लक्ष्य अनुसार धान खरीद हुन सकेन

प्रकाशित समय 7:07:00 PM
रामबाबु यादब
सिरहा, २२ फागुन । बजार मूल्यअनुसार दररेट निर्धारण हुन नसक्दा लहानस्थित नेपाल खाद्य सँस्थानको सगरमाथा अञ्चल कार्यालयले लक्ष्य अनुसार धान खरीद गर्न सकेको छैन ।
नेपाल खाद्य सँस्थान लहानले दुई पटक धानको खरीद मूल्यको दररेट निर्धारण गरे पनि लक्ष्य अनुसारको धान खरीद गर्न सकेको छैन । सँस्थानले यस वर्ष ८० हजार क्विन्टल धान खरीद गर्नुपर्ने लक्ष्य निर्धारण गरे पनि अहिलेसम्म २१ हजार ८७८ क्विन्टल मात्र धान खरीद गरेको छ ।
सँस्थानले पहिलो पटक पुस २६ गते प्रति क्विन्टल दुई हजार ३७५ रुपियाँ र दोश्रो पटक माघ २९ गते प्रति क्विन्टल दुई हजार ५१५ रुपियाँ धानको खरीद मूल्यको दररेट निर्धारण गरेको थियो । सँस्थानको खरीद दरको प्रतिस्पर्धामा बजारका निजी व्यापारीले दुई हजार पाँच सय र दुई हजार ५५० रुपियाँ धानको खरीद मूल्य निर्धारण गरेका थिए ।
हाम्रो खरीद मूल्यभन्दा बजारमा रहेका व्यापारीले धानको मूल्य बढी दिने भएकोले हामीनिर किसान आउन नमानेका हुन्, नेपाल खाद्य सँस्थान लहानका प्रमुख लालमोहन ठाकुरले भने, बजार मूल्यले खरीद कार्यमै प्रत्यक्ष प्रभावित गरेको हुनाले हामीले दोश्रो पटक खरीदको दररेट बढाएका हौं ।
यता, खाद्य सँस्थानसँगै व्यवसायिक प्रतिस्पर्धा गर्नुपरेको हुनाले आफूहरुले धानको खरीद मूल्य बढाउनुपरेको स्थानीय धान व्यवसायीहरुले बताउदै आएका छन् । किसानहरुलाई आकर्षित गर्न हामीले सुरुमा खाद्य सँस्थानभन्दा राम्रो दररेट किसानलाई दियौ, लहान–१२ स्थित फुलवारी चोकका धानचामलका खरीदकर्ता प्रमोद साहले भने, तर पछि सँस्थानले पुनः दररेट बढाएपछि हामीले पनि खरीद मूल्य बढाउनुप¥यो ।
पछिल्लो समयमा सँस्थानले व्यवसायिक रुपमै धानको खरीद मूल्यमा प्रतिस्पर्धा गर्न थालेपछि आफूहरुले धान खरीदका लागि गाउँगाउँमा विक्री केन्द्र राखेको जानकारी साहले दिनुभयो । सरकारी सँस्थान र निजी व्यवसायीबीच धान खरीदका लागि मूल्यको प्रतिस्पर्धा हुँदा भने यसबाट किसानलाई फाइदैफाइदा पुगेको छ ।
पहिले सँस्थानमा धान खरीद नहुँदा व्यापारीले मनलाग्दो तरिकाबाट धानको खरीद मूल्य निर्धारण गर्दथे जसबाट किसानलाई लागत मूल्य पनि उठ्न गा¥हो पर्दथ्यो, माडरका युवा कृषक रामबाबु यादवले भने, अचेल त व्यापारी धान खरीद गर्न गाउँगाउँमै घरघरमा पुग्न थालेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »