उहिल्यै गणतन्त्र जन्माउने मान्छेको स्पष्टोक्ति

प्रकाशित समय 5:04:00 PM
नन्दलाल आचार्य
जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ, त्यसरी नै मानिसले पनि प्रकृतिको झैँ भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान गर्न सकेको छैन । आफूभित्र अन्तर्निहित ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ–पैसा भए सब थोक साथमा, नभए सब थोक पाखामा । पद र पैसाकै पछि लागेर मान्छेले धर्म छाडेको छ, बाटो विराएको छ ।
वि.सं. २०४२, ४३ र ४६ सालमा रामराजाप्रसाद सिंहको नेतृत्वमा भएको राष्ट्रिय पञ्चायत, अन्नपूर्ण होटल, राजदरबार लगायत देसका विभिन्न ठाउँमा भएका बमविष्फोटनका घटनाले राजतन्त्रको मुटु हल्लायो । २०४६ सालको जनआन्दोलनले राजतन्त्रलाई संवैधानिक दायराका थुनेर राख्यो । २०५२ सालदेखि १० वर्षसम्म निरन्तर चलेको जनयुद्धले राजतन्त्रको घोक्रो चिथोरी रह्यो । २०६२÷६३ को वसन्त आन्दोलन, २०६४ को मधेस आन्दोलन, आदिवासी, जनजाति र पिछडा वर्गका अन्य विविध आन्दोलनले राजतन्त्रको समूल नष्ट गरिदियो । त्यसैले अहिले हामी गणतन्त्र नेपालका बासिन्दा हुन पाएका छौँ । आफ्नो कमाइ आफ्नै लागि मात्र खर्च गर्न पाउने हैसियतमा पुगेका छौँ ।
हामी कुनै सामन्ती संस्थाको भरणपोषण गर्न वाध्यता छैन । अब कसैको निगाहामा बस्न वाध्य छैनौँ । जे जति स्थिति बसेको छ र जे जति बेथिति देखिएको छ, ती सबैको भागिदार हामी नै हुन पाएका छौँ । विश्वमा गणतन्त्रका हिमायतीको नाताले गर्वले छाती फुलाउन पाएका छौँ । चारैतिरबाट स्वतन्त्रताको आभाष भेट्टाएका छौँ । यस्ता अनगिन्ती उपलब्धीको उपभोग गर्ने सौभाग्य दिलाउने मध्येका एक शिखरपुरुष रामराजाप्रसाद सिंहलाई २०६९ भदौ २७ गते बिहान ६ बजेदेखि हामीले गुमाएका छौँ । उनको भौतिक लीला समाप्त भए पनि उनले उमारेका बेर्नाहरू हाम्रै वरपर लहलहाइरहेका छन् । तिनै बिरुवाको स्याहारसुसार गर्न सकेमा नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहङ्कार र इष्र्या जागा अवस्थामा छ । कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावनाले गर्दा मानवता नै हराउन थालेको छ । आजका हामी ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी भएर स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिर्सी लुच्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भ्रष्टचारी, द्रव्यपिपासु भइरहनु मानव सभ्यताकै दुर्भाग्य हो । जीवनको पछिल्लो घडीमा मृगौला, हाड र नशा रोगबाट पीडित सिंहको जीवन नेपाल र नेपालीको समुन्नतिमा नै वितेको थियोे ।
कसैले पनि गणतन्त्रको सपना नदेखेको परिप्रेक्ष्यमा सर्वप्रथम उनले नै सपना देखे र त्यो सफलिभूत गराई छाडे । गणतन्त्र स्थापनाको शङ्खनादका साथ २०४२ साल असार ६ गते बमविष्फोट गराइएको थियो । कतिपयले यस घटनालाई आतङ्कवादको प्रादुर्भावका रूपमा विश्लेषण गर्ने दुष्प्रयास समेत गरेका छन् । निश्चय नै उक्त घटनामा परी लमजुङ्गका राष्ट्रिय पञ्चायत सदस्य डम्बरजंग गुरुङ लगायतका केही निर्दोष सर्वसाधरणहरूको निधन भयो । त्यस वेला ‘लडाइँमा गएपछि नसोचेको कुरा हुँदो रहेछ भनेर रामराजाले दुःख प्रकट गरेका थिए । अझ उनले विष्फोटनमा जो मारिए ती सबै हाम्रा सहिद हुन् भन्दै त्यस रगतलाई गणतन्त्रका लागि अमृतधाराको उपमा दिएका छन् । त्यस बेला त्यो बगेको अमृतधारा रूपी रगतले मृत्यु नदिलाई अमरत्व दिलाएको उद्धोष जनवादी मोर्चा नेपालले जारी गरेको पर्चामा भनिएको छ ।
त्यस घटनाका बारेमा उनको ‘गणतन्त्रका लागि संघर्ष नामक आत्मवृत्तान्तमा भनिएको छ  साथीहरूले राष्ट्रिय पञ्चायत भवनको गेटमा त्यस दिन (२०४२ साल असार ६ गते) बिहानै टाइम बम राखिएको थियो । बम गमलामा राखिएको थियो । असारको महिना, पानी पर्न थालेछ । सिंहदरबार वरपर रहेका मानिस ओत लाग्न त्यस भवनतर्फ गए । त्यहाँ राखिएको ‘टाइम बम नै थियो । ओत लागेका मानिस पानी परुञ्जेल त्यही बसिरहे । उनीहरू त्यही रहेका बेला बम पड्क्यो र उनीहरूको मृत्यु भयो । (पृ. २०३) अन्नपूर्ण होटलमा भएको घटनाका बारेमा भनिएको छ दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा विदेशी पर्यटक समेत आउने भएकाले बमको छर्रा समेत नलागोस् भनेर निक्कै सतर्कता अपनाइएको थियो । साथीहरूले विष्पोटनका लागि होटलको चौर रोजे । बम राखिएको सुटकेस चौरमा थियो । कसको सुटकेस हो भनेर होटलमा लगिएछ । मिलाइएको टाइमअनुसार ‘टाइम बम विष्फोट भयो र त्यहाँका कर्मचारीको मृत्यु भयो । (पृ.२०३)
अतः नेपाली राजनीतिमा उनी हिंसाबाट आमूल परिवर्तन गरिनुपर्छ भन्ने पक्षमा देखिँदैनन् । उनी त पहिलो विष्फोटनलाई साङ्केतिक मात्र बनाउन चाहन्थे । उनको समूहमा मानव वम बन्न तत्पर व्यक्तिहरू पनि थिए । ‘म राजाको अगाडि जान्छु र पड्कन्छु  भन्नेहरू पनि थिए । तर, उनले त्यो बाटो अपनाएनन् । उनको सपना, आदर्श, मूल्य र मान्यता निकै महान् छ ।
चानचुने मूल्याङ्कनले उनको साङ्गोपाङ्गो इतिवृत्ति समेट्न सकिँदैन । उनी निडर र शत्रुका सामु कहिल्यै नझुक्ने क्रान्तिकारी योद्धा हुन् । राजनैतिक कायरता र कुरूपता यिनको शब्दकोशमा पाइन्न । यिनले युद्धको विजय र सुन्दर भविष्यको सपनालाई नजिकैबाट ठम्याएका छन् । गणतन्त्रको स्थापनालाई नै यिनले जनताको विजय देखे । र, जीवनको उतराद्र्धकालमा गणतन्त्र स्थापना हुँदा सर्वस्व प्राप्त भएको महसुस गरेका थिए तर गणतन्त्र संस्थागत नहुँदा खिन्न हुन थालेका थिए ।
उनी जीवनभर नेपाली क्रान्तिकारी आन्दोलनका शिखरपुरुष अर्थात् आस्थाका धरोहर व्यक्तित्वका रूपमा रहिरहे । विचार र व्यवहारको सम्यक मिलन खोज्दै नेपाल र नेपालीको सुन्दर भविष्यको परिकल्पनामा उद्दत भइरहे । उनमा व्यवहारमा लचकता, विचारमा दृढता, बोलाइमा शिष्टता, प्रस्तुतिमा नम्रता र चिन्तनमा वस्तुनिष्ठताजस्ता अनुकरणीय गुण विद्यमान थिए । उनी निष्ठावान् राजनीतिज्ञ, निर्धनका अभिभावक, हालका वरिष्ठ राजनीतिज्ञका पनि आदरणीय राजनैतिक गुरु अनि सबै नेपालीका प्यारा मित्र भएर रहे । यस्ता आदर्श व्यक्तिलाई आतङ्कवादका प्रणेताको माला गुथाइनु बौद्धिक दरिद्रताको एक नमुना बाहेक अरू केही होइन ।
बम विस्फोटनको घटनापश्चात् विशेष अदालतले लक्ष्मणप्रसाद सिंह, विश्वेश्वर मण्डल (शेखर), प्रेमबहादुर विश्वकर्मा र रामराजाप्रसाद सिंहलाई सर्वस्वहरण सहित मृत्युदण्डको सजाय सुनायो । पवनकुमार साह, खेमराज मायालुहरूले जन्म कैदको सजाय मात्र तोकिएकोमा सहिद बन्ने सौभाग्य नपाइने भइयो भनेर गुनासो गरेका थिए । त्यस बेला सिंहले भनेका थिए सहादत जति प्रिय छ, त्यसभन्दा बढी प्रिय छ जनवादी मोर्चा । त्यस बेला जनवादी मोर्चाको नेतृत्व गर्ने सौभाग्य हामीले पाउने छैनौँ । देसमा गणतन्त्र आएको पनि देख्न पाउने छैनौँ । तर, तपाईंले जेलभित्रै बसेर भए पनि जनवादी मोर्चाको रेखदेख गर्ने मौका पाउनेछ । यो पनि सहादत जत्तिकै ठूलो सौभाग्य हो । जेलमा बसेर भए पनि तपाईंले जनवादी मोर्चालाई जीवित राख्नुपर्छ । तपाईंले गणतन्त्र आएको पनि देख्न पाउनेछ । हामी पो अभागी रहेछौँ जसले यस देसमा गणतन्त्र आएको देख्न नपाउने भयौँ । (पृ.२२१)
अतः यतिखेर त हामी इतिहासको सङ्गीन घडीमा छौँ भने रामराजाप्रसाद सिंहको क्रान्ति प्रारम्भ ताका अझ भयावह अवस्थामा थियो । उनी निरर्थक बाँच्नुभन्दा सार्थक मर्नु उचित सम्झथे । त्यसैले मृत्युलाई पहिले नै स्विकारेर गणतन्त्र स्थापनार्थ क्रान्तिमा होमिएका थिए । पञ्चायती सरकारले उनलाई गिरफ्तार गर्न सकेन तर सर्वस्वहरण भने गरेकै थियो । २०४६ चैत्र २६ गते पञ्चायती व्यवस्था ढलेपछि पनि उनी खुशी भएनन् । उनको अभिष्ट पञ्चायती व्यवस्थासँगै राजतन्त्र ढाल्नु थियो ।
क्रान्तिका भोका रामराजाको मनस्थिति बुझेर चे ग्वेभारा (१४ जुन १९२८–९ अक्टोबर १९६७) ले भनेका थिए–क्रान्ति पहिले आफ्नै घरभित्रबाट सुरु गर, अनि देसमा क्रन्ति गर । क्रान्तिको ज्वाला लिएर अघि बढ, म सहयोग गर्छु  । उनकै विचारबाट ऊर्जा पाएर रामराजा क्रान्तिमा निष्ठावान् भई जुटेको पाइन्छ । उनको क्रान्तिले मुलतः चार मुद्दालाई केन्द्रविन्दु बनाएको थियो – राजतन्त्रको उन्मूलन, प्रजातान्त्रिक जनवादी जनतन्त्रको स्थापना, व्यक्तिगत सम्पत्तिको समाप्ति, पूर्ण आर्थिक समानता, स्वतन्त्रता तथा सम्पत्तिमा नैसर्गिक, मौलिक, समान उपभोक्ता हकको प्राप्ति । उनका अनुसार क्रान्ति रक्तिम त्योहार हो, यसमा बगेको रक्त अमृतधारा हो, यसले मृत्यु होइन अमरत्व दिन्छ ।
२०२८ सालको स्नातक निर्वाचनमा सहभागी भएका सिंहले जनसमुदायका निमित्त प्रकाशन गरेको पर्चामा लेखेका थिए म निर्वाचित भएको खण्डमा यो (पञ्चायती व्यवस्था) गतिहीन, प्रत्यक्ष निर्वाचनको अभावमा राष्ट्रिय चेतना मुखरित गर्नमा असक्षम र अराष्ट्रिय भएको हुँदा यस संविधानलाई खारेज गरी २०१७ पौष १ गते पूर्वको युगमा फर्की जाऊँ भन्ने राय श्री ५ मा चढाउन निमित्त राष्ट्रिय पञ्चायतमा प्रस्ताव पेस गर्नेछु । स्मरण रहोस्, उक्त पर्चा जनसमुदायले रु १०० देखि ५०० सम्म तिरेर किनेका थिए ।
अघोरै पारिवारिक सुखसयल भए पनि ती सबैलाई तिलाञ्जली दिएर जीवनभर क्रान्तिमा होमिई गणतन्त्रलाई जीवन्तता दिन प्रयासरत् सिंह कहिल्यै पनि वैयक्तिक सुखसयलमा रमाएनन् । जनताको ओठमा खुशी नाचेको दिन आफ्नो विजयको दिन आउने ठान्दा ठान्दै अपूर्ण विजयमै सन्तोष मान्न वाध्य सिंहको जीवन लौह पुरुष गणेशमान सिंहको झैं विशाल छ, श्रद्धेय छ, अनुकरणीय छ । उनै विराट गणतन्त्रका पितामा भावपूर्ण श्रद्धाञ्जली !!! उनले खनेर लगाइ दिएको गणतन्त्रको विरुवा हुर्काउन हामीले सक्यौँ भने उनको अन्तिम उद्देश्य पूरा हुन्छ !!!

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »