भवन अभावमा चौतारामै वडा कार्यालय

प्रकाशित समय 5:10:00 PM
मणिलाल विश्वकर्मा
लहान, ६ फागुन । नगर पालिकाको वडा कार्यालय चौतारोबाट सञ्चालन हुँदैछ भन्ने सुन्दा तपाईलाई पत्यार लाग्दैन होला । तर, सिरहाको सबैभन्दा पुरानो र सुगम स्थानमा रहेको लहान नगरपालिकाको वडा नम्बर १६ को कार्यालय भवन अभावमा चौतारोमा सञ्चालन हुँदै आएको छ ।
पूर्व–पश्चिम राजमार्गले छोएको र कुनै समय त्यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र रहेका नगरपालिकाको वडा कार्यालय स्थानीय तहको पुनर्संरचनापछि पनि चौतारोमा नै सञ्चालन भइरहेको छ ।
०७१ मंसिर १६ मा मन्त्रिपरिषद् ले साविकको तरेगना गोविन्दपुर गाविसलाई लहान नगर पालिकामा गाभ्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गाविसको ७, ८ र ९ नम्बरलाई १६ र १ देखि ६ सम्मका वडालाई १७ नम्बर वडा कायम गरिएको थियो । साविकको गाविस भवन वडा नम्बर १७ मा परेपछि वडा नम्बर १६ को कार्यालय भवन अभावमा चौतारोमा सञ्चालन गर्न बाध्य भएको वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले बताए । विद्यालय बन्द हुँदा वडा पनि बन्द ! वडा कार्यालय नभएपछि कार्यालयसँग सम्बन्धित काजगता झोलामा कोचेर आधारभूत विद्यालय तरेगनाको कार्यालयमा राख्ने गरिएको वडा नम्बर १६ र १७ का सचिव राजकुमार साहले बताए । ‘विद्यालय बन्द भएको दिन कागजात झिक्न नपाउँदा वडाको काम गर्न पाइँदैन वडा सचिव साहले भने, ‘यस्तो बेला टाढाबाट आएका सेवाग्राहीलाई त्यतिकै फर्काउनु पर्छ ।
उक्त वडाका बर्दमार, आहाले, टाँडे, कतले, अलमले, रुम्जाटार, भसुवा, भमरे, ओदाले, मैनाटार, तरेगनालगायत करिब दुई दर्जन गाउँ पर्दछन् । उक्त गाउँका नागरिकहरू सिफारिस, मालपोत शुल्क तिर्नेलगायतका सेवाका लागि आउने गरेको वडाध्यक्ष मगर बताउँछन् । वडा कार्यालय सञ्चालनका लागि स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले दिने फर्निचर लगायतका सामान दिने सहमति भएको थियो । तर, आफ्नै कार्यालय नभएकाले नल्याउँदा फर्निचर अर्कै वडाले लगेको वडाध्यक्ष मगरले बताए । उनले भने, ‘विद्यालयले प्रयोग गर्न छोडेको कोठा मर्मत गरेर वडा कार्यालय चलाउने सहमति भएपछि फर्निचर लिन जाँदा अर्कै वडाले लगिसकेछ, त्यो पनि पाइएन ।
वडा भवन अधुरै संसदीय विकास कोष र लहान नगरपालिकाको २० लाख रुपैयाँको लागतमा आर्थिक वर्ष ०७३÷०७४ मा ६ कोठे भवन निर्माण सुरु गरिइएको थियो । भवनको डिपिसी, पिल्लर र छत ढलानसम्म काम भएको छ । तर, नगरपालिकाले दिने कबोल गरेकोमध्ये पाँच लाख रुपैयाँ नदिएपछि निर्माणको काम अधुरै रहेको वडाध्यक्ष मगरले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »