हुलाकी राजमार्गको सपना

प्रकाशित समय 8:41:00 PM
मिथिलेश यादव
सिरहा, १९ चैत्र । हुलाकी सडकलाई हुलाकी राजमार्गको स्वरुपमा देख्ने बरियारपट्टी–३ का रासलाल यादवको (८२) सपना दशक बढी समयदेखिको हो । हुलाकी सडक राजमार्गको रुपमा विकास हुने चर्चा चुलिँदा उनमा भरोसाको पालुवा पलाउँछ, सेलाउँदा भरोसाको पालुवापनि सेलाउँछ । हुलाकी राजमार्ग देख्ने सपना पलाउने र सेलाउने क्रम छ दशकदेखि चलिरहेको छ ।
गत्त मंगलबार(चैत्र ६ गत्ते) सत्ता साझेदार प्रमुख घटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले हुलाकी राजमार्गको बरियारपट्टी खण्डमा शिलान्यास गर्दा रासलालको भरोसा पुनः जागेको छ । उनी जती उत्साहित बनेका छन् त्यती नै शंकित पनि छन् । कारण कोट्उँदै उनले भने,‘राणाकालदेखि पटकपटक शिलान्यास हुँदै सेलाउँदै गरेको बेहाल बिगत छ । विस १९०३ देखि २००८ सम्म राणाशासक जंगबहादुरबाट हुलाकी मार्ग निर्माणको थालनी जुद्धशम्शेर, पदम शम्शेर हुँदै विभिन्न कालखण्डमा पटकपटक शिलान्यास भए । शिलान्यास हुने, निर्माणको थालनी हुने तर बीचमै निर्माण रोकिने बिगतले उनी झस्किरहेका छन् । शिलान्यास भएपनि निर्माण हुन्छ भनेमा अझै पूर्ण भरोसा छैन, उनले भने ।
‘तराई–मधेसको विकासको मेरुदण्ड मानिने बहुचर्चित हुलाकी राजमार्गको शिलान्यासले देहातका जनतामा उत्साह जगाएको छ, बरियारपट्टीका जेष्ठ नागरिक लक्ष्मी यादव(८०)ले भने,‘यसपालि निर्माण पुरा हुने आशा बढेको छ । सिरहाको पूर्वी बलानदेखि कमला खण्डसम्म शिलान्यास भएको हुलाकी राजमार्गले यस भेगका ग्रामीण जनतामा खुसी थपेको छ ।
‘बुबाहरुले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउँथे स्थानीय गंगाप्रासाद यादव भन्छन, ‘हामीले सुरुमा देखेको हुलाकी सडक अहिलेको भन्दा धेरै चौडा थियो । पहिला सडक छेउछाउ बस्ती थिएन, अहिले बस्तीले सडक ढाकेको छ । ‘हामीले थाहा पाउन्जेल सडकको ठाउँठाउँ खाल्डो भइसकेको थियो उनले भने,‘पारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो । सडकमा परेको खाल्डोले हिँडाउनै कठिन हुन्थ्यो । ‘यहाँबाट भारतीय सहर दरभंगा, मधुवनीलगायतका सहरमा धान बिक्री गर्न लैजान्थ्यौं उनले विगत सम्झे ,‘उताबाट नुनतेल, लत्ताकपडा लिएर आउथ्यौं । यो सडक चल्तीको सडक थियो । योभन्दा माथि १८ किलोमिटर उत्तरबाट राजमार्ग बन्नथालेपछि यो सडकमा चहलपहल घट्न थाल्यो, बिस्तारै जीर्ण बन्न थाल्यो । राजमार्ग चल्तीमा आएपछि यो सडक ओझेलमा प¥यो । पछि बयलगाडा हिँडाउनसमेत असहज भयो ।
यो सडकको दुर्दशा पूर्वपश्चिम राजमार्ग बनेपछि सुरु भएको हुलाकी सडक आसपासका स्थानीय बताउँछन् । राजमार्ग बनेपछि यो सडक राज्यको नजरमा पछि र्पयो स्थानीय राजेन्द्र यादव भन्छन,‘ सडकसँगै जोडिएको यो क्षेत्र नै पछि प¥यो । ओरालो लाग्दै गएको यस क्षेत्रलाई उकास्न राज्यले त्यसपछि कहिल्यै वास्ता नगरेको उनको गुनासो छ । यो सडक जिर्ण हुँदै चहलपहल घट्न थालेपछि बस्ती र बजार पनि उत्तर (पूर्वपश्चिम राजमार्ग) छेउमा विस्तार हुन थाल्यो । दक्षीणका(हुलाकी छेउका) बासिन्दा उत्तर सरेपछि व्यापार–व्यवसाय समेत उत्तरतिरै तानिँदै गयो । बिस्तारै राजमार्ग छेउछाउ गुलजार हुँदै गयो र हुलाकी छेउ उराठलाग्दो बन्यो ।
तर भारतीय सीमासँग नजिक रहेकोले यो क्षेत्रको रौनक फेरी फर्किनेमा यस भेगका स्थानीय आशावादी छन् । ‘हुलाकी राजमार्ग निर्माणले पूर्णता पायो भने फेरि यो क्षेत्रको गुलजार हुन्छ यादवले भने,‘सीमासँग जोडिएको यो क्षेत्रमा समृद्धिको सुरुवात हुन्छ । यस क्षेत्रमा उत्पादित अन्न विभिन्न बजारसम्म सहजै र्पुयाउन सकिन्छ ।
हुलाकी सडकको सुरुवात पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिीपत्र ओसारपसार गर्ने हुलाकीहरु हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग भनिएको हो । तराई मधेसका जिल्लाहरु जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम ९७५ किमि फैलिएको छ ।  यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिको ३२ वटा सहायक राजमार्गहरू छन, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १७९२ किमि पुगेको छ ।
समृद्धिको सम्भावना नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भूभाग ओगटेको तराई मधेसलाई अन्नको भनिन्छ । जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ भनिन्छ । तर, मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै खाद्यान्नमा परनिर्भर बनाएको मधेस मामिलाका विज्ञ प्राध्यापक विजय प्रसाद मिश्रको तर्क छ । हुलाकी मार्गको बेहाल अवस्थाले दक्षीणका पुराना बजारहरु उजाड भएका छन् । हुलाकी मार्ग निर्माण नहुँदा यो सडकसँग जोडेर दूरदेहातसम्म सडक सञ्जाल विस्तारमा कठिनाई भयो । जसका कारण कृषि उपजको बजारीकरण गर्न सकिएन मिश्र भन्छन, ‘कृषिउपजको बजारीकरण गर्न नसक्दा कृषिप्रतिको आकर्षण घट्दै ग¥यो ।
तराई मधेसमा ५५ प्रतिशत खेतीयोग्य उर्वर भूमि छ । ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र बिभिन्न सांस्कृतिक धरोहरहरु यसै क्षेत्रमा छ । स्रोत साधन र सुगमता प्रचुर भएपनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सुचाकांकमा पछाडि अर्थात गरिब छ । प्राध्यापक मिश्रका अनुसार पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरुसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव छ । मधेसमा उर्वर जमिन छ जलको समुचित व्यवस्था छैन् । उत्पादन छ बजारसम्म सहज पहुँच छैन । उर्वर मधेसको उत्पादन बढाएर बजारसम्म पहुँच पु¥याउन सके मधेसको समृद्धि मधेसी आफैले सम्भव बनाउने मिश्रको भनाई छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »