डेढ करोडमा पोखरीको जीर्णोद्धार

प्रकाशित समय 7:13:00 PM
सन्तोष यादव
सिरहा, २६ फागुन । लक्ष्मीपुर–पतारी गाउँपालिकास्थित ऐतिहासिक महत्वको पतारी पोखरीको जीर्णोद्धार सुरु भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४ र ७५ को प्रथम गाउँसभाबाट डेढ करोड रुपैयाँ बजेट विनियोजन गरी पोखरीको जीर्णोद्धार सुरु गरेको हो ।
पर्यटकीय स्थलका रूपमा घोषणा भइसकेको यो पोखरीको अवशेष मात्र बाँकी थियो, गाउँपालिका अध्यक्ष रामबल्लभ साहले भने, ‘त्यसैले पोखरीको जीर्णोद्धारमा जोड दिएका छौं । उनका अनुसार पानी सुकाएर जीर्णोद्धारको काम सुरु भइसकेको छ । पोखरीको बीचमा बाबा हरसिंह देवको मन्दिर बनाउने योजना छ । ‘जीर्णोद्धारपछि देशरविदेशमा पोखरीको ऐतिहासिक महत्वबारे व्यापक प्रचार गरी बाह्य पर्यटक आउने माहोल बनाउने योजना छ, उनले भने ।
यो पोखरी पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ । राजमार्गबाट पोखरी पुग्ने बाटो पनि जीर्ण छ । ‘पर्यटकीय स्थलका रूपमा विकास गर्न बाटोसमेत कालोपत्रे गर्न जरुरी छ, स्थानीय वीरेन्द्र यादवले भने, ‘यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुगोस् । पोखरीको महत्व बुझेकाहरू पनि बाटो जीर्ण भएकै कारण आउन नसकेको उनको गुनासो छ ।
पोखरीमा हरेक वर्ष वैशाख २ गते मेला लाग्छ । दक्षिण डिलमा रहेको राजा हरसिंह देवको मन्दिरमा पूजापाठपछि अक्षता लिएर सीधै पोखरीमा सयौं महिला एकसाथ हाम फाल्छन् । पहिलो डुबुल्कीमै कुनै पनि जीव भेटिए सन्तान हुने जनविश्वास छ ।
स्थानीयवासी पोखरीकै पानी भान्सामा प्रयोग गर्थे । कल र इनारका पानीमा भात पकाउँदा रातो हुने तर पोखरीको पानी फोहोर जस्तो देखिए पनि सफा हुने स्थानीय बताउँछन् । पतारी पकडिया का राजा कुलेसरका कान्छा भाइ हरिसिंह देवको निवास स्थल रहेको लोकनायक सलहेस गाथामा पोखरीबारे उल्लेख छ । यो पोखरी सलहेसकै बेला विसं १३२५ देखि अस्तित्वमा आएको मानिन्छ ।अन्नपूर्णाबाट साभार

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »