वर्षौदेखि ऋणको भार खेप्दै पुरै वस्ती

प्रकाशित समय 8:42:00 PM
कमलेश यादब
सिरहा, ३ वैशाख । धनगढीमाई नगरपालिका–९ को मुसहर्निया स्थित मुसहर वस्तीका ६५ वर्षीय मधुरि मोचीले स्थानीय जमिन्दार सँग २५ हजार ऋण लिएको अवधि पनि २५ वर्ष पुगिसक्यो तर जमिन्दारको जमिनमा जनबनमा खट्दा र ऋणको साँवा र ब्याज जतिसुकै बुझाउँदा पनि उक्त ऋणको भार सकिएको छैन ।
यस्तै करिब २०÷२५ वर्ष भयो होला गृहथसँग २५ हजार ऋण लिएको, मधुरि मोचीले भने, तिर्दा तिर्दा जिन्दगी नै गयो तर अहिले पनि १८ हजार जति ऋण बाँकी नै छ । समयमै ऋण तिर्न नसकेपछि मधुरिले करीब २० बिगाहा जग्गाका मालिक स्थानीय मोहनलालको घरमा हरुवाही गरिरहनुपरेको छ ।
अर्का ३० वर्षीय श्याम सदाले दुई वर्ष अगाडि कतार जाँदा स्थानीय महाजनसँगै सयकडा पाँचको दरले ऋण लिएको थियो । कतारमा दुई वर्ष खटुञ्जेल दिनको १८ रियाल श्यामको भागमा पर्दथ्यो । बल्ल बल्ल खाइकटाई एक लाख रुपियाँ जम्मा गरेपछि श्यामले महाजनलाई उक्त रकम तिरे । कतारबाट आएर यही कमाएको केही रकम ब्याजमा तिरेपछि उहाँमाथि अहिले एक लाखको ऋणको भार छ । ऋण तिर्न उनी गोलबजारको एउटा ईंटा भट्टामा एक हजार माटोको ईंटा तयार पार्दा एक हजार दुई सय लिने गरी मजदुरीमा खटिरहेको छ ।
सोही वस्तीका सुरेन्द्र सदामाथि पनि दिल्ली पञ्जाब जाँदा र घर व्यवहार चलाउँदा दुई लाख ऋणको भार लागेको छ । दिल्ली पञ्जाब जाँदा पनि राम्रो काम नभेटेपछि उनी वस्तीमा फर्के र फेरि गृहथको खेतमा हलो जोत्ने र मजदुरी गर्ने उही पुरानै धन्दामा लागेको छ । ३१ घरपरिवार रहेको उक्त मुसहर वस्तीमा अहिले युवाहरु दुई÷चार घरमै सीमित छन् । युवा नभएपछि उनीहरुको भागमा परेको जनबुतो र मजदुरी गर्ने काम बुहारी खलकमा सरेको छ । साउदी अरब र कतारमा जाने युवाहरुको परिवारमा ऋणको बोझ बढी छ भने दिल्ली पञ्जाबमा खट्नेहरुको भागमा केही कम ऋण छ ।
अरु ठाउँका युवाहरु विदेश जाँदा महल ठड्याउँछन् तर हाम्रा पतिहरुको कमाई नै राम्रो हुँदैन, एक वर्ष अगाडि पञ्जाबतिर गएका रामकुमार सदाकी पत्नी सीता सदायले भने, यहाँबाट गाउँका युवाहरुलाई ठेकेदारले लान्छन र उनीहरुको कमाईको केही भाग पनि नियमीत रुपले सोही ठेकेदारले नै खान्छन् ।
वैदेशिक रोजगारीले पनि उक्त वस्तीका ३१ घरपरिवारको जीवन उकास्न नसकेपछि स्थानीय सामुदायिक विकास मञ्चले हरुवाचरुवा सशक्तिकरण कार्यक्रम अन्तर्गत छ महिना अगाडि चार परिवारलाई बाख्रापालनका लागि प्रत्येक परिवार १५ हजारको दरले आर्थिक सहयोग गरेको थियो । ‘छ महिला अगाडि किनेको बाख्राले बल्ल अहिले पाठापाठी ब्याउन थालेको छ, सीताले भने–पञ्जाव गएको पतिले त पैसा पठाएन, अब यही बाख्रा पाठाको मद्दतले एक वर्षभित्र लिएको ऋण चुक्ता गर्न सकिन्छ कि ।
उक्त वस्तीको अवस्था निकै नै दयनीय छ, मञ्चका अध्यक्ष विनोद चौधरीले भने, उनीहरुलाई आर्थिक समस्याले त गिजोलेकै छ त्यसमाथि स्थानीय तहले नहेर्दा वस्तीमा बाटोघाटो र बिजुली पनि पुगेको छैन । स्वरोजगारमार्फत उनीहरुको जीवनस्तर उकास्न थप चार जनालाई चालु आर्थिक वर्षमा २० हजारको दरले आर्थिक सहयोग दिने योजना बनिरहेको अध्यक्ष चौधरीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »