गिरिजा हामी सबैको अभिभावक ः अध्यक्ष दाहाल

प्रकाशित समय 4:26:00 AM
काठमाडौंँ, ७ चैत्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएको छ ।
आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रूपमा सबै नेपालीको अभिभावक रहेको बताए ।
अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा पनि बोलाउन आग्रह गरे ।
‘‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा मलाई नबोलाउँदा त्यो कार्यक्रम नै अधुरो हुन्छ, उनले भने, ‘‘गिरिजासँग मेरो शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उनको नामसँग जोडिएको कार्यक्रममा बोलाउला ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रूपमा निषेध भएको उल्लेख गर्दै तर शान्तिप्रक्रियामा ल्याउँदा भने हामीबीचको सम्बन्ध राम्रो भएको बताए ।
मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसाद सँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पु¥याउनुपर्ने बताए ।
‘‘जसरी काँग्रेस र कम्युनिष्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गरियाँै, उनले भने, ‘‘ठीक त्यसैगरी अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्नका लागि सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्दछ ।
अध्यक्ष दाहालले राजनीतिक रूपमा सत्ता पक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी रहेको बताउँदै “सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रूपमा रहने हो भने देश बन्दैन, त्यसैले दुवै मिलेर देश बनायौँ भने मात्र गिरिजाको सपना पूरा हुन्छ, भने ।
कार्यक्रममा काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरलाई सुन्दर बनाउनका लागि विद्यार्थी पनि लाग्नुपर्ने बताउँदै फोहर फाल्नेलाई नयाँ कानून बनाई कडा कारबाही गर्न थालिएको जानकारी दिए ।
‘‘सबै शहरवासीको सहयोग ले काठमाडौँलाई सुन्दर बनाउन सकिन्छ, उनले भने ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाँले सामुदायिक कलेज आफ्नो प्राथमिकता रहेको बताए । व्यवस्थापिका–संसद्ले आफूखुशी त्रिविलाई नै नसोधी नीतिनियम बनाउन थालेको भन्दै उनले त्रिविका बारेमा जथाभावी राजनीतिक निर्णय नगर्न आग्रह गरे ।
कलेजका संस्थापक अध्यक्ष भीमसेनदास प्रधानले शिक्षा सबैको पहुँचमा पु¥याउनु पर्ने गिरिजाप्रसादको सपनालाई साकार पार्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको बताउँदै गिरिजाप्रसादले भनेजस्तो सहमति, सहकार्य र एकतामा सबै दलले जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
क्याम्पस प्रमुख खिलानाथ सापकोटाले कलेजले गरिबी असहायलाई निःशुल्क पढाउने गरेको बताउँदै कलेजमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययन गरिरहेका छन भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »