दुहवी नगरपालिकाकी उपप्रमुखले वडा सदस्य कुटिन्

प्रकाशित समय 8:03:00 PM
सुनसरी, १० चैत्र । बजेट फरछ्यौटको विषयलाई लिएर सुनसरीको दुहवी नगरपालिकाकी उपप्रमुखले वडा सदस्यमाथि हातपात गरेकी छन् । उपप्रमुख सुनिता दाहाल साहले वडा नम्बर–५ का सदस्य कृष्ण योञ्जनमाथि हातपात गरेकी हुन् ।
दुई निर्वाचित जनपदाधिकारीबीच हात हालाहाल भएपछि नगरपालिकामा शुक्रबार दिउँसो तनावग्रस्त बन्नेपछि सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो । उपप्रमुखले कार्यालय परिसरमै सदस्यमाथि हात हालेपछि दुई पक्षबीच तनावको अवस्था सिर्जना हुनपुगेको थियो । पीडित पक्षले उपप्रमुखको रवैयाप्रति प्रश्न उठाउँदै राजीनामाको माग गरेका थिए । स्थानीयहरूले कार्यालय घेराउसहित प्रदर्शन थालेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
दुहवी–५ मा रहेको खेल मैदान पुर्ने कामका लागि गठित उपभोक्ता समितिको बजेट फर्छ्यौटको विषय उपप्रमुख समक्ष पुगेको थियो । वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण योञ्जनसहित पुगेको टोलीसँग विवाद चर्केपछि शाहले हातपात गरेको योञ्जनले बताए । वडा अध्यक्षसहितले बजेट फर्छ्यौटको माग गर्दा उपप्रमुखले कामको मूल्यांकन गरेर मात्र स्वीकृत गर्ने बताएपछि चर्काचर्की सुरु भएको उनको भनाइ छ ।
उपप्रमुखले मूल्यांकन गर्ने बताए पनि रकमको मोलमोलाइ नमिलेपछि घटना भएको उपभोक्ता समितिका पदाधिकारीहरूले बताएका छन् । उक्त विषयलाई लिएर केही दिनअघिदेखि नै उपप्रमुख र वडा अध्यक्षसहितका पदाधिकारीबीच विवाद भएको नगरपालिकाका कर्मचारीहरूले बताएका छन् । समितिका व्यक्ति र उपप्रमुखबीच चर्काचर्की हुन थालेपछि उपप्रमुखले आफ्ना श्रीमानलाई बोलाएको र वडा अध्यक्ष र सदस्यसँग विवाद बढ्न थालेपछि आक्रोशित बनेकी उपप्रमुखले वडा सदस्यमाथि हात हालेको बताइएको छ । सदस्यमाथि भएको हातपातमा संलग्न उपप्रमुखका श्रीमानलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए । हापातमा संग्लग्न उपप्रमुख साह, वडा अध्यक्ष रौनियार र सदस्य योञ्जन सबै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »