आ“पको उत्पादन बढ्ने

प्रकाशित समय 8:25:00 PM
कमलेश यादब
सिरहा, २९ फागुन । आँप उत्पादन बढ्ने भएपछि यसवर्ष सिरहाका किसान हौसिएका छन । गत वर्षको तुलनामा आँपमा अत्यधिक मात्रामा फूल लागेपछि किसान खुसी छन ।
बर्सेनि २ बिघा १० कठ्ठा जग्गामा आँप खेती गर्दै आएका सिरहा मल्हनवाका कृषक मिश्रि यादवले गतवर्ष उत्पादनमा गिरावट आएपछि डेढ लाख रुपैयाँको मात्रै आँप बिक्री गर्न पाएको बताएरु। तर यस वर्ष आँपको बोटमा फूल (मजर) राम्रो लागेकाले उत्पादन बढी हुने आशामा उनी छन ।
‘मौसमले साथ दियो भने गतवर्षभन्दा तीनगुना आँप उत्पादन हुन्छ, उनले भने, ‘यस वर्षको आँप उत्पादनले गतवर्षको घाटा पूरा गर्लाजस्तो छ । हावाहुरी र असिनाबाट आँपको बोटलाई क्षति नहोस् भनेर पानी र औषधि छर्कन सुरु गरेकोउनले सुनाए ।
उत्पादन राम्रो हुने संकेत पाएपछि बगैंचा नै किन्न व्यापारी आउन थालेका छन । लहान नगर पालिका–२४ का लालबहादुर महतो कोइरीले ४ बिघामा आँप खेती गरेका छन । गतवर्ष आँप व्यापारी रामा साफीलाई २ लाख रुपैयाँमै बेच्न बाध्य उनले यो वर्ष राम्रो उत्पादन हुने लक्षण देखेपछि भाउ बढाएका छन । ‘फूल फुलेकै बेलादेखि बोट हेरेर व्यापारी आँप ठेक्का लिन आउन थालेका छन, उनले भने, ‘यसवर्ष उत्पादन हेरेर मात्र बेच्ने तयारीमा छु । उनका अनुसार गतवर्ष आँप उत्पादन कमी हुँदा बजार भाउ महँगिएको थियो । तर यसवर्ष आँप उत्पादन बढ्ने भएपछि मूल्यमा गिरावट हुन सक्ने भन्दै व्यापारीले बढी मूल्य दिनखोजेका छैनन ।
सिरहाका कृषकले मालदह, बम्बई, दशहरी, कलकतिया लगायत जातका आँप उत्पादन गर्छन । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार गतवर्ष सिरहामा कृषकले ५ हजार हेक्टरमा आँप खेती गरेका थिए । त्यसबाट २० हजार मेट्रिक टन मात्र विभिन्न जातका आँप उत्पादन भएको थियो । उत्पादनमा कमी आएकै कारण बजारमा प्रतिकिलो ७० देखि सय रुपैयाँसम्ममा बिक्री भएको थियो ।
त्यत्तिखेर सिरहामा उत्पादित आँप स्थानीय बजारमै खपत हुँदा नारायणघाट, पोखरा र काठमाडौं न्यून मात्रामा पुगेको थियो । ‘यसवर्ष आँप फल्ने वर्ष भएको र फूल (मजर) राम्रो लागेकाले उत्पादन तेब्बर हुने सम्भावना छ, जिल्ला कृषि विकास कार्यालय योजना शाखाका प्राविधिक भोगेन्द्र यादवले भने, ‘मौसम अनुकूल भएमा यसवर्ष जिल्लामा ६० हजार मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुन सक्छ । यसवर्ष सिरहामा ५ हजार ६ सय ६० हेक्टर जग्गामा कृषकहरूले आँप खेती गरेका छन ।
उत्पादन नै बिक्री आकासे पानीको भरमा खेतीपाती गर्नुपर्ने र सुख्खा जमिनमा अन्य बाली नफस्टाउने भएकाले सिरहाका अधिकांश कृषक व्यावसायिक आँप खेतीतर्फ आकर्षित भएका छन । झन्झट कम र उत्पादन बिक्री गर्न सहज हुने भएकाले पनि कृषकहरू आँप उत्पादनमा आकर्षित भएका हुन । लालपुरका असर्फी महतोले १ विघा ५ कठ्ठा जग्गामा आँप खेती गर्छन । तर उनले आँपको उत्पादन प्रत्येक वर्ष ६० हजार रुपैयाँ लिने गरी व्यापारीलाई चार वर्षका लागि बिक्री गरिसकेका छन । ‘बगैंचा बिक्री गरेको होइन, उनले भने, ‘उत्पादन बिक्री गरेको हुँ, फले पनि नफले पनि आम्दानी नहोला भन्ने चिन्ता छैन ।
अर्का कृषक धर्मनाथ साहले पनि ६ बिघामा लगाएको आँप बगैचाको उत्पादन प्रत्येक वर्ष १ लाख २५ हजार रुपैयाँ लिने गरी व्यापारीलाई ५ वर्षको ठेक्का दिएका छन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »