सीमामा छैनन् राज्यका सुविधा

प्रकाशित समय 8:06:00 PM
मिथिलेश यादव
लहान, ४ फागुन । सीमा क्षेत्रमा ठूलो जनसंख्या बसोबास गरे पनि राज्यका तर्फबाट भने न्यूनतम सेवासुविधा प्रदान गरिएको छैन । प्रायः नाका क्षेत्रमा प्राथमिक तहभन्दा माथिका विद्यालय तथा भरपर्दो उपचार सेवा पाउने स्वास्थ्य संस्था छैनन् ।
भगवानपुर गाउँपालिकाको सीमावर्ती ठाढीका स्थानीय विद्युत महसुल बुझाउन लहान धाउनुपर्छ । ठाढीबाट १८ किलोमिटर टाढा लहान आउन महसुल रकमभन्दा बढी रकम बस भाडामै खर्च हुने स्थानीयको गुनासो छ । बस भाडा, रिक्सा भाडा गरी २ सय रुपैयाँ खर्च हुन्छ स्थानीय शिवशंकर साहले भने । ८० रुपैयाँ महसुल बुझाउन २ सय रुपैयाँ अतिरिक्त खर्च बेहोर्न बाध्य छौं, उनले भने । महसुल बुझ्ने काउण्टर राखिदिन पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनले भने ।
यस क्षेत्रमा राम्रा स्वास्थ्य चौकी पनि नभएको स्थानीय बताउँछन् । ‘समान्य रुघाखोकीको उपचारका लागि पनि यहाँका स्थानीयलाई पारिकै भर पर्नुपर्छ । यहाँबाट ५ किलोमिटर उत्तर भगवानपुरमा प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, उपचारका लागि चाहिने दक्ष जनशक्ति र औषधि उपलब्ध नहुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य सेवा पाउन हैरानी खप्नुपर्ने बाध्यता सुनाउँछन् । यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य उपचारका लागि दुई विकल्प छ –कि पारि जाने कि लहान ।
बैंक नहुँदा सास्ती  भारतीय सीमासँग जोडिएको व्यापारिक नाका हो ठाढी । यो नाका भएर व्यापार फस्टाउँदो छ । तर, यहाँको बजार सुनसान छ । यसको एउटा कारण हो  बैंकिङ सुविधा नहुनु । यहाँ बैंक नहुँदा व्यापारी र स्थानीयवासीलाई सास्ती छ ।
सशस्त्र द्वन्द्वका बेला (१७ वर्षअगाडि) सीमावर्ती बजार ठाडीमा भएका नेपाल बैंकका शाखा हटाइयो । त्योबेला हटाइएको बैंक अझै पुनस्र्थापना भएको छैन । बैंक पुर्नस्थापना नहुँदा यस भेगका स्थानीय भारत र २० किलोमिटर टाढाका नेपाली बजारका बैंकमा कारोबार गर्न बाध्य छन् ।
द्वन्द्वका बेला असुरक्षाका कारण ग्रामीण क्षेत्रबाट प्रहरी चौकी विस्थापित हुन थालेपछि २०५८ सालताका ठाडी नेपाल बैंकको शाखा कार्यालय प्रहरी चौकी र भन्सार कार्यालय बिस्थापित गरिएको स्थानीय बताउँछन् । प्रहरी चौकी र छोटी भन्सार कार्यालय पुर्नस्थापना भए पनि बैंक स्थापना भएको  छैन ।
ठाडीस्थित भन्सार कार्यालयका प्रमुख हिमालय दाहालका अनुसार, बैंक नहुँदा संकलन भएका राजस्व जम्मा गर्न हुलाकी मार्ग हुँदै १५ किलोमिटर टाढा मूल भन्सार कार्यालय माडर पुग्नुपर्छ । सुरक्षाकर्मी लिएर मूल भन्सार कार्यालयमा रकम जम्मा गर्दै आएको उनले बताए । बैंक स्थापना भइदिएको भए सहज हुन्थ्यो । भन्सारले मूल भन्सार कार्यालयमा सुरक्षा पहराम रकम जम्मा गर्दै आए पनि सर्वसाधारण सीमावर्ती भारतीय बैंकमा वित्तीय कारोबार गर्न बाध्य छन् ।
यो सास्ती सीमावर्ती ठाढीवासी को मात्र नभई माडरवासीको पनि हो । यहाँपनि द्वन्द्वका बेला विस्थापित भएको बैंक पुर्नस्थापना हुन सकेको छैन । ठाढीका व्यपारी दिलीप गुप्ता भन्छन, ‘बैंक नहुँदा व्यपारमा लगानी थप्न सकिएको छैन । लहानका बैंकले यहाँको व्यपारमा लगानी गर्न हचकिन्छ । ‘यहीं बैंक भइदिए व्यपारमा लगानी बढ्थ्यो । व्यपार फस्टाउँथ्यो । मानिसले रोजगार पाउँथे । यही नाकाबाट व्यपार गरेर बाहिरका बजार गुल्जार भए । तर, यो सहर लगानी अभावले उराठलाग्दो बन्दै छ, उनले भने ।
छैन गुणस्तरीय शिक्षा आधारभूत विद्यालय ठाढी, विश्वासपट्टीमा प्रायः ताला झुन्डिएको हुन्छ । शिक्षक निर्धक्क भन्छन, ‘यहाँ विद्यालय भवन छ, विद्यार्थी छैनन् । हाजिरी रजिस्टरमा मात्र विद्यार्थी छन, कक्षामा उपस्थिति हुँदैन । हाजिरी रजिस्टरमा अभिलेख भएका विद्यार्थी सबै सीमापारि (लौकाहा) को विद्यालयमा पढ्न जाने गरेको र उनीहरूको अभिलेख आफूहरुले राखेको यस विद्यालयका शिक्षकहरु बताउँछन् । विद्यालयको अभिलेखअनुसार विद्यार्थीको संख्या ४ सय विद्यार्थी छन् । तर, दैनिक चारजना पनि उपस्थित हुँदैनन् ।
ठाढीका स्थानीय धर्मनाथ गुप्ता भारतीय विद्यालयमा छोराछोरी पढ्न पठाउनु रहर नभई बाध्यता भएको बताउँछन् । ‘गाउँको विद्यालयको पढाइ राम्रो बनाउन हामीले धेरै प्रयास ग¥यौं तर राजनीतिको अगाडि हाम्रो केही चलेन,’ उनले सुनाए ।
जबसम्म नेताहरूले असल मनसायले प्रयास थाल्दैनन् तबसम्म यहाँको शैक्षिक अवस्थामा सुधार हुन मुस्किल हुने उनी बताउँछन् । ‘नियमनकारीदेखि कारबाही गर्ने निकाय सबैले नेताका कुरा सुन्छन, नेताजति सबै शिक्षकका संरक्षक छन् । हाम्रो गुनासोको वजनभन्दा नेताका कुराको वजन भारी हुँदोरहेछ अनि यो विद्यालयको शैक्षिकस्तर कसरी माथि उठ्छ, उनी भन्छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »