गुलजार बन्दै गोलबजार

प्रकाशित समय 9:18:00 PM
सिरहा, ५ वैशाख । पूर्व पश्चिम राजमार्गले दुई भागमा छुट्याएको गोलबजार व्यवस्थित र बढ्दो सहरीकरण उन्मुख नगर बनेको छरु। गोलबजार सिरहा सदरमुकाम र २०३२ मा स्थापित पुरानो नगरपालिका लहानको बीच भागमा पर्ने भएकाले पनि यो बजार गुलजार बनेको हो ।
जिल्लाकै ‘मध्य विन्दु’मा पर्ने गोलबजार क्षेत्रबाटै दोस्रो संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव जितेका थिए । झुपडीले झुरुप्प घेरिएको ग्रामीण बजार थियो गोलबजार । पञ्चायतकालसम्म गोलबजारले बजारको रूप लिन सकेको थिएन । गोलबजार २०२१ वैशाख २७ मा स्थापना भएको हो । पहिलो प्रधानपञ्च स्थानीय गोकर्णबहादुर गौतम, आनन्दप्रसाद गौतम, तारराबहादु विष्ट, शिवबहादुर विष्ट, सूर्या साह हलुवाई, दशरथ यादव, अमृत यादव, बलदेव महतो, रामप्रसाद साह सुडी, रामप्रताप लामा, इन्द्र लामा, नीलबहादुर गौतम, विशेश्वर दाहाल, सीताराम लामालगायतले गोलबजार नगरपालिका नामकरण गरी बजार स्थापना गरे ।
२०२१ सालमा स्थापना भए पनि गोलबजारको सहरीकरण भने २०३८ सालबाट मात्र सुरु भयो । अहिले गोलबजार तीव्र सहरीकरणतर्फ उन्मुख छ । साबिक असनपुर, आशोपुर बल्कवा, बेतौना, लालपुर, मुक्सार, जमदह, चन्द्रलालपुर, चन्द्रोदयपुर समेटेर २०७१ मंसिर १६ मा नगरपालिकाको घोषणा भएको हो । त्यसको २ वर्षपछि साबिकको दुर्गापुर गाविस जोडेर गोलबजारमा १३ वडा समेटिए ।
२०६८ को जनगणनाअनुसार करिब ५३ लाख जनसंख्या रहेको गोलबजार पूर्व–पश्चिम ९ किलोमिटर लम्बाइ र उत्तर–दक्षिण १४ किलोमिटरचौडाइको ११९.९४ वर्गकिलोमिटरमा फैलिएको छ । गोलबजार नगरपालिका प्राकृतिक र धार्मिक पर्यटकीय स्थलले पनि धनी नगरपालिका हो । सम्भावना बोकेको धार्मिक तथा पर्यटकीय स्थलहरू, आकाशगंगा, कुम्भीखाडी, रामजानकी मन्दिर, लामीडाँडा, सलहेश मन्दिर, कविर मन्दिर, गुम्बा र मस्जिद पनि गोलबजारमा छ ।
नगरक्षेत्रमा स्नातकोत्तरसम्मको पढाइ हुने रामप्रताप रामप्रसाद जनता बहुमखी क्याम्पस, ४ मावि र १ प्राविधिक शिक्षालय छ । वडापिच्छे आधारभूत विद्यालय छन । व्यापारिक हिसाबले पनि गोलबजार फस्टाउँदो छ । नगर क्षेत्रभित्र गोलबजार, चोहर्वा, बलकवा र घुर्मी गरी चार बजार पर्छ । गोलबजारमै मारुती सिमेन्ट, घरेलु सेलर मिल, डिस्ट्रिलरी उद्योगलगायत मझौला तथा साना उद्योग पनि छन ।
यसरी बन्यो गोलबजार सिरहामा गोलबजारभन्दा अघि बल्कवा यहाँको पुरानो र चर्चित बजार थियो । बल्कवा बजारको खानेकुरामा ‘झिल्ली’ लोकप्रिय थियो । उत्तरतर्फ मुक्सारमा गोला बजार लाग्थ्यो । उत्तरतर्फका उदयपुरको कटारी, बगपति, बाँकेटारलगायत हटिया नै मुक्सार गोला थियो । दक्षिणतर्फको बजार बल्कावा नै थियो । उत्तार र दक्षिणको यी दुवै चर्चित र पुराना बजारको बीचमा उदय भयो, गोलबजारको ।
उदयपुरको कटारीमा बजार लाग्न थालेपछि मुक्सार गोला सुक्यो । अहिले त्यहाँ बजार छैन । गोलबजार जागेपछि बल्कावा खण्डहरजस्तै बनेको छ । सिरहा र उदयपुरका लागि नुनतेल धान्ने ती दुवै बजार अहिले गोलबजारमा आश्रित छन ।
गोलबजार बसेका ठाउँमा पहिला घनाजंगल थियो । २०१७ मा पूर्वपश्चिम राजमार्गको शिलान्यास भयो । राजमार्गको सर्भे २०२१ सालमा भयो । जब राजमार्गको सर्भे सुरु भयो अनि गोलबजारको भाग्य खुल्यो । २०२१ वैशाख २७ गते वरपरका बासिन्दा मिलेर बजार राख्न नापजोख सुरु गरे ।
हटिया स्थापनाका लागि शिवबहादुर कोइराला, रामु पण्डित, नीलबहादुर गौतम, छलबहादुर भट्ट, विश्वेश्वर दाहालको ३ बिघा जग्गालाई एकिन गरियो । जग्गालाई चिरा पारियोरु। तीन सय जनाले अठोट लिए । मुखको एक सय र पछाडिको जग्गाको ५० रुपैयाँ प्रतिकठा मूल्य कायम गरियो । बाँसको टहरा ठडाइयो । हटिया सुरु भयो । कसैले किराना चलाए, कोहीले चियानास्ता पसल । कृषि उपजलगायत हटिया चाहिने पसल खडा भयो ।
बिस्तारै हटिया जम्न थाल्योरु। दिनभर हटिया लाग्थ्यो, साँझ पसलका सामान बोकेर व्यापारी घर फर्किन्थे । बल्कावाका व्यापारीले विरोध गरे । हटियाले गति लिइरहेकै बेला २०२५ सालको एकरात छाप्रामा राति आगो लगाइयो । सबै छाप्रा खरानी भए । हटिया स्वाहा भएपछि त्यतिखेरका युवाहरूध्रुव दाहाल, अशोक गौतम, लवकुमार दाहाल, किसन भट्ट, देवनाथ साह, समर भट्टको नेतृत्वमा युवाको सुरक्षा टोली गठन भयो । उनीहरूले रातभर ड्युटी गर्ने भएपछि काठ र खपडाले छाएको घर गोलबजारमा फेरि निर्माण गरियो ।
शिवबहादुर विष्टको काठको घर त्यसताका नमुना नै बनेको थियोरु। फेरि बजारले गति बढायो । गोलबजारमा पानीको हाहाकार थियो । पसलेहरू घरबाटै पानी बोकेर ल्याउँथे । पछि २०२६ सालतिर ठकाई महतोको नाममा उनका छोरा बुधराम महतोले इनार खनिदिएपछि व्यापारी रातमा पनि पसलमै बस्न थाले । पछि गोलबजारको विरोध गर्ने बल्कावाका तिनै व्यापारी उता छाडेर नीरबहादुर गौतम, झलक बहादुर गौतम, मुनिलाल साह, मोहम्मद हाफिजीलगायतले गोलबजारमा पसल गर्न थाले । गोलबजारले फडको मारिसकेको थियोरु। सेलर मिल स्थापना भए । गोलबजारमै पहिलो पक्की घर पुरन साह तेलीले बनाए । त्यसपछि पक्की घर निर्माण सुरु भएपछि सहरीकरण उन्मुख भयो गोलबजार ।
२०३२ सालमा हेल्थ पोस्ट, २०३३ मा नेपाल बैंक लिमिटेड गोलबजारमा खुल्यो । बजार विस्तार भएपछि २०३७ सालमा ग्रामीण एकीकृत परियोजना लागू भयो । परियोजनाका लागि रामप्रसाद साह सुडी, बलदेव महतो, गोविन्द साह, नीलबहादुर गौतम, झलकबहादुर गौतम र टुनिया चमारले ३ बिघा जग्गा दान दिएरु। अहिले त्यही स्थलमा मंगलबार र शनिबार ठूलो हाट लाग्छरु। हाटका लागि स्टल बनेका छन । २०३८ मा इलाका प्रहरी कार्यालय बस्यो ।
२०२३ सालमा राजमार्ग बनाउन आएको डोजर हेर्न गाउँलेको भीड लागेको थियो । पछि राजमार्ग सुचारु भएपछि जनकपुर–विराटनगर चल्ने आराधनु बस चढ्ने गोलबजारवासी नै भए । गोलबजार बस स्टेन्ड नै बन्यो । जिल्लामै पहिलोपटक २०४७ सालमा गोलबजार व्यापार संघ गठन भयो । एक सय व्यापारी आबद्ध संघमा १ हजार ३ सय ८२ व्यवसायी आबद्ध छन । गोलबजार सुनचाँदीका गरगहना खरिद–बिक्री जिल्लामै उच्च छ । सुनचाँदी पसल यहाँ थुप्रै छन । गोलबजारले स्थापनाको ५० वर्षपुगेको अवसरमा हालै स्वर्ण महोत्सव मनाएको छ ।
गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले खेलकुद विकासका लागि गोलबजारमा स्टेडियम निर्माण, हरित पार्क, एक घर एक बिरुवा अभियान र आर्थिक विकास नै नगरको समृद्धि रहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »