हुलाकी मार्गबाट आशावादी

प्रकाशित समय 12:11:00 AM
भरत जर्घामगर
सिरहा, ९ चैत्र । तराई–मधेसको विकासको मेरुदण्ड मानिने बहुचर्चित हुलाकी सडकअन्तर्गत सिरहा खण्डको जिरो प्वाइन्ट मानिने बरियारपट्टीमा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार शिलान्यास गरे ।
हुलाकी राजमार्गको निर्माणले स्थानीयमा आशा बढेको छ । विस १९०३ देखि २००८ सम्म राणाशासक जंगबहादुरबाट हुलाकी मार्ग निर्माणको थालनी जुद्धशम्शेर, पदम शम्शेर हुँदै विभिन्न कालखण्डमा पटकपटक शिलान्यास भए पनि अधुरो रहेकाले अझै निर्माण हुन्छ भनेमा स्थानीय सशंकित छ । सिरहाको पूर्वी बलानदेखि कमला खण्डसम्म शिलान्यास भएको हुलाकी सडकले भने स्थानीयमा खुसी थपेको छरु। हुलाकी राजमार्गबारे स्थानीयको भनाइ ।
राणाकालदेखि कै प्रतीक्षा
राशलाल यादव
बरियारपट्टी
हामीले थाहा पाउँदा हुलाकी सडक अहिलेको भन्दा धेरै चौडाइको थियो । यत्तिका बस्ती थिएनन । अहिले बस्ती बढेकाले हुलाकी मार्ग हो कि होइन भन्ने भान हुन्छ । बुबाहरूले राणाकै पालामा सडक बनेको सुनाउँथे । हामीले थाहा पाउन्जेल सडकको ठाउँठाउँ खाल्डो भइसकेको थियो । बयलगाडा हिँडाउन खाल्डो परेको ठाउँमा कठिन हुन्थ्यो । तर पनि त्यत्ति बेला यो सडक चल्तीको थियो । भारतको जयनगर धान बिक्री गर्न लैजान्थ्यौं । उताबाट नुनतेल, लत्ताकपडा लिएर आउन सजिलो थियो बयलगाडामा । त्यतिखेर सहज थियो । पछि बिग्रन थाल्यो । योभन्दा माथि १० किलोमिटर उत्तरबाट राजमार्ग बन्नथालेपछि यो जीर्ण बन्यो । पछि बयलगाडा हिँडाउनसमेत असहज भयो । राजमार्ग चल्तीमा आएपछि यो ओझेलमा प¥यो । सबैको बेवास्ता । अझै पनि यो सडकले पूर्णता पाउने म आशावादी छैन । नेताहरूको बोलीको ठेगान नै हुँदैन । बाँचुन्जेलसम्म निर्माण होला कि !
पहिलाको व्यापारिक मार्ग
लक्ष्मी यादव
बरियारपट्टी
हुलाकी राजमार्ग पहिलाको चल्तीको बाटो हो । त्यतिखेर अरू सडक नै थिएनन । यो बाटो भएर जयनगरबाट सामान ओसारपसार अत्यधिक हुन्थ्यो । त्यतिखेर यता धानको भण्डारण नै थियो भन्दा हुन्थ्यो । बिक्री गर्न जयनगर लैजानुपर्ने । यही बाटो जयनगर बयलगाडामा लैजान्थ्यौं । यो बाटो भएर जयनगर जान धेरै नजिक पथ्र्यो । पछि खाल्डाखुल्डी हुँदै बिग्रिन थालेपछि यो बाटो कम चल्न थाल्यो । अरू सडक निर्माण भए त्यसैले पनि होला । पञ्चायतदेखि बहुदलका पालासम्म नेताहरूले यो सडक बनाउँछौं भन्ने आश्वासन धेरै सुन्यौं । तर कहिल्यै पूरा भएन । चुनाव जितेपछि नेता फर्केर आएनन । यो सडक बनेन पनि । पूर्वप्रधानमन्त्री आएर शिलान्यास गरेका छन् अब चाहिँ बन्छ होला ।
सडकले विकासमा फड्को
कृष्णमान श्रेष्ठ
बरियारपट्टी
देशका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आएर शिलान्यास गरेका छन । अबचाहिँ यो सडक बन्छ भन्ने आशा गरेका छौं । यो सडक निर्माण नहुँदा वर्षायाममा धनगढी, गोलबजार, चोहर्वा हुँदै ५० किलोमिटर फन्को मारेर सदरमुकाम सिरहा पुग्नुपथ्र्यो । दिनभर लाग्थ्यो । हिउँदमा जसोतसो यातायात सुचारु हुँदा १४ किलोमिटर दूरीको सदरमुकाम क्षणभरमै पुग्थ्यौं । यो सडक भएर भारतको लदनिया, जयनगरबजार पुग्न सहज हुन्छ ।
दक्षिणी क्षेत्रमा समृद्धि थप्छ
बिकु महतो
व्यवसायी, बरियारपट्टी
पूर्वपश्चिम राजमार्ग बनेपछि यो मार्गको दुर्दशा सुरु भएको हो । यो राज्यको नजरमा पछि प¥यो । जसले गर्दा यो क्षेत्र नै पछि प¥यो । राज्यले त्यसपछि कहिल्यै वास्ता गरेन । पूर्वपश्चिम राजमार्ग छेउमा बजार र बस्ती विस्तार हुन पुग्यो । यताका बासिन्दा, व्यापार–व्यवसाय समेत उत्तरतिर राजमार्ग छेउ तानियो । तर भारतीय सीमासँग नजिक रहेको मार्ग निर्माण गर्न जरुरी छ । यो मार्ग निर्माणले पूर्णता पायो भने फेरि यो क्षेत्रको समृद्धि सुरु हुन्छ ।
व्यापार–व्यवसायले गति लिन्छ
जगतकुमार महतो
युवा उद्यमी, बरियारपट्टी
अझै पनि यो क्षेत्रको समृद्धि र विकास सम्भव छ । तर, हुलाकी मार्ग निर्माण जरुरी छ । हुलाकी मार्ग निर्माण हुने बित्तिकै यस क्षेत्रको व्यापार व्यवसाय, उद्यमले गति लिन्छ । तर, पटक–पटक यस क्षेत्रका बासिन्दा ठगिएका छन । राज्यले यसलाई गम्भीरतापूर्वक लिएर कामको थालनी गरे मधेसकै समृद्धि सम्भव छ ।
मधेसको लाइफलाइन
रामप्रसाद यादव
समाजसेवी
यो मार्ग निर्माण हुनु जरुरी छ । अझै पनि हुलाकी मार्गमा रहेका बस्ती अतिक्रमण र अवरोधलाई हटाई छिटो निर्माण गर्नुप¥यो । यो सडकलाई राजमार्गमा त्यत्तिखेरै रूपान्तरित गरिएको भए अहिले सम्पन्न भइसक्ने थियो । राज्य र प्रदेश सरकारले तदारुकताका साथ निर्माणलाई अगाडि बढाउन जरुरी छ । यो सडक मधेसको लाइफलाइन हुनेछ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »