मिथिलाञ्चलको घर घरमा मीठो पकवान

प्रकाशित समय 7:43:00 PM
कमलेश यादब
सिरहा, २ वैशाख । वर्षभरी मीठो तथा स्वादिलो खाना खान पाउने मान्यतामा मिथिलाञ्चलको घर घरमा आइतबार मीठो पकवान खाएर नयाँ वर्षलाई स्वागत गरिएको छ ।
प्रत्येक नयाँ वर्षको वैशाख २ गते मीठो पकवान खाए वर्षभरी नै त्यस्तै परिकार खान पाइने मान्यता अनुसार मिथिलाञ्चलमा आइतबार घर घरमा मीठो पकवान पाक्ने गरेको हो । यस दिन घरका सदस्यले घरमा पाकेको मीठो पकवान आफूहरुले मात्र खाँदैनन्, मन परेका साथीभाइ तथा आफन्तजनलाई समेत खुवाउने गर्दछन् ।
यस दिन चुलोलाई विश्राम दिने गरी अघिल्लो रात नै अनिवार्य रुपमा दहीवरी (दही र वेसनबाट बनाइएको परिकार), मुन्गाको तरकारी, काँचो आपको अचार र भात बनाएर राखिने परम्परा छ तर बद्लिदो परिवेशसँगै अचेल अघिल्लो रातको सट्टा वैशाख २ गते नै उक्त सामग्री बनाउने गरिन्छ ।
जुडशितलको दिनमा घरमा बनाइएको विभिन्न परिकार खान वर्षेनी आफ्ना साथीभाइलाई डाक्ने नेपाली काङ्ग्रेस सिरहाका युवा नेता शैलेन्द्र यादव भन्छ–आजको दिनमा मीठो परिकार खाए वर्षभरी नै खान र खुवाउन पुग्ने भएकोले साथीभाइलाई खान बोलाउने गरेको हुँ ।
जुडशितलको दिन घरमा बनाइने सामग्री मिथिला सँस्कृतिको प्राचीन भोजनको रुपमा रहने गरेको लहानका मैथिली साहित्यकार अर्जुन गुप्ता ‘दर्दिला  बताउछ । मिथिला सँस्कृतिमा विभिन्न तरकारीको तरुवालाई विशेष पकवानको रुपमा मानिने भएकोले यो बेला घरघरमा तरुवा पाकेको हुन्छ । उनीका अनुसार, यस दिन विशेष गरी आलु, भान्टा, लौका, काउली, काँचो केरा, खुर्सानी लगायतका तरकारीका तरुवा बनाइएको हुन्छ ।
सिरहा र सप्तरीका बासिन्दाले वैशाख २ गते ठूलाबडाको आर्शिवाद थाप्ने र मीठो परिकार खाने दुई वटा सँस्कृति एकै पटक मनाउने गरेका छन्, अधिकारकर्मी सुनिल साहले भने, यो दिन घरगाउँका वरिष्ठ सदस्यले एकाविहानै शीरमाथि पानी छर्के वर्षभरी शीतलता प्रदान हुने र मीठो पकवान खाए वर्षभरी त्यस्तै परिकार खान पाउने भन्ने विश्वास छ ।
कतै कतै यो दिन खेतमा जमेको हिलो छ्यापाछ्याप गर्ने चलन छ तर बजारी क्षेत्रमा यस्तो सँस्कार भेटिदैन, अधिकारकर्मी साहले भने, मिथिलाञ्चलमा एकै पटक एकै दिन देखिने यस्ता सँस्कृतिले मेलमिलाप, आत्मियता र प्रेमभावलाई बढी महत्व दिने भएको हुनाले मिथिला सँस्कृतिलाई सबैभन्दा उच्चतम सँस्कृतिको रुपमा व्याख्या गर्ने गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »