सिरहामा क्षयरोगका बिरामी बढ्दै

प्रकाशित समय 9:41:00 PM
सन्तोष यादव
सिरहा, १६ चैत्र । क्षयरोगका बिरामीले औषधि सेवनमा लापरवाही गर्दा रोग नियन्त्रण गर्नमा चुनौती थपिएको छ । बिरामीकै लापरबाहीले नयाँ क्षयरोगका बिरामीको संख्या सिरहामा ह्वात्तै बढेको छ। सिरहामा क्षयरोगीको संख्या ८ सय नाघेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग तथा कुष्टरोग अधिकृत उमेश कुमार यादवका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा ६४१ जना क्षयरोगका बिरामी थिए । जसमा खकार जाँचबाट ३८० र एक्स–रे तथा अन्य प्रविधिबाट २६१ जना क्षयरोगी पत्ता लागेको थियो । चालु आर्थिक वर्षको कात्तिकसम्ममै १९० क्षयरोगी थपिएका छन् । हाल क्षयरोगका ९०१ बिरामी निःशुल्क औषधि सेवन गर्ने गरेको उनले बताए ।
बीचमै औषधि खान छाड्दा सिरहामा ४ जना गम्भीर प्रकृतिका क्षयरोगबाट ग्रसित छन् । एमडीआरमा दर्ता ४ जनाले २४ महिनासम्म औषधि खानुपर्ने अधिकृत यादवले बताए । उनले भने, नियमित औषधि खाए क्षयरोग निको हुन्छ । तर बीचमै औषधि खान छाड्दा कहिल्यै निको हुन सक्दैन् । औषधी सेवन गरेर बीचमै छाड्ने र फेरि सुरु गरेर पुःन बीचमै छाड्दा २४ महिनासम्म औषधि खानुपर्ने अवस्था सृजना हुन्छ, उनले थपे ।
अधिकृत यादवका अनुसार मन्द ज्वरो आउने, रुची नहुने र तौल घटने क्षयरोगका मुख्य लक्षण हो । उनले भने, दुई हप्ताभन्दा बढी खोकी लाग्दा पनि क्षयरोग लाग्न सक्छ । यस्ता लक्षण देखा पर्ने वित्तिकै विरामीले स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »