नाङ्लो बुनेर आत्मनिर्भर गाउँ

प्रकाशित समय 10:30:00 PM
मणिलाल विश्वकर्मा
सिरहा, २४ फागुन । सुखीपुर नगरपालिका–४ गोरियरवाका श्रेष्ठ समुदाय स्वरोजगारमै रमाउन थालेको तीन पुस्ता भयो । यहाँ रहेका १८ घरपरिवार घरका युवायुवतीदेखि हात चलाउन सक्ने वृद्धहरू घरमा बसेर राम्रो कमाइ गरिरहेका छन् ।
यस गाउँका काम गर्न सक्ने मानिस घरमै नाङ्लो बुनेर बेच्छन् । यसबाट राम्रो आम्दानी गरिरहेको श्रीप्रसाद श्रेष्ठ बताउँछन् । उनी भन्छन, ‘त्यसबाट आउने आम्दानीले घरपरिवार राम्ररी चलाइरहेका छौं । नाङ्लो बेचेर उक्त गाउँमा हरेक साता करिव सवा लाख रुपैयाँ भित्रिने गरेको श्रेष्ठले सुनाए । ‘हरेक घरबाट सातामा औसतमा ५५ वटा नाङ्लो तयार हुन्छ उनले भने, ‘प्रतिगोटा सामान्यको १०० र राम्रो गुणस्तरको १५० रुपैयाँको दरले बिक्री गर्दा सातामा तयार हुने एक हजार थान नाङ्लोबाट एक लाख २० हजार रुपैयाँ भित्रिन्छ । नाङ्लोको आम्दानीले दैनिक हातमुख जोड्नेदेखि छोराछोरीको पढाइ, घरायसी व्यवहार चलाउन कसैसँग ऋण माग्न जानु नपरेको स्थानीय हर्कमान श्रेष्ठको भनाइ छ । ‘गाउँमा आफ्नो जग्गा–जमिन नै नभएकाहरू विदेशबाट कमाएर जग्गा–जमिन जोड्ने उद्देश्यले केही विदेश जाने पनि छन, उनले भने, ‘तर प्रायः सबै गाउँमै बसेर स्वरोजगार बनेका छन् ।
गाउँमै आउँछन् व्यापारी सुखीपुर नगरपालिकाको केन्द्र रहेको सुखीपुर बजारबाट करिव अढाइ किलोमिटर दक्षिण–पश्चिममा पर्ने गोरियरवामा तयार भएका नाङ्लो किन्न हरेक साता व्यापारी गाउँमै आउने गरेको लक्ष्मण श्रेष्ठले बताए । उनले भने, ‘नाङ्लो किन्न छिमेकी गाउँ ब्रह्मपुरी, लहान, गोलबजारका होलसेल व्यापारी हरेक साता गाउँमै आउँछन् । व्यापारीलाई होलसेल मूल्यमा बेच्दा पनि आफ्नो लगानीबाहेक आधाभन्दा बढी फाइदा हुने उनको भनाइ छ ।
एउटा नाङ्लोमा बनाउन आवश्यक सामग्री र आफ्नो पारिश्रमिकसहित करिव ५० रुपैयाँ पर्दछ । तर, बजारमा १०० सयदेखि १५० रुपैयाँसम्म बिक्री हुँदै आएको छ । सिरहाको लहानस्थित घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लाको लहान, बलानसेर, खेस्राहा, खप्टेडाँडा, गोलबजार, गोरियरवा, मलहनियालगायतका करिव आधा दर्जन गाउँमा व्यवसायिक नाङ्लो उत्पादन हुने गरेको छ । 
त्यहाँ उत्पादन भएका नाङ्लो काठमाडौंलगायत मुलुकका विभिन्न शहर तथा नेपालसँग सीमा जोडिएका भारतीय बजारसम्म बिक्री हुन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »