मुख्यमन्त्रीको चर्पी योजनाले विपन्नको जिन्दगीमा थपियो ऋणको भारी

प्रकाशित समय 10:01:00 PM
मिथिलेश यादव
सिरहा, १४ चैत्र । लहान–१ कि रेवती सदायको छाप्रो अगाडि शौचालय बनाउन प्रयोग हुने रिङ राखिएको छ । तीन महिना अगाडि उनले तीन हजार ऋण लिएर उक्त रिङ खरिद गरेकी हुन। अहिले उनलाई शौचालय बनाउन थप ऋणको पिरलो छ । तर, सुकुम्बासी उनलाई साहुले थप ऋण पत्याइरहेको छैन् ।
रेवती दुई छोरीसहित ऐलानी जमिनमा छाप्रो हालेर ओत लागेकी छिन् । घाम पानी छल्न हालेको छाप्रोमा बस्ने हाम्रो जिन्दगीको भर मजदुरी नै हो उनले भनिन् । पत्ती सञ्जय लहान बजारमा कुलीको काम गर्छन् । मजदुरीबाट कमाएको पैसाले दैनिक खर्च धान्नै मुस्किल छ उनलाई । सानो बच्चा छ बिरामी परिरहन्छ । उनले भनिन,‘बिरामी पर्दा उपचारमा लाग्ने खर्चका लागि पनि साहु महाजन गुहार्नुपर्छ । कारण मजदुरीको कमाई कति नै हुन्छ र दुईचार सय त हो नी उनले भनिन,‘त्यो पनि सधैँ हुन्न ।
पछिल्लो समय मुख्यमन्त्रीले प्रत्येक घरमा शौचालय हुनुपर्ने बताएपछि शौचालय नबनाउने लाई सुरक्षाकर्मीमार्फत पक्राउ गर्न थालेको छ । जसले यो समुदायका विपन्नको दैनिकी झन सकसपूर्ण बनाएको छ । ‘खानलाई पैसा छ शौचालय बनाउन छैन भन्दै हाकिमहरू हप्काउँछन, ‘ऋणमा जिन्दगी धान्ने हामी सुकुम्वासी लाई शौचालयले थप ऋणको बोझ बोकाइदियो । जति गर्दापनि १० हजारभन्दा घटी खर्चमा लाग्दैन उनले भनिन,‘यति धेरै पैंसाका लागि साहुमहाजनसँग ऋण नलिई धरै छैन् । उनले पीडा थपिन, ‘केही नहुने सुकुम्बासीलाई यति धेरै रकम साहुमहाजनले पनि हतपती पत्याउँदैन ।
यही टोलकी मञ्जु सदायको पीडा पनि कम्ता दर्दनाक छैन् । महिनादिन देखि उनी छिमेकको छाप्रोमा आश्रय लिएर बसेकी छिन् । सुकुम्बासी उनको ओत लाग्ने छाप्रो समान्य हावाले हल्लिएर ढल्यो । ढलेको छाप्रो ठड्याउन हम्मे परेको बेला शौचालय बनाउने पिरोले उनलाई बेचैन बनाएको छ । घामपानी छल्ने छाप्रो ठड्याउन नसकेको बेला शौचालय बनाउने रुपैयाँको जोहोले उनलाई हैरान बनाएको छ । साहुमहाजनसँग पनि कतीपटक माग्नु उनले भनिन, ‘छाप्रो बनाउन ऋण लिएकै थिएँ, शौचालयका लागि फेरि कसरी माग्नु?
सिरहा नगरपालिका पासवान टोलकी मिना पासवान ऋणको थप भारले थलिएकी छिन् । पहिलाको ऋण छँदै थियो शौचालय बनाउन थप ऋण बोक्नुपर्यो उनले भनिन,‘सुकुम्बासी हाम्रो जिन्दगी धान्ने सहारा साहुमहाजनको घरखेतमा मजदुरी हो । सधैं काम पनि पाइदैन उनले भनिन,‘तीन महिनाको मजदुरीबाट १२ महिना जिन्दगी धान्नुपर्छ । बिरामी पर्दा लाग्ने चर्को खर्चका लागि पनि साहुमहाजन गुहार्नुपर्ने हामी गरिबलाई शौचालयले थप ऋणको बोझ बोकायो, उनले भनिन् ।
सुकुम्बासी यी महिलाहरुको खुल्ला दिसामुक्त अभियानले थपेको आर्थिक भारको पीडासँगै चुलो र सुत्ने ओछ्यानसँगै टाँसिएर बनाउनुपरेको चर्पीले अत्यास थपेको छ । सुकुम्वासी उनीहरुसँग प्रायः सुत्ने छाप्रो छटाउने जमिन भन्दा बढी क्षेत्र जमिन हुन्न । छाप्रोभित्र सुत्ने र बरन्डामा भान्सा गर्ने प्रायःसुकुम्बासीहरुलाई भान्सा(चुलो) टसाएरै चर्पी बनाउन लगाइएको छ । चुलो र चर्पीसँगै हुँदा उनीहरुको दैनिकी सकसपूर्ण बनेको छ । एकातिर साहुमहाजनसँग लिएको ऋृणको भारी त्यसमाथि चुलो टसाएर बनाएको चर्पीमा शौच गर्नुपर्ने बाध्यताले उनीहरु पिरोलिएका छन् ।
हाम्रो सुकुम्वासी बस्तीमा सामुदायीक शौचालय बनाइदिएको भए हुन्थ्यो धनगडीमाई नगरपालिका ३ हनुमाननगरकी सुकनी सदायको धारणा छ । दिनदिनै प्रहरीबाट पक्राउ खाएर हजारहजार रुपैयाँ जरिवाना बुझाउनु भन्दा ऋणै लिएर पनि शौचालय बनाउने उनले निधो गरिन। सुकुम्बासी उनलाई छाप्रो पछाडिको जग्गाधनीले चर्पीका लागि खाल्डो नै खन्न दिएनन् । उनीसँग एउटै विकल्प छ सुत्न बनाएको साँघुरो छाप्रोभित्र चर्पी बनाउनु । उनले पीडा पोखिन,‘सुत्ने ठाउँमा कसरी चर्पी बनाउनु ।
चुलोसँगै टसाएर चर्पी बनाउन लगाएपनि प्रयोग नगर्ने विपन्नहरूको एउटै प्रश्न छ बाहिर दिसा गरे रोग फैलिन्छ भन्ने हाकिमले चुलोसँग जोडेर चर्पी बनाउन लगाउनु स्वास्थ्यमैत्री हो ?

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »