँ–नयाँ डिजाइनमा पाइने सस्ता उत्पादनले गर्दा उनलाई समस्यासमेत भएको छ । यद्यपि, उनी भन्छिन, ‘बजारमा पाइने चुडी र लहठी हेर्नमा आकर्षक त हुन्छ तर मजबुत हुँदैन । यो कुरा बुझ्ने महिलाले मैले बनाएकै सामान मन पराउन थालेका छन् । मागअनुसार उत्पादन गर्न नसकेको उनी सुनाउँछिन् । उनले तालिमसमेत दिन थालेकी छन् । तालिम दिँदा उनले प्रतिदिन १५ सय रुपैयाँ लिने गरेकी छन् । ‘धेरै ठाउँमा तालिम दिएकी छु, उनी भन्छिन, ‘मबाट एक सयभन्दा बढी महिलाले तालिम लिका छन् । उनीहरूले पनि यो व्यवसाय सुरु गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »