तराई–मधेसबाट लोप हु“दै ‘जोगिरा सररर...’

प्रकाशित समय 8:56:00 PM
रामबाबु यादब
सिरहा, १८ फागुन ।
‘‘जोगिरा सररर ...’
कौन तालपर ढोलक बाजे, कौन ताल मृद·,
कौन तालपर गौरिया नाचे, कौन तालपर हम,
“जोगिरा सररर ...’
तराई–मधेसमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘‘जोगिरा सररर’ लोप हुँदै गएको छ । यो मौलिक गीत मधेसका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो तर आधुनिक आगन्तुक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ । फागु आउन १५ दिनअघिदेखि सिरहासहित तराई–मधेसमा गुन्जिने गीतहरू अहिले सुनिन छाडेका छन् ।
एक दशकअघिसम्म फागु पूर्णिमा वा होलीमा गुन्जिने गरेको ‘जोगिरा सरर’ लगायतका गीतसँगै होलीको परम्परागत मौलिकता हराउँदै गएको छ । तराईबाट चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र संगीत लोप हुँदै गएका छन् । अवधी, भोजपुरी समुदायमा बजाइने ढोलक, हरमुनिया, तबलालगायतका बाजा र होलीमा गाइने परम्परागत गीतहरू पछिल्ला पुस्ताले छाड्दै गएका छन् ।
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत ग्रामीण क्षेत्रबाट हराउन थालेकामा सिरहाको बरियापट्टी गाउँपालिका–१ कचनारीका ५० वर्षका रिताय यादबले चिन्तित छन् । उनी भन्छन, ‘पहिले गाउँगाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भइसकेको गीतमार्फत जनाउ दिने गर्थे तर अब न त ढोल, मृद· नै बजाउन पाइयो, न फागु गीत नै गाउन पाइयो । परापूर्वकालदेखि ग्रामीण क्षेत्रमा रहेको दलान संस्कृति हराउँदै गएकाले होलीमा गाइने फागु गीत लोपोन्मुख अवस्थामा पुगेको हो ।
पुरानो सामाजिक संरचना ध्वस्त भई यसको स्थानमा आधुनिकता र यान्त्रीकीकरण हावी हुँदा फागु गीत लोपोन्मुख अवस्थामा पुगेको हो, अवधी भाषाका साहित्यकार पशुपतिमणि त्रिपाठीले भने, ‘वैदेशिक रोजगार र आधुनिक शिक्षाका लागि ग्रामीण क्षेत्रबाट लाखौँको संख्यामा युवा विस्थापित भएर यस्तो समस्या आएको हो । सांस्कृतिक पर्व होली आउन दुई साता बाँकी हुँदै साथीभाइहरू मिलेर गीतरसंगीत, कविता, हास्यव्यंग्यका कार्यक्रम गरी मनाइथ्यो तर अहिले भने ती सबै कुरा सपना जस्तो लाग्न थालेको उनको भनाइ छ । होली आउन १५ दिन अगावै पण्डितहरूले विधिवत् रूपमा पूजापाठ गरी सुरुवात गरिन्थ्यो । गाउँगाउँका युवाहरूले घरघरबाट गुइँठा (गोबर) संकलन गरी राती बालेर गीत गाउने चलन थियो । होलीको एक दिनअघि ठाउँठाउँबाट चोरिएका दाउरा राती बालेर होलिकाको दहन गर्ने चलन रहेको अवधी संस्कृतिका जानकार ब्रहमदेव यादबले बताए । होलीको दिन त्यही खरानी पोत्ने र बिहान नुहाउने गर्दथे । बिहान नौ बजेपछि एकआपसमा शुभकामना साटासाट गरी रङ लगाएर रमाइलो गरी खेलिने होलीको अहिले भने त्यो मौलिकता हराउँदै गएको यादबको भनाइ छ । उनले भने, ‘मूल संस्कृतिको मर्मलाई विकासको प्रक्रियासँगै बढाउन सकिएन । त्यसले अहिले क्रमशः अवध (तराई–मधेस)बाट परम्परागत संस्कृतिहरू विलीन हुँदै गएका छन् । पाँचरछ दशकयता सामाजिक आन्दोलनसमेत नभएकाले अवधका मौलिकता हराउँदै गएको उनको भनाइ छ ।
अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण बन्दै गएको छ । भाङको ठाउँमा मदिरा, प्रेम सद्भावको ठाउँमा द्वेष देखापरेकाले जोगिरा गीत पनि प्रभावित भई रङविनाको होली र माधुर्यविनाको जोगिरा हुन गएको छ । फागु पूर्णिमाको पहिलो दिन अर्थात् चतुर्दशीको रात होलिकालाई निर्जन स्थानमा लगी गाउँका मानिस त्यहाँ भेला भएर मृद·, ढोल बजाई होलिका दहन गर्ने परम्परा रहिआएको छ ।
अहिले शहर बजार तथा ग्रामीण क्षेत्रमा होली गीत जोगिरा सम्बन्धी अश्लील शब्द मिश्रित भोजपुरी गीति एल्बम छ्याप्छ्याप्ती पाउनाले पनि जोगिरा संस्कृतिमाथि मार परेको छ । परापूर्वकालदेखि चलिआएको मौलिक जोगिरा गीतमा पाइने मिठास आधुनिक गीतहरूमा नभेटिने बूढापाकाहरू बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »