गाइने जोगिरा (फागु गीत) लोप हुने स्थितिमा

प्रकाशित समय 2:22:00 AM
गोपालप्रसाद बराल
बर्दिवास, १३ फागुन ।
‘किनका के हाथ कनक पिचकारी, 
किनका के हाथ अबीर झोरी ? 
रामजी के हाथ में कनक पिचकारी, 
सियाजी के हाथ अबीर झोरी...!! जोगिरा..सररर..!! 
(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् ।
बसन्त पञ्चमी (श्रीपञ्चमी) कै दिनदेखि अबीर खेल्न शुरु गर्दै फागुन पूर्णिमासम्म दिनदिनै प्रत्येक रात डम्फू बजाएर समूहमा गाइने जोगिरा अब मिथिला क्षेत्रमा सुन्न छाडिएको हो । जोगिरा गाउने पुराना पुस्ताका मरिसकेका र केही वृद्ध भएसँगै नयाँ पुस्ताले यसबारे चासो राख्न छाडेपछि अब मिथिलामा जोगिराको डम्फू बज्न छाडेको हो ।
  ‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्..! वर्षौंदेखि  जोगिरा गाउँदै आएका भंगाहा–४ का लाली महतोले भने–, ‘मेरा समूहका धेरै साथी मरे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रउस छ, तर साथ दिने कोही छैनन् । बसंन्तपञ्चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) अब सुनिन  छाडेपछि  महोत्तरीसहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।
तिथिमिति सम्झना नराख्नेका लागि पनि होली शुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन) का तालमा सुनिने जोगिरा गीत गाइने परम्परा एक दशकयता सुन्न छाडिएको छ । आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिविम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको महोत्तरी बर्दिवास–१४ का ७५ वर्षीय दुखी महतो बताउछ ।
संस्कृतिको सम्झनामात्र नभई त्योप्रतिको समर्पणभाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने रउस र अबीर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको छ । “होली आएको पत्तै हुँदैन” बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतो खिन्न हुँदै भन्छ–, “टोलटोल बस्तीबस्तीमा प्रत्येक रातजसो गुञ्जिने जोगिरा अब सुनिन छाडिएका छन् ।” अब नयाँ पुस्ताले पुराना संस्कृति बिर्सदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आइपुग्ने महतोको चिन्ता छ ।
    ‘कोन तालपर डम्फू बाजे, 
कोन ताल मृदङ्ग, 
कोन तालपर गोरिया नाचे,
कोन तालपर हम..!! जोगिरा सरररररररर..!!
(डम्फू कुन तालमा बज्छ, मादल कुन तालमा बज्छ ? अनि गोरी कुन तालमा र म कुन तालमा नाच्छु ?) होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।
‘हे डम्फाके चोट महलबीच पहुँचय,
सुतली गोरिया चहक् उठय.. अही फागुन में ! जोगिरा..सरररर !!
(जब डम्फूको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन्..फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली–भिनाजु, देवर–भाउजु, सोल्टा–सोल्टी) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले फागु खेल्न आउन चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको  महोत्तरीकै एकडारा गाउँपालिका भटौलियाका विजयकुमार कर्ण बताउछ ।
सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गरे ।
ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन ।
‘कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा,
कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर...!!
(कति हातको धोती लाउँछाँै ? तिमीले लाउने धोतीको कति हात लपेटा छ ? कतिवटा खोलाको पानी खाएका छाँै, कतिवटा बाबुको छोरा हाँै ?) एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव होलीको जोगिराबाहेक अरु बेला कल्पना पनि सकिन्न ।
जोगिरामा कामोत्सव भाव, बीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमंग एकसाथ भेट्टाइने भाव हुने मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउछ ।
राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखिएपनि संस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बुढापाकाले टिप्पणी गर्ने गरेका छन् । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिएमात्र मिथिला संस्कृति र सभ्यताको पहिचान झन चहकिलो हुँदै जाने शिक्षण पेशाबाट अवकास लिएका महोत्तरी भंगाहा–७ मेघनाथ गोरहन्नाका ६२ वर्षीय चन्द्रनारायण चौधरी (थारु) ले आश संगालिएको छ ।
होली पर्व आउन पाँच÷छ दिनमात्र बाँकी रहेका बेला महोत्तरीमा जोगिरा हराउँदै गएकोबारे सर्वसाधारणले पनि चासो बढाएका छन् । श्रीपञ्चमीदेखि नै डम्फूको तालमा राति अबेरसम्म बस्ती÷ बस्तीमा गुञ्जिने जोगिरा सुन्न नपाउँदा होली नजिकिएको भान नै नहुने महोत्तरीकै औरही नगरपालिका भोइलका ७० वर्षीय मोहन महतोले बताए ।
मिथिलाञ्चलमा बसन्त पञ्चमीदेखि  होली गीत (जोगिरा) शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका –९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व मनाइन थालिने परम्परा छ । अघि त्रेता युगमा राम–सीता वनविहार गर्दै डुल्दा फागुन शुक्ल सप्तमीका दिन सो ठाउँ पुग्दा लुकामारी खेल्दै एकापसमा रङ अबीर खेलेका सम्झनामा माध्यमि की परिक्रमा यहाँ आइपुगेका दिन होली पर्वको रङ अबीरको खेल शुरु गर्ने परम्परा बसेको सोही बस्तीका बासिन्दा अहिले जनकपुर स्थित अग्नीकुण्ड मठका महन्त नवलकिशोर दास वैष्णव बताउछ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »