बलात्कारी जोगाउन “पञ्चायती”

प्रकाशित समय 9:30:00 PM
भरत जर्घामगर
सिरहा, ६ वैशाख । प्रहरीको सभाहलमा जिल्लाका युनिट इन्चार्जबीच बलात्कार विरुद्ध छलफल चलिरहेको थियो । त्यही क्रममा प्रहरी उपरीक्षक (एसपी) शेखर कोइरालाको मोबाइलमा सूचना आयो, ‘सखुवानानकरकट्टीमा बलात्कार प्रयासको घटनामा पीडित महिलालाई दबाब दिन पञ्चायती भइरहेको छ ।
प्रहरी उपरीक्षक कोइरालाले तत्कालै सखुवानानकरकट्टी इलाका प्रहरी कार्यालय महेशवारीका इञ्चार्ज प्रहरी नायव निरीक्षक राजु ठकुरीलाई घटनाबारे सुझाए । ठकुरी सिरहा सदरमुकाममा रहेर महेशवारीबाट पञ्चायती स्थलमा प्रहरी परिचालन गर्न असफल भए ।
एक घण्टापछि प्रहरी उपरीक्षक कोइरालाको मोबाइलमा पुनः खबर आयो, ‘पञ्चायती स्थलमा प्रहरी पुगेको छैन । उनले छलफल छाडेर महेशवारीका इन्चार्ज ठकुरी र ठाडी प्रहरी चौकीका इञ्चार्ज प्रनानि बैधनाथ योगीलाई घटनास्थलमा खटाए । ठकुरी र योगी सिरहा सदरमुकामबाट एक घण्टामा घटनास्थल पुग्दा कोही भेटनन् । प्रहरी आइरहेका छन् भन्ने सूचना पाएपछि दबाब दिनेहरूले पञ्चायती फेरि बस्ने गरी टु·याइसकेका थिए । कोही नपाएपछि दुवै इन्चार्जले पीडित र उनकी सासूलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याए ।
बयानका क्रममा वैशाख १ गते राति ८ बजे भाँडा माझ्न बाहिर ट्युबवेलमा गएका बेला मधुरी मण्डलले जबरजस्ती करणी गर्ने प्रयास गर्दा प्रतिकारमा महिलाको दाहिने गाला र देब्रे कान टोकेको पीडितले बताइन । संघर्षकै क्रममा होहल्ला हुँदा मधुरी भागेको र महेशवारी प्रहरीले खबर पाएपछि त्यहाँका इन्चार्ज प्रनानि राजु ठकुरीले पीडितलाई लहान अस्पताल ल्याएर उपचार गराएको तथ्य खुलेको छ । अस्पतालको रेकर्डमा समेत पीडितको अनुहार सुन्निएको र दाहिने गालामा दाँतले टोकेको उल्लेख छ ।
‘सखुवानानकरकट्टी–४ स्थित सिमराहाको मण्डल टोलमा भएको बलात्कार प्रयासको पीडितलाई मैले नै वैशाख १ गते राति ११ बजे लहान अस्पतालमा ल्याएर उपचार गराएको हुँ, महेशवारीका इन्चार्ज ठकुरीले भने, ‘भोलिपल्ट लहान प्रहरीमा जाहेरी दिन लगाउँला भन्ने योजना बनाएको थिएँ तर वैशाख २ गते लाग्ने स्थानीय मेला तथा वैशाख ३ गते सदरमुकाम जानुपर्ने भएकाले कामै गर्न पाइएन । यसबीचमा घटना ढाकछोप गर्न पीडितलाई दबाब दिने उद्देश्यले गाउँमै पञ्चायती बसाइएको पछि थाहा भएको उनले सुनाए ।
दबाब दिने व्यक्तिको नामै गायब पीडितले वैशाख २ गते जाहेरी दिन नसकेपछि घटनालाई मिलाउन सखुवानानकरकट्टी गाविसका पूर्वअध्यक्ष खुशीलाल यादवको नेतृत्वको टोलीले पञ्चायती बसाई दबाब दिएको सार्वजनिक भए पनि प्रहरी कार्यालय लहानले तयार गरेको जाहेरीमा दबाब दिने व्यक्तिको नाम गायब गरिएको छ ।
महेशवारीका इन्चार्ज प्रनानि ठकुरीले सोमबार साँझ इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिन ल्याएका पीडित महिलाले खुशीलाल यादव, स्थानीय अगुवा मुसहरु यादव र झपसा पासमानलगायतकाले आफूलाई मिल्न दबाब दिएको बताएका थिए । इप्रका लहानको मुद्दा फाँटमा मुद्दा लेख्नेले पीडितले दिएको नाम जाहेरीमा लेखेका छैनन्रु। ‘घटनालाई ढाकछोप गरे ५० हजारसम्म दिन्छौं भनेर दबाब दिएका थिए, पीडितले भनिन । आफूले त्यसो गर्न नमानेपछि गाली बेइज्जतीसमेत गरी थर्काएको उनले बताइन ।
‘म र महिला तथा बालबालिका सेवा केन्द्र लहानका संयोजक अम्बिका श्रेष्ठकै अगाडि पीडित महिलाले दबाब दिने ती व्यक्तिको नाम उल्लेख गरिरहेको थियो, लैगिंक हिंसा निगरानी समिति सिरहाका सदस्य निर्मला दाहालले भनिन, ‘तर ती नाम जाहेरीबाट गायब भएको कुरा सुन्दा अचम्म लागेको छन ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले महिलालाई बलात्कारको प्रयास गर्ने तथा दबाब दिने व्यक्तिलाई कानुनको दायरामा ल्याएर कारबाही गरिने प्रतिबद्धता जनाएरु। ‘जाहेरीमै नाम गायब कसरी भएको हो भन्ने कुरा बुझ्छु, उनले भने, ‘तर कानुनविपरीत काम गर्नेले उन्मुक्ति पाउँदैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »