स्मृतिमा जन–आन्दोलन

प्रकाशित समय 4:04:00 AM
सन्तोष चिमरिया
लगभग हजार दुई हजारको मकै भटमास, काँक्रो , खर्बुजो, बदामरचटपटे खाई सकिएको थियो होला । अन्तरैपिच्छे पानी पिउने दारीवाल लुरे कवि अर्जुन पराजुलीका कविता पनि कन्ठै भैसकेका थिए ।
मानव अधिकारवादी पहेला साधु कृष्ण पहाडीदेखि सदावहार लाल लेखक खगेन्द्र संगौला हुँदै चट्याङ मास्टरसम्मै आएर पनि बोली सकेका थिए । जनआन्दोलनर जनआन्दोलन भनिएको मकै मेलामा आउन र बोलाउन बाँकी कोहि थिएनन् । छुटेकोरउब्रिएको कोहि थिएन । ८० वर्षिय छाँयादेवी आमैदेखि ८ वर्षका गन्धर्व  बालकसम्मले कोशिश गरिरहेकै थिए । तर, घण्टाघरले कुरो सुनेर केही हलचल गरेको थियो होला, तर नारायणहिटीका अग्ला पर्खाल उताको सत्ता ढुक्कसँग मस्तराम सुतेको थियो । त्यसको कानमा बतास लागेकै थिएन ।
नारायणहिटीको सत्ताले नटेर्नूर नपत्याउनुको कारण थियो–सात दलका बुढाहरूप्रति जनतामा तीब्र बितृष्णा । संसदीय बजार सबै बुढाहरू पटकपटक बेचिएका थिए । पटकपटक किनिएका थिए । तिनको बजार मूल्य सबैलाई ज्ञात थियो । ती उभिएको नैतिक धरातल स्खलित थियो । तिनकै कारणले सिंहदरबार बद्नाम कोठी जस्तो भएको थियो । त्यो कोठीको गल्ली भएर हिँडेका सबै थिए, सबै नेता बद्नाम भइसकेका थिए । तिनको नैतिक ताकत दुई खुट्टा टेकेर उभिन नसक्ने हालतमा थियो ।  आन्दोलनको नेतृत्व गर्नसक्ने कुरै भएन ।
त्यसैले बद्नाम बुढाहरु खोपीबाट, विज्ञप्ति निकाल्थे । चेतावनी दिन्थे । घोर भत्सर्ना गर्थे । उता रिपोर्टस क्लब तिर जान्थे बरू, तर मकैमेलामा खासै आउँदैन थिए । आफ्नोे ठाँउमा जोसिला विद्यार्थी नेताहरू पठाउँथ ‘रेजा शाहा पल्लबीको हालत बनाई दिन्छौं । ‘लुईस चौंधौंको ताल बनाई दिन्छौं । ‘प्रतिगमन सच्चिएन भने, आन्दोलनको आँधिबेहेरी ल्याईदिन्छौ । तिमी भाग्न नि पाउदैनौ, रूसका अन्तिम जार नोकोलसको जस्तो स्थितिमा र्पुयाई दिन्छौं ।
आज नि त्यही । त्यही भन्नाले उहीँ दारीवाल कविता र उही चट्याङ मास्टरका चट्याङ । कृष्ण पहाडीका दर्शन र खगेन्द्र संग्रौलाका वचनवाण । भोलि नि त्यही । त्यही भन्नाले जार बनाई दिन्छौ र रेजा बनाई दिन्छौं भन्ने केटाहरुका हावादारी भाषण ! पर्सि नै त्यही । निकोपर्सी नि त्यही । मंसिरमा त्यही । माघमा त्यही । फागुनमा त्यही । यो वर्ष नि त्यही । अर्को वर्ष नि त्यही । भाषण र दोहोरी, चट्याङ र कविता, प्रवचन र धम्की सुन्दा सुन्दा रत्नपार्क माथिको आकाश र वरिपरिका बोटबिरूवालाई पनि झर्को लाग्न थालिसकेको थियो । बरू शाही शासन नै ठीक, यी बारमासे आन्दोलनकारी यहाँबाट गईदिए हुन्थ्यो भनेर ती मौन पुकारा गरिरहेका हुन्थे ।
हुँदाहुँदा आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु दोहोरो अंकमा झर्न थाले ।  मञ्चमा उही सभाका, सभापति महोदय, मञ्चमा आसिन वरिष्ठतम् महानुभाबहरु र भट्याउने उद्धोषक मात्रै बाँकी रहने स्थिति आईप¥यो । तर पनि केटाहरूले आन्दोलनको आँधीहुरी ल्याउने र ज्ञानेन्द्र शाहालाई रेजा शाहा पल्लबी बनाईदिने कुरा गर्न छोडेका थिएनन् ।
यता नारायणहिटी खुसी थियो । अझ दंग थियो भनौं । दंगदास नै भनम्न । दुईचार जना उरन्ठेउला केटाहरूका उडन्ते भाषण र गणतन्त्रका एकदुई भित्ते लेखनले उसलाई खासै फरक परेको थिएन । पर्ने कुरा पनि भएन । त्यसैले उसका आफ्नै खालका दिनचर्या थिए । बहुदलीय व्यवस्थाका कमजोरीहरुको घोडा चडेर ऊ दिनभर घुम्थ्यो । र त्यही कमजोरीको सिरक ओडेर राति सुत्थ्यो । भोलिपल्ट उठेर ज्योतिष परामर्श गर्थ्यो । जोगी परामर्श गर्थ्यो । ज्योतिष र जोगी नारायणहिटीका महाराजलाई उल्का उल्का परामर्श टक्र्याउँथे ।
‘महाराज चुरेमाईलाई मुसाबली दिनपर्छ, सब ठीक हुन्छ । ‘महाराज शक्तिपिठहरुमा कालो बोको काट्न पर्छ । माताका प्रतापले बहुदल भस्म हुन्छ । अनि जसोजसो बाहुन बाजे, उसै उसै स्वाहा ! भनेजस्तो नारायणहिटी मुसा बली दिन चुरेमाई पुग्थ्यो । शक्तिपिठहरुमा काला बोकाहरु सहिद हुन्थे । त्यसबाट उब्रेको समय बहुदले नेताको अखण्ड निन्दामा बित्थ्यो ।
नेता सराप्नु, व्यवस्था सराप्नु ,आफ्नो गौरवशाली पुर्खाको बेला न कुबेला भजन गाउनु र सराद गर्नु, यसो गर्दागर्दै नारायणहिट्टी लाई शंकाको लाभ दिन तोकिएको समयसीमा समाप्त भई सकेको थियो । तर, नारायणहिटी अखण्ड निन्दाको घोडाबाट उत्रिएन । न अरूका कमजोरीको सिरक फ्याकेर ब्युझ्यो । ऊ दिनभर ब्यस्तसँग डुलिरह्यो । रातभर मस्तसँग सुतिरहयो ।
अलिकति कहीँ कतै केही गडबड होला जस्तो भयो कि जोगी र ज्योतिष छदै थिए । तिनैलाई भेला ग¥यो । चिना देखायो । हात देखायो । कृपापूर्वक अभिनन्दन ग्रहण गर्दियो । हिन्दु सम्राटको पगरी गुथाइमाग्यो । परामर्श लियो । बोको काट्यो । मुसो चढायो । केही महिना अफ्रिका बिचरण ग¥यो ।  बहुदले बुढा नेताले साह्रै गनगन गरे भने बोलएर रातो चियाका साथमा दर्शन भेट बक्स्यो । आधा जति प्रतिगमन सच्याएर पठाईदियो ।
देश डरलाग्दो गृहयुद्वको भूमरीमा फसेको छ । जताततै हाहाकार र कोलाहल छ । बाँदरमुढे र दोरम्बामा मानबता मरिरहेको छ ।  मान्छे मर्नु र मारिनु सामान्य भन्दा सामान्य घटना भएको छ । एम्बुस, दोहोरो भिडन्त, आक्रमण, प्रत्याक्रमण बेहोर्नु नपरेको दिन छैन । रक्ताम्य र त्राहिमाम वर्तमानबाट उम्केर कतै जाउ, जाने कुनै ठाउँ छैन । यता देशको अवस्था यस्तो छ । उता एक किलोमिटरको भौगोलिक दूरीमा रहेका नारायणहिटी र रत्नपार्क आ–आफ्नै रत्यौलीमा मग्न नाचिरहेका छन् । तिनले देखाएका रमिता देख्नुदेखि सकेपछि र भोग्नु भोगी सकेपछि जनता दिक्क भए ।
तिनको अयोग्यता र अक्षमताले नागरिक वाक्क भए । अनि लु भएन अब भनेर तिनले पहल कदमी आफ्नोे हातमा लिने निर्णय गरे । तिनले एकसाथ शान्ति स्थापना गर्ने र निरंकुशता परास्त गर्ने अठोट लिए । ३ वर्ष नारायणहिटीलाई शंकाको लाभ दिएर हेरेका थिए । नारायणहिटीको ताल देखेर ती रत्नपार्क तर्फ फर्किए । नहुनु मामा भन्दा कानो मामा नै ठिक । अब कानो मामा जस्ता राजनीतिक दललाई काँधमा बोकेर ती सडकमा ओर्लिए ।
संसारको इतिहासमा जनताको नेतृत्वमा, नेता पछाडि लागेर भएको यो एउटा अदभूत जन–आन्दोलन थियो । २०६२ चैत २४ गते बिहीबारका दिन जनता अगाडि लागे । तिनले स्पष्ट रूपमा नारायणहिटीका महाराजसँग एउटा माग राखे। सरकार ! हाम्रो नासो फिर्ता पाउँ । फिर्ता नगरे ब्याजसहित असुलउपर गर्नेछौं ।
तिनले नारायणहिटीलाई मात्रै भनेनन् । राजनीतिक दल र बिद्रोहीलाई पनि भने–अन्तिम पटक मौका दिन्छौं, कान समाएर उठबस गर र आन्दोलनमा आउ । जनताको सामुहिक सर्त दुबैले माने । तिनले पञ्चखत माफी पाए । तर महाराजधिराजले जनताका कुरा सुनेनन् । बरू हर्जना स्वरुप राजसंस्था नै तिरेर नारायणहिटी छोडेर हिड्ने दिशातर्फ अगाडि बढे ।
सिंगो देश सडकमा उत्रिएको छ । शहर, चौक, गल्ली, गाउँ सबै आन्दोलित भएका छन् । बृद्ध,अपांग,अशक्त कोहि घरमा छैनन् । सबका सब सडकमा छन् । महाराजका कारिन्दा कर्फ्यू आदेश जारी गर्छन् । जनता गुरूरू सडकमा निस्कन्छन् । थामेर थामी नसक्यो । रोकेर रोक्न सक्ने स्थिति रहेन । तर पनि नारायणहिटीका महाराज ध्यानस्त मुद्राबाट बाहिर आएनन् । तिनले युगको आवाज सुन्न सकेनन् ।
अलि अघिसम्म महाराजधिराज गाउँ गाउँ पुगेका हुन्थे । शहर शहरको भ्रमणमा हुन्थे । सर्वसाधारणका कुरा सुन्थे । खादा ओड्थे । फूल गुच्छा ग्रहण गर्थे । अनि मुसुक्क हाँसेर, हात जोड्दै बुझेँ, बुझेँ भन्थे । ए बुझेकै रहेछन् जस्तो लाग्थ्यो । तर होइन रहेछ । महाराजधिराजले राजनीति उस्तो बुझेको देखिएन । बरू खोपी भित्रका आफ्नै नन्दी भृ·ी, जोगी, साधु र ज्योतिषको घेरा भित्रबाट राजनीतिक भन्दा पनि तान्त्रिक समाधान खोजे जस्तो देखियो ।
बेलैमा राजनीतिक निकास नदिएपछि यता सडकले गणतन्त्र माग्न थाल्यो । उनी तन्त्र र मन्त्र, हनुमान चालिसा र कालो बोको मन्साएरै आन्दोलन रोकिन्छ भनेर अरू कटिबद्ध भएर त्यसमा भिँडिरहे । समय र सम्भावना रहँदासम्म ध्यान गरेर बसिरहे । जनताको आन्दोलन नारायणहिटीको मुल गेटमै आईसकेपछि ब्युँझिदा ढिलो भइसकेको थियो । आन्दोलनका राप र तापले जोगी, ज्योतिष, नन्दी, भृ·ी सबैले कुलेलाम ठोकिसकेका थिए । अनि नारायणहिटी भित्र महाराजधिराज एक्ला भइसकेका थिए ।
तै पनि २०६३ वैशाख ८ गते महाराजधिराजले केही गर्न खोजे । के गर्न खोजे भन्दा, एउटा ललिपपे वक्तब्य निकालेर आन्दोलनरत जनतालाई लट्याउन खोजे । ‘जनताको नासो जनतालाई नै भयो । लु सरकार बनाउ । मोज गर, भन्ने आसयको वक्तव्य आयो । नारायणहिटीबाट सत्ताको पासो फ्याक्ने बित्तिकै दलका आँखा चनाखो भइहाले । नियत धर्मरायो । के गर्ने भनेर निमित्त नायक जस्ता नेताहरु आन्दोलनको मैदानबाट मिटिङ गर्न तिर लागे । सारा कुटनीतिक समुदाय पनि सक्रिय भयो । तिनले एक स्वरमा, ‘लु मौका यही हो, उपयोग गर्नपर्छ गिर्जाउ भन्न थाले ।
करण सिंह र मोरियार्टी भातपानी छोडेर आन्दोलन टुंग्याउन तिर लागे । तर यो आन्दोलन विसुद्ध जनताको आन्दोलन थियो । जनताको सामूहिक मनोविज्ञानले नेतृत्व गरेको आन्दोलन थियो । नेताहरू त केवल निमित्त नायक मात्रै थिए । मिटिङ र चलखेलको सुइँको पाउने बित्तिकै आन्दोलन नारायणहिटीबाट कोईराला निवास महाराजगन्ज तर्फ सोझियो । ‘शाही घोषणा धोका हो । आन्दोलन रोक्न पाईदैन, भन्दै कोइराला निवास घेराउमा प¥यो ।
जनताको पछाडि नहट्ने मुड बुझेपछि निमित्त नायकहरू फेरि एकपटक जनतासँगै सडकमा उभिन आईपुगे । एकैस्वरमा तिनले महाराजलाई नाइँ भने र आन्दोलन अरु शशक्त बनाउनतिर लागे । ‘प्यारा देशबासीहरू ! नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको, नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित भएको तथ्यलाई हृदयगंम गर्दै‘. थप तीन दिन जनताले सडकमा आन्दोलन गर्दै बलीदान दिएपछि महाराज धिराज राजहठ त्याग्न र जनताको माग सम्बोधन गर्न बाध्य भए ।
उनले संसदको पुनःस्थापन गरिदिए । १५ वैशाख २०६३ का दिन पुनःस्थापित संसदको पहिलो बैठक आह्वान गरिदिए । अनि बल्ल राजा सबै शासकीय कार्यब्यापार जनताका प्रतिनिधिलाई सुम्पिएर फुर्सदिला भए । अनि केही वर्षपछि आम जनसाधारण भए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »