शिवराज भट्ट
कैलाली, २९ फागुन । ‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन् । राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले । त्यसपछि झारफुक सुरु भयो, उनकी ‘पार्वती अथवा सुखड गाउँकी स्मारिका चौधरीबाट । तिम्रो बिहेमा मैले पेन्टी उपहार दिएकी थिएँ, तिमीलाई थाहा छ कि छैन ? हेर त तिम्रो पेन्टी फोहोर भएको छ–स्मारिकाले झारफुक गरेझैं गरेर भनिन् । ती महिलाले लजाउँदै खचाखच मान्छेबीच सलवार खोलिन् र पेन्टी देखाइन् । त्यहाँ भएका सबैले ताली पिटे, राधामाथि कुटपिट हुनुभन्दा केही दिन अघिको एउटा घटना सुनाउँदै स्थानीय युवती रेनुका बोहराले भनिन् ।
रेनुकाले ती महिलामाथि अत्याचार भइरहेको लागे पनि त्यहाँ विरोधमा कसैले केही नबोल्दा चुपचाप सहनु परेको बताइन् । ‘आँगनमा भीडभाड देखे म पनि हेर्न जान्थेँ तर हरेक दिन झारफुकमा २५ वर्ष मुनिका युवती धेरै देखिन्थे, उनले भनिन् । रामबहादुरलाई नजिकबाट चिन्नेहरूका अनुसार उनी पहिलेदेखि नै युवतीप्रति अत्यधिक आसक्त हुने गर्थे ।
झारफुक गर्दा बिरामी युवतीले म पार्वती हुँ नभनुन्जेलसम्म रामबहादुरले पिट्थे । पिट्दापिट्दै कुनै युवतीले म पार्वती हँु भनेपछि मात्र उनको उपचार सुरु हुन्थ्यो, स्थानीय गीता धामीले भनिन् । भोलेबाबा उर्फ रामबहादुरले ती युवतीको उपचार गर्न १५ दिन समय माग्थे । ‘१५ दिन युवती भोलेबाबाको घरमा आइरहनुपर्ने, दैनिक झारफुक गर्नैपर्ने भएकाले उसले युवतीलाई बढी सताउने पुष्टि हुन्छ, उनले भनिन् ।
स्थानीय वीरबहादुर चौधरीका छोरा कंशराजको दुई वर्षअघि कतारमा मृत्यु भयो । विधवा राधा चौधरी पतिवियोगमा थिइन् तर भोलेबाबाले उनलाई कालो बिरालोको रूप धारण गरी कंशराजलाई कतारमै मारेको आरोप लगाउँदै बोक्सी भनेको प्रत्यक्षदर्शीले बताए । ‘एकातिर विदेशमा पतिको मृत्यु भएको छ, यता भोलेबाबाले कालो बिरालो भएर कतारमा पतिलाई खाएको भन्दै बोक्सीको आरोप लगाउँदा राधाको के हालत भयो होला, एमालेका स्थानीय नेता खेम सापकोटाले भने ।
पार्वती बुढा घोडाघोडी नगरपालिका–५ देउकलिया स्थित राष्ट्रिय माविमा १० कक्षामा अध्ययन गर्छिन् । उनी भूतप्रेतमा विश्वास गर्दिनन् । गाउँका एक युवाले भोलेबाबाको ढोंग रचेर युवतीलाई ‘टार्गेट बनाएको उनलाई एकरत्ति मन परेको थिएन । ‘गाउँकै चिनेको मान्छे, तपाईंले गरिरहेको काम ठीक होइन भनेको त मेरो ढाडमा दुई÷तीन पल्ट हिर्कायो र म भागेँ, उनले भनिन, ‘तँ मलाई विश्वास नगर्ने ? मलाई विश्वास नगर्नेलाई म नास गरिदिन्छु भनेर धम्कायो ।
युवती बिरामी भएर आउँदा भोलेबाबा उर्फ रामबहादुर खुसी हुने गरेको स्थानीयले बताए । स्थानीय एक जना शिक्षकका बुवा ६५ बर्से जीतबहादुर डगौरा उपचार गराउन उनकोमा जाँदा गालामा तातो त्रिशूलले डामेर पोलिदिएको स्थानीय बताउँछन् । स्थानीयले वृद्धलाई पोलेको भन्दै विरोध पनि गरे तर त्यसपछि डगौरा उपचार गराउन गएनन् । ‘युवती आए १५ दिन उपचार गर्छु, झारफुक गर्छु भन्ने तर वृद्धवृद्धा आए यसरी डढाउने कामले पनि उनको आकर्षण युवतीमै देखिन्छ, एक स्थानीय महिलाले भनिन् ।
३१ बर्से भोलेबाबा उर्फ रामबहादुर विवाहित भए पनि सन्तान छैनन् । पत्नी समीक्षालाई भोलेबाबाको जटामा बग्ने गंगा घोषणा गरेका उनले आफ्नो परिवारका सदस्यलाई समेत युवतीको उपचार गरेका बेला आउन नदिने गरेको खुलेको छ । उनले जहिले पनि २÷३ जना युवतीलाई अंगालो हालेर झारफुक गर्ने, महिलालाई बोक्सी लाग्यो भनेर आँगनमा सुताएर उनको संवेदनशील अंग छुने, चलाउने, हातले छाती थिचथाच गर्ने, कम्मरमुनिका भागमा लात्तले हान्ने गरेका भिडियोहरू पनि सार्वजनिक भएका छन् ।
प्रहरीले आइतबार भोलेबाबा उर्फ रामबहादुर र पार्वती उर्फ किस्मती चौधरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अदालतले उनीहरूलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न आदेश दिएको छ । भोलेबाबाकी अर्की पार्वती उर्फ स्मारिका चौधरीविरुद्ध पनि सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरिएको कैलालीका डीएसपी सागर बोहराले बताए ।
भोलेबाबा उर्फ रामबहादुर, किस्मती र स्मारिकाविरुद्ध राधा र अर्की एक महिलाले (नाम गोप्य राख्ने सर्तमा) बोक्सी आरोपमा अमानवीय यातना दिएको उजुरी हालेका छन्। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । अन्नपूर्णबाट सभार
