धनुषाका प्रमुख जिल्ला अधिकारीविरुद्ध अवहेलना मुद्दा दर्ता

प्रकाशित समय 9:06:00 PM
गोविन्द महतो
जनकपुर, २६ चैत्र । एकीकृत शहरी विकास आयोजनाको निर्माण कार्यप्रगति विवरण पेस नगरेकोमा स्थानीयवासीले धनुषाका प्रमुख जिल्ला अधिकारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका छन् । प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले मासिक कार्य प्रगति विवरण पेस गर्न पटक–पटक पत्राचार गरे पनि वास्ता नगरेकोमा सोमबार उच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको हो ।
जनकपुरका छ जना स्थानीयवासीले प्रजिअ चापागाईंलगायत जिल्ला प्रशासन कार्यालय, शहरी विकास तथा भवन निर्माण कार्यालय र तिनका प्रमुखका साथै सार्वजनिक खरिद अनुगमन कार्यालयविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् । उच्च अदालतले भदौ १९ र पुस १८ गते दुई पटक विवरण पेस गर्न आदेश गरेको थियो । तर सम्बन्धित निकायले कुनै वास्ता नगरेपछि बाध्य भएर स्थानीयले अवहेलना मुद्दा दर्ता गराएको अधिवक्ता राजकुमार महासेठले जानकारी दिए । 
एसियाली विकास बैंकको ऋण सहयोग र जनकपुर उपमहानगर पालिकाको एक अर्ब रुपैयाँ संयुक्त लगानीमा संचालित एकीकृत शहरी विकास आयोजनाको निर्माण कार्य सम्झौता भएको थियो । सम्झौताविपरीत निर्माण कार्य गुणस्तरहीन भएको भन्दै स्थानीयवासीले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सम्झौता र मापदण्डअनुसार काम गर्न र गराउन पटक–पटक आग्रह गरे पनि एकीकृत शहरी विकास आयोजनासँग सम्बन्धित पक्षले कुनै सुनुवाइ नगरेपछि न्याय खोज्दै छ जनाले उच्च अदालतमा संयुक्त निवेदन दिएका थिए ।
९८ करोड ९८ लाख रुपैयाँको लागतमा जनकपुरमा संचालित एकीकृत शहरी विकास आयोजनाको सम्झौता अवधि सकिन लागे पनि अहिलेसम्म आधा काम हुनसकेको छैन ।  ३२ किलोमिटर नाला र ९.२९ किलोमिटर कालोपत्रे सडकको निर्माण कार्य यही फेब्रुअरी महिनाभित्र सकिनुपर्ने सम्झौता भएको थियो । तर अहिलेसम्म तीन किलोमिटर सडक र २६ किलोमिटर नालाको काम मात्र सम्पन्न भएको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »