औद्योगिक क्षेत्रमा समस्यै समस्या, व्यवसायी भन्छन–लगानीमैत्री वातावरण भएन

प्रकाशित समय 9:28:00 PM
शुभ नारायण यादव
सप्तरी, ६ वैशाख । तत्कालीन नेकपा माओवादी र भूमिगत सशस्त्र समूहको आतंकका कारण उद्योगी÷व्यापारीहरु पलायन भएपछि बन्द भएको सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
असुरक्षा, विद्युत् र पानीको अभाव तथा उद्योग सञ्चालनका लागि स्पष्ट नीति नहुँदा उद्योग पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो । भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित यो औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
नेपाल सरकारलाई हस्तान्तरण गरिँदा नेपाल आयुर्वेद मेडिसिन, सरस्वती मेटल उद्योग, प्लास्टिक दाना उद्योग, महालक्ष्मी खाद्य उद्योगलगायतका साना र ठूला गरी ९ वटा उद्योग सञ्चालनमा थिए । तर, विभिन्न सशस्त्र समूहको चन्दा आतंक, अपहरण र फिरौतीको धम्कीले ठूला व्यापारी पलायन भएपछि उद्योग पूर्णरुपमा बन्द भएको थियो ।
स्थापना कालदेखि नै विभिन्न समस्याबाट प्रभावित हुँदै आएको यो औद्योगिक क्षेत्र माओवादी जनयुद्ध तथा सशस्त्र समूहको आतंकका कारण झण्डै ८ वर्षसम्म पूर्णरुपमा बन्द भयो । अहिले मिलन डेरी उद्योग, कोसी पोलिमर्स इन्डस्ट्रिज, महालक्ष्मी पेट इन्डस्ट्रिज र कृष्णा खाद्य उद्योग गरी ४ वटा उद्योग सञ्चालनमा छन् भने माँ भगवती कृषि टोम्याटो फुड्स, उषा जल र कान्तिपुर प्लास्टिक उद्योग सञ्चालनको तयारीमा छन् । महालक्ष्मी खाद्य उद्योग, एस एन्ड को. इलेक्ट्रोड्स, पदमज्योति प्लास्टिक उद्योग र अल नेप्लिज टि एन्ड कफी उद्योग पूर्णरुपमा बन्द रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले जानकारी दिए ।
संकटमा परेका औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि सरकारले स्पष्ट नीति तयार गर्न नसकेको र सरोकारवालाले समेत त्यसका लागि पहल गर्न नसक्दा औद्योगिक क्षेत्रको अवस्था दयनीय रहँदै आएको उद्योगी र व्यवसायी गुनासो गर्छन् । संकटमा परेका उद्योगलाई सरकारले सहुलियत नदिँदा सञ्चालनमा रहेका उद्योग पनि प्रतिस्पर्धाको मारमा परेको उनीहरुको भनाइ छ ।
‘बन्द भएका उद्योग फेरि सञ्चालन, विस्थापित भएका उद्योगी र व्यापारीलाई पुन स्थापना र ठूला लगानी भित्र्याउन सरकार पूर्णरुपमा असफल भयो, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मनोज मुन्धडाले भन्ने, ‘उद्योग चलेनन् भन्ने बाहेक योजनाबद्ध प्रयास अहिलेसम्म भएका छैनन् ।
शान्ति–सुरक्षाको अवस्था विस्तारै सामान्य बन्दै गएपछि केही उद्योगीले उद्योग सञ्चालनमा इच्छा देखाएका छन् । सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले भन्ने, ‘उद्योग सञ्चालनका लागि व्यवसायीहरु इच्छुक भए पनि अहिले पनि वातावरण तयार भएको छैन । नजिकै रेल्वे सुविधा नभएकाले कच्चा पदार्थ ढुवानी तथा उत्पादित वस्तुको निर्यातमा समस्या, शान्ति–सुरक्षाको अभाव, अनावश्यक राजनीतिक हस्तक्षेप तथा विद्युत् र पानी आपूर्तिको अनिश्चितताका कारण सञ्चालनमा आएका उद्योगहरु समेत विस्तारै बन्द हुने अवस्थामा पुगेको उनी बताउछ ।
हुन त सरकारले पनि उद्योग सञ्चालनका लागि प्रयासै नगरेको भने होइन । उद्योग सञ्चालनका लागि उद्योगी र व्यापारीलाई प्रोत्साहित गर्न सरकारले आर्थिक वर्ष २०६७ र ६८ देखि जमिन र भवन २ वर्षका लागि निःशुल्क उपलब्ध गरायो । तर, उद्योगलाई टिकाइराख्न सहुलियतमा निरन्तरता, सुरक्षाको प्रत्याभूति र विद्युत् र पानीको सहज आपूर्तिमा पहल नहुँदा अवस्थामा खासै सुधार आएन ।
कार्यालय प्रमुख आचार्य पनि व्यापारी र व्यवसायीको गुनासोप्रति असहमत छैनन् । तर, बन्द उद्योगले विभिन्न समस्या देखाउँदै उत्पादन नगर्ने र नयाँ उद्योगीका लागि सेड (भवन) पनि खाली नगरिदिँदा पनि औद्योगिक क्षेत्र पूर्णरुपमा सञ्चालनमा आउन नसकेको उनको भनाई छ ।
‘विभिन्न समस्या देखाएर उत्पादन नगर्ने र सेड खाली पनि नगर्ने समस्या देखियो, आचार्य भन्छ, ‘त्यस्ता उद्योगलाई कारबाही गरेर भए पनि उद्योगको अवस्था सुधार्ने प्रयास भइरहेको छ ।
उद्योग सञ्चालनका लागि सेड (भवन) भाडामा लिएकाहरुले वर्षौदेखि भाडाको रकम नबुझाउँदा लाखौं रुपैयाँ अझै असुली हुन सकेको छैन । दुई तीन वटा पुराना उद्योगले वर्षौदेखि सेडलाई गोदामको रुपमा प्रयोग गरिरहेका छन् । तीमध्ये अधिकांशले भाडा समेत नतिरेको कार्यालयले जनाएको छ ।
भाडा लिएकामध्ये एस एन्ड को इलेक्ट्रोड्स प्रालिसँग १० लाख ७८ हजार, महालक्ष्मी खाद्य उद्योगसँग ८ लाख ९ हजार, कृष्णा खाद्य उद्योगसँग ७ लाख ३४ हजार, पदमा ज्योति प्लास्टिक उद्योगसँग ६ लाख २७ हजार, अल नेपलिज टि एन्ड कफी उद्योगसँग ६ लाख २५ हजार, माँ भगवती कृषि टोमाटो फुड्स इन्डस्ट्रिजसँग ७ लाख ३५ हजार रुपैयाँ भाडा असुली गर्न बाँकी छ ।
वर्षौंअघि भत्केको पर्खाल मर्मत र भरपर्दो सुरक्षा व्यवस्थाको अभावले औद्योगिक क्षेत्र गौचरणमा परिणत भएको छ । ठाउँ–ठाउँमा भत्केको पर्खाल मर्मत–सम्भार नहुँदै गएको साउनमा आएको बाढीले औद्योगिक क्षेत्रको अग्र भागको पर्खाल ३ सय मिटरजति भत्केपछि निर्वाध रुपमा गाईबस्तु चरिचरन हुने गरेको छ । २ र ३ वर्षअघिसम्म औद्योगिक क्षेत्र परिसरमा बगैँचाकै रुपमा रहेका रुखहरु पर्खाल तथा घेराबेरा अभावकै कारण यतिबेला ठुटा मात्रै बाँकी छन् । मानिसहरु औद्योगिक क्षेत्र परिसरमा निर्बाध प्रवेश गर्ने, गाईवस्तु ल्याएर चराउनेलगायतका विषय कर्मचारीले सहजै पचाउन थालेका छन् । मुलुकका हरेक औद्योगिक क्षेत्रमा सुरक्षा बलको व्यवस्था गरिए पनि यो औद्योगिक क्षेत्रमा त्यस्तो ब्यवस्था मिलाइएको छैन ।
यसैगरी, विद्युत् र पानीको समस्या, उद्योगको प्रदुषण व्यवस्थापनलगायतका कारण पनि उद्योगी–व्यवसायी हच्किएका छन् । निर्वाध रुपमा उद्योग सञ्चालनको वातावरण बनाउन भन्दै तीन वर्षअघि नै औद्योगिक क्षेत्रमा ‘हटलाइन सेवा सुरु गरिएको छ । तर, दिनमै १० र १२ पटक विद्युत् काटिने समस्या अहिले पनि यथावत् रहेको औद्योगिक क्षेत्रका कर्मचारीहरु बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »