हचुवाको पाराले नागरिकता वितरण

प्रकाशित समय 7:19:00 PM
रामबाबु यादब
सिरहा, ११ फागुन । सर्वसाधारण नागरिकलाई सहज र सरल तरिकाले नागरिकता वितरण गर्न विभिन्न समयमा गाउँ गाउँमा खटिएका नागरिकताको टोलीले हचुवाको पारामा नागरिकता वितरण गर्दा त्यस्ता नागरिकले झनै दुख पाउने गरेको देखिएको छ ।
नागरिकता टोलीले हचुवाको पाराले नागरिकता वितरण गर्दा यस्तै हैरानी र झञ्झटको भार खेपिरहेका छन् धनगढीमाई नगरपालिका–११ स्थित नैनपुरका हरानीदेवी मुसहर्नीको परिवार । हरानीको पति उनीभन्दा पाँच वर्ष जेठो रामशरण मुसहर हुन तर २०४६ चैत १५ गते गाउँमै आएको नागरिकताको टोलीले हरानी देवीको पति देवशरण मुसहरलाई बनाइदिएको छ । 
यस्तै हरानीदेवीको छ सन्तान मध्ये साइली छोरी ममता सदाभन्दा दुई वर्ष कान्छो छन् छोरा विनोद सदा तर फरक फरक समयमा बनाएको नागरिकता अनुसार ममताभन्दा विनोद दुई दिन जेठो देखिएका छन् । ममतालाई २०७० जेठ २५ गते गाउँमै आएको नागरिकता टोलीका टोली प्रमुख राजेन्द्र कुमार लाल कर्णले नागरिकता दिएका थिए भने विनोदलाई २०७२ मा जिल्ला प्रशासन कार्यालयमै प्रशासकीय अधिकृत वासुदेव यादवले नागरिकता प्रदान गरेका थिए । 
उनीहरु दुवैको पिताको कोष्ठभित्र रामशरण मुसहर छ भने आमाको कोष्ठ खाली छोडिएको छ । नागरिकता अनुसार, हरानीदेवीको सम्बन्ध न त आफ्नो पतिसँगै देखिन्छ न त छोरा र छोरीसँग । पति रामशरण मुसहरको नाममा रहेको १० धुर जग्गामा छाप्रो बनाएर उनीहरु बसिरहेका छन् तर पतिलाई केही भएको अवस्थामा उक्त जग्गा हरानीदेवीको नाममा नामसारी नभई सिधै छोरा र छोरीको नाममा नामसारी हुन्छ ।
वर्षौदेखि अरुको खेतमा मजदुरी गरेर जीवनयापन गरिरहेका हरानीदेवीका परिवार लाई हरुवाचरुवा सशक्तिकरण कार्यक्रम अन्तर्गत स्वरोजगारका लागि आर्थिक सहयोग उपलब्ध गराउने योजना हामीले बनाइरहेका थियौ, सामुदायिक सेवा मञ्चका अध्यक्ष विनोद चौधरीले भने, तर हरानीदेवीको नागरिकताले समस्या आइपरेको छ ।
हरानीदेवीको नागरिकता सच्याउन गाउँपालिकाको सिफारिसबाट मात्रै सम्भव हुने भएकोले अब पहिले गाउँपालिका सँग अनुरोध गरेर नागरिकता सच्याउने पहल गर्नेछौं, मञ्चका अध्यक्ष चौधरीले भने, तब मात्र उनीहरुको आर्थिक उपार्जन र स्वरोजगारको लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »