अन्धोपन निवारणमा चुनौती थप्दै जलबिन्दु

प्रकाशित समय 10:10:00 PM
मिथिलेश यादव
लहान, १३ चैत्र । भारत बेगु सराईसराई जिल्ला बगुसराई निवासी सुमनदेवी ठाकुर(४५) आठ वर्ष अगाडि (सन २०१०) मा आँखा उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहान आएकी थिईन। दायाँ आँखाबाट धमिलो देख्न थालेपछि उपचारका लागि यो अस्पतालमा जाँच गराएकी थिईन । जाँचपछि उनको दायाँ आँखामा जलबिन्दु भएको ठहर गर्दै औषधिबाट उपचार सुरु भयो । तीन महिनामा पुनः जाँचका लागि आउन भन्दै अस्पतालले उनको उपचार सुरु गर्यो ।
औषधि प्रयोगबाट उनको दायाँ आँखा धमिलो देख्ने समस्या दूर भयो । तीन महिनामा फलोअप जाँचका लागि उनी फर्केर या आँखा अस्पताल आईनन् । उपचारमा गरेको हेलचक्रयाइँले उनको आँखाको दृष्टि कमजोर हुन सुरु भयो । पुन उनले धमिलो देख्न थालिन । आजभोली गर्दै उनी अस्पताल आउन सात वर्ष ढिला गरिन । बिस्तारै उनी दायाँ आँखाबाट देख्न छाडिन । देख्न छोडेपछि उनी ज्योती फर्किने आश सहित सातवर्षपछि यस अस्पतालमा फर्केकी छिन्। शुक्रबार उनको आँखाको जलबिन्दु परीक्षण गरेर नेत्र विशेषज्ञको टोलीले उपचारका सम्पूर्ण उपाय अपनाए । तर, ढिला भैसकेकाले उनको दृष्टि फर्काउन सम्भव नरहेको चिकित्सकहरुले बताएका छन् ।
‘तीन महिनापछि फर्केर आएको भए आँखाको ज्योती गुम्दैन्थ्यो सुमनदेबीले नागरिकसँग भनिन,‘डाक्टरको सल्लाह अटेर गर्दा दृष्टि गुमाउन पुगे । अब मेरो दायाँ आँखाको दृष्टि कहिल्यै फर्किदैन उनले भनिन,‘ आँखा उपचारमा सचेत भईदिएको भए मैले आज यो दिन देख्नु पर्दैन्थ्यो ।
सुमनको दायाँ आँखामा भएको जलबिन्दुको कारण भने बंशानुगत भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ‘परिवारका सदस्यहरुमा भए त्यो अर्को सदस्यमा पनि हुन सक्छ, सगरमाथा चौधरी आँखा अस्पतालका मेटिकल सुपरि डेन्टेन्ट डा. लिलाराज पुरीले भने,‘जलबिन्दु हुनुका धेरै कारणहरु मध्ये वंशानुगत            (जेनेटिक) पनि एउटा कारण हो ।
सुमनजस्तै जलबिन्दुका कारण विश्भर आँखाको दृष्टि गुमाउनेको संख्या लाखौ छ । विश्व स्वास्थ्य संगठनले सन २०१० मा गरेको सर्वेक्षण अनुसार विश्वभर जलबिन्दुका कारण अन्धोपनको संख्या ४५ लाख देखाएको थियो । अहिले यो संख्या बढेर ८० लाख पुगेको छ । त्यो बेला विश्वभर जलबिन्दुको समस्या देखिएका २ करोड जनसंख्या थिए । सर्वेक्षण अनुसार यो संख्या सन २०२० सम्ममा ८ करोडमा पुग्ने अनुमान छ । सन २०२० सम्ममा विश्वभर १ करोड १० लाख जनसंख्या जलबिन्दुका कारण अन्धोपनको सिकार हुने अनुमान गरिएको छ ।
सन् २०१२ मा भएको अध्ययन अनुसार नेपालमा अन्धोपनको प्रमूख कारणहरुमध्ये जलबिन्दु पनि एउटा कारण  देखाईएको छ । अध्यन प्रतिवेदनले सन् १९८१ मा ३.२ प्रतिशत रहेको जलबिन्दु सन् २०१२ मा बढेर ५.९ प्रतिशत पुगेको छ ।
सन् २०१६ मा सगरमाथा चौधरी आँखा अस्पतालले जलबिन्दुका ३६ सय ८१ बिरामीको जाँच गर्यो । जसमा १ हजार २२ जलबिन्दु बिरामीको शल्यक्रिया गरिएको अस्पताल प्रसाशनले जनाएको छ । सन २०१७ मा यो अस्पतालमा जलबिन्दुका ६ हजार ४ सय ८० बिरामी उपचारका गराउन आए । जसमा ११ सय ५० जलबिन्दु बिरामीको शल्यक्रिया गरिएको तथ्यांक छ । नेपालमा जलबिन्दुको सबैखाले उपचार सम्भव रहेको अस्पतालका मेसु पुरी बताउँछन् । तर, पूर्व संकेत नदिने भएकोले आँखाको नियमित जाँच गराईराखे जलबिन्दुको खतराबाट बच्न सकिने उनी बताउँछन् । पछिल्लो समय आँखाको नियमित जाँच गराउनुपर्ने चेतनामा बृद्धि हुँदै गएकोले पनि जलबिन्दुका बिरामी अस्पतालसम्म आईरहेको उनले बताए ।
जलबिन्दु आँखाको पानीको दबाब बढेर आँखाको नशामा (ओप्टिक नर्भ) क्षती पुगी बिस्तारै आँखाको दृष्टि कम हुँदै जान्छ । सामान्यतया आँखाको अगाडिको भागमा संचारित हुने पानी (अकुएस ह्युमोर) बढी उत्पन्न हुनु वा कम निकास हुनुको कारण आँखाको दबाब बढ्छ जसले गर्दा आँखाको नशा (ओप्टिक नर्भ)मा क्षति पुग्छ । जलबिन्दुले दृष्टि एकचोटी कमजोर भएपछि फेरी फर्काउन सकिदैन । सगरमाथा चौधरी आँखा अस्पतालका मेसु डा. लिलाराज पुरी भन्छन, ‘नदुख्ने न कुनै लक्षण देखाउने जलबिन्दुका कारण गुमेको दृष्टि फर्काउन असम्भव छ । बिना कुनै संकेत आँखाको दृष्टि चोर्ने जलबिन्दुलाई ‘साईलेन्ट थिभ पनि भनिन्छ, पुरीले भने ।
पूर्व संकेत (लक्षण) नदेखिने जलबिन्दुको समस्या जन्मजात शिशुदेखि वृद्ध उमेरसम्म जोसुकैलाई हुन सक्छ । आँखामा चोटपटक लागेको, परिवारको सदस्यमा जलबिन्दु भएका (जेनेटिक कारण) ४० वर्ष उमेर नाघेको, आँखाको बनाबट, रक्त प्रवाह सम्बन्धित शारीरिक बिमारीहरु (मधुमेह, उच्च रक्तचाप, माइग्रेन आदि), लामो समय सम्म आँखामा स्टेरोइड समूहका औषधिको प्रयोग गर्ने समूहमा जलबिन्दुको खतरा बढी हुने डा. पुरीले बताए ।
सामान्यतः जलबिन्दुको सुरुवाती लक्षणहरु हुँदैनन् । संक्रमण फैलिँदै गएपछि किनारी दृष्टिमा कमी हुँदै जान्छ । बिस्तारै बीच भागबाट सिधा अगाडीमात्रै देखिने हुँदै दृष्टि गुम्छ । जलबिन्दुले बिना संकेत(लक्षण) स्थायी रुपमै अन्धोपन गराउँछ । अन्धोपन निवारणको क्षेत्रमा विश्वभर चुनौती थपेको जलबिन्दुलाई ‘दृष्टि चोर भनेर नामांकन गरिएको छ ।
सामान्यतया आँखाको दबाब १० देखि २१ एमएमएचजी सम्म हुन्छ । जति धेरै यो दबाब बढ्यो उतिनै बढी आँखाको दृष्टिमा क्षती पुग्ने खतरा बढ्न डा. पुरीले भने ।
जलबिन्दुको उपचार जलबिन्दुले गर्दा क्षति भैसकेको दृष्टि फर्काउन सकिदैन । तर, समयमै उपचार सम्भव भए जलबिन्दुबाट हुन सक्ने थप क्षति रोक्न सकिने आँखा रोग विशेषज्ञहरु बताउँछन् । आँखाको दबाब नियन्त्रणमा राखेर आँखाको नशामा (ओप्टिक नर्भ) थप क्षति रोक्नु जलबिन्दुको प्रमूख उपचार हो । यसको उपचार तीन तरिकाबाट गरिन्छ । पहिलो औषधीमार्फत दोस्रो लेजर उपचार र तेस्रो शल्यक्रिया । जलबिन्दुले गर्दा आँखाको दृष्टि एकचोटी कम भएपछि फेरी फर्काउन सकिंदैन, तर समयमै उपचारमा आएका बिरामीलाई थप नोक्सान हुनबाट बचाउन सकिने नेत्र विशेषज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »