३६ वर्षदेखि सरकारी अस्पतालको जग्गा व्यक्तिकै नाममा

प्रकाशित समय 6:08:00 PM
कमलेश यादब
सिरहा, ४ वैशाख । सगरमाथा अञ्चलकै पुराना सरकारी अस्पतालहरुमध्ये प्रमुख मानिएको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल सञ्चालन भएको ३६ वर्ष पुगिसक्दा पनि अस्पतालको जग्गा अहिलेसम्म व्यक्तिकै नाममा रहेको छ ।
लहानका स्थायी बासिन्दा समेत रहेका मुलुकका अग्रणी व्यापारिक घरानियाँ मुरारका तथा शारडा परिवारका अग्रजहरुले ३६ वर्षअगाडि जग्गा खरीद र भवन निर्माण गरी उक्त अस्पताल सरकारलाई हस्तान्तरण गरेका थिए । पुर्व पश्चिम लोकमार्गको सानो बजारको रुपमा रहेको लहानलाई व्यापारिक नगरीको रुपमा विस्तार गर्ने योजना बनाएर दुवै व्यापारिक घरानाले संयुक्त रुपमा जग्गा खरीद र भवन निर्माण गरेपछि अहिले पनि उक्त अस्पताल दुवै परिवारका अग्रजहरु रामकुमार शारडा तथा उमाप्रसाद मुरारकाको स्मृतिमै सञ्चालन भइरहेको छ ।
दाता परिवारहरुले अस्पताल भवनको जग्गा हस्तान्तरण नगरिदिदा यहाँको भौतिक संरचना तथा अस्पताललाई उपक्षेत्रीय अस्पतालको रुपमा विस्तार गर्न सकेका छैनौ, अस्पताल विकास समितिका अध्यक्ष फुलेश्वर महतोले भने, अस्पतालको सेवा वृद्धिका लागि मन्त्रालयलाई भन्दा जग्गा सरकारको नाममा नामसारी गर्नुपर्ने कारण देखाइन्छ भने दाता परिवारलाई भन्दा सरकारले सम्झौता पालना नगरेको आरोप लगाइन्छ ।
सम्झौताको पालनामा भएको विवादका कारण सम्झौतामा उल्लेख भएको दुलिचन्द शारडा महेश्वरी र परमेश्वरीलाल मुरारकाको संयुक्त नाममा रहेको एक विगाहा १५ कठ्ठा १० धुर जग्गा अस्पतालको नाममा नामसारी गरिएको छैन । दाता परिवारको तर्फबाट आत्माराम मुरारका र शिवरतन शारडा तथा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सेवा विभागका तत्कालिन निमित्त प्रशासकीय अधिकृत मदनदेव आचार्यबीच २०३५ साल भदौ २९ गते भएको सम्झौताको बुन्दा नम्बर १ मा दाता परिवारले खरीद गरेको जग्गा तथा निर्माण सम्पन्न भएको भवन २०३८ सालमा सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ तर भवनको उद्घाटनपछि दाता परिवारले सम्झौताका अन्य शर्त पालना नगरेको किचलो थपेपछि भने विना हस्तान्तरण नै विभागले त्यतिखेरदेखि अहिलेसम्म अस्पताल सञ्चालन गर्दै आइरहेको छ ।
अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा. सुनिल कुमार कुशवाहाले आफूहरुले पटक पटक दाता परिवारलाई जग्गा हस्तान्तरण गरिदिन आग्रह गर्दा पनि उनीहरुले आनाकानी गरिरहेको गुनासो गरे । उनीहरुले शर्त अनुसार आफूहरुलाई अस्पताल विकास समितिमा मनोनित नगरिएको र अस्पताललाई २५ शैंया सरहको सेवा र सुविधा उपलब्ध नगराइएको जिकिर गर्छ, निमित्त सुपरिटेण्डेन्ट कुशवाहाले भने, तर दुवै काम मन्त्रालयले मानिरहेको छैन ।
अस्पताल सञ्चालन गरेदेखि नै मन्त्रालयले उक्त अस्पताललाई १५ शैंया स्तरको सेवा, सुविधा र बजेट दिंदै आएको छ । अस्पताल स्थापनाको ३८ वर्ष कटिसकेपनि अस्पताल प्रशासनले अस्पतालको शैंया र सेवा सुविधा बढाउन मन्त्रालयसमक्ष माग गर्दा मन्त्रालयले अस्पतालको जग्गा सरकारको नाममा नामसारी नभएको अड्को थापिरहेको छ । मन्त्रालयले सेवा र सुविधा नबढाएपछि बढ्दो जनसँख्या र दिनहुँ आउने विरामीको चापका कारण अस्पताल विकास समितिले नै उक्त अस्पतालमा आफ्नै श्रोत र साधनको भरमा ३५ शैंया थप गरेर ५० शैंया सरहको सेवा र सुविधा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »