म आइजीको जागिरमात्र खान्नँ ः महानिरीक्षक खनाल ‘प्रहरी इन्काउन्टर औचित्यपूर्ण हुनुपर्छ’्

प्रकाशित समय 8:48:00 PM
प्रकाश ढुंगाना र अशेष अधिकारी
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालसँग प्रकाश ढुंगाना र अशेष अधिकारीले गरेको कुराकानीको सम्पादित अंश ः–
नागरिकसँग हरेक दिन प्रत्यक्ष सम्बन्ध रहने नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारीलाई कसरी लिनुभएको छ?
मुलुकको अहम् जिम्मेवारी र गहन दायित्व बोकेको संगठनको प्रमुख हुँदा अझ बढी जिम्मेवारीबोध भएको छ । अब प्रहरी कर्मचारीसँगै नेपाल सरकार, गृह मन्त्रालय, विभिन्न निकाय र नागरिकसँग समन्वय गरी अघि बढ्नु पर्ने भएको छ ।
जिम्मेवारी बहन गर्दा काँधमा नेपाली नागरिकको सुरक्षा राखेर गुण्स्तरीय सेवा प्रदान गर्छु भन्ने विश्वास छ । देश नयाँ संरचनामा गएकाले हाम्रासामू पनि केही चुनौती छन् । नयाँ संरचनाअनुसार कार्यविधि बनाएर नेपाल प्रहरीलाई पनि सोही संरचनामा लैजानु पर्नेछ । असहज परिस्थिति आउन नदिने वातावरण निर्माण गर्नु पर्नेछ । यसमा अलि बढी सजगताको खाँचो छ ।
तपाईं प्रहरी प्रमुख भएपछि संगठनभित्र र आमनागरिकले के फरक अनुभूति गर्न पाउँछन?
अहिले मुलुकमा ऐतिहासिक परिस्थिति निर्माण भएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीज्यूसम्मको स्पष्ट दृष्टिकोण आएको छ । सरकार ‘सम्मृद्ध नेपाल, सुखी नेपाली अभियानमा अघि बढेको छ ।
गृह संरचना सुधारअन्तर्गत आएको ८२ बुँदेमा  नगरी नहुने केही काम छन् । तिनलाई पूरा गर्छु ।  त्यसले प्रहरी संगठनमा केही सकारात्मक प्रभाव पार्नेछ ।
नागरिकले अहिले उच्च गुणस्तरको प्रहरी संगठन खोजेका छन् । म देशको आवश्यकता अनुसारको प्रहरी संगठन बनाउन प्रयास गर्नेछु । अहिले काम गर्न  वातावरण छ, सरकारको स्पष्ट निर्देशन पनि आएको छ। मेरो आफ्नो चाहना पनि त्यही अनुसारको छ । म परिणाम उन्मुख नतिजा ल्याउने पक्षमा छु ।
प्रहरीलाई काम गर्दा राजनीतिक दबाब पनि आइरहन्छ । पहिला काम गर्दा यहाँले त्यस्ता दबाबलाई पाखा लगाउनुहुन्थ्यो भनिन्छ । अब पनि यस्ता दबाबलाई पाखा लगाएरै काम गर्नुहुन्छ कि, सम्झौता गर्नुहुन्छ? किनकी आइजी नियुक्ति  आफैंमा राजनीतिक निर्णय हो ।
विगतमा काम गर्दा राजनीतिक दबाबहरू आउँथे । अहिले सरकार प्रमुखबाट प्रष्ट रूपमा न्यायसंगत, दृढताका साथ र दायाँबायाँ जाने ठाउँ छैन भन्ने कुरा आएकोले त्यो असहज परिस्थिति हुन्छ भन्ने मलाई छँदै छैन् । विगतमा जुन किसिमका कुरा भए त्यसलाई पनि पार गरेर आइयो । व्यक्तिगत रूपमा मैले पनि नेपाल सरकारले अख्तियार गरेका नीतिलाई मान्नैपर्छ । त्यो  अनडयू फ्रेस हुन्छ भन्ने मैले अपेक्षा पनि गरेको छैन् । सरकारका नीतिलाई सहयोग गर्नेमा म  पुर्णरूपमा कटिबद्द छु र गर्छु पनि । बाँकी रह्यो कुनै अनुसन्धानलाई नचाहिदो प्रभाव पार्ने, दख्खल पार्ने प्रकारका कुरालाई जोगाउने कुरा हुँदैन् । विगतमा आफ्नो क्षमतामा भएका कुरा हुँदा पनि गरिएको थिएन । संगठन प्रमुखको हैसियतले स्पष्ट दिशाबोध छ  ।
तल्लो दर्जामा रहेर १०–१२ वर्षदेखि काम गरिरहेकाहरूको बढुवा हुन सकेको छैन । त्यस्ता प्रहरीहरूलाई केही गर्ने योजना बनाउनुभएको छ ?
सबैभन्दा बढी योजना चाहिने भनेकै प्रहरी जवान र हब्लदारहरूका लागि हो, जो फिल्डमा खटिन्छन् । नेतृत्व तहमा रहेर माथिमाथिको मात्र नहेरी तल काम गर्ने ती प्रहरीमा  केन्द्रित छु । किनभने बुट बजारेर परिवार नभनी दिनरात खट्ने समूह ठूलो छ, त्यसलाई मुटुमा राखेर काम गर्छु ।
आफ्ना मान्छेलाई रिझाउन बनाइएका प्रहरीका पदहरू खारेज हुन्छन?
पदहरू विवेकसम्मत हुनुपर्छ । म भर्खर आएको छु हचुवाका भरमा थपिएका पद छन् भने त्यसलाई म हेर्दैछु । प्रहरी कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरा म गृह मन्त्रालयसँग राख्छु । स्पष्ट आधार नभएका तर सरकार र संगठनलाई भार पार्ने पदहरू हटाइन्छ । त्योसँगै जुन ७२ हजारको फोर्स छ, संरचना छ, त्यो सुहाउँदो नेतृत्व बनाउन अध्ययन गर्दैछु ।
अघिल्लो पटकभन्दा यसपालिको आइजी नियुक्ति विवादमुक्त रह्यो । तर तपाईंका सहव्याजी रमेश खरेलले नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिए । त्यसलाई कसरी लिएको छ?
त्यो आ–आफ्नो इच्छा हो । जागिर खाने त इच्छा हो । यत्रो संगठन छ, कोही आउँछ जान्छ । यहाँ व्यक्तिभन्दा पनि संगठन  महत्वपूर्ण हुन्छ । अरूले पनि जागिर छोडेका छन् । मानिसका आ–आफ्ना इच्छा होलान् केही अरू कुरा होलान् । मेरो नियुक्तिमा असन्तुष्टि जनाएर राजीनामा दिनुमा म कुनै तुक देख्दिनँ । अरूमा होलान् तर यसमा म कुनै आधार देख्दिनँ ।
उहाँ (खरेल) ले राजीनामा नदिएको भए अझ राम्रो गर्न सकिन्थ्यो भन्ने लागेको छैन ?
अझै राम्रो भन्नेसँग म सहमत छैन् । म राम्रो नै गर्छु । मलाई राम्रो गर्न त्यस्तो कोही चाहिने पनि छैन् । तर के हो भने तिक्तता राख्नुपर्ने केही पनि छैन् । नेपाल सरकारले उपयुक्त मान्छे चयन गर्यो । सरकारले हेरेको कुरामा धेरै जान चाहन्नँ तर कोही नभएर म नराम्रो हुन्छु भनेर नसोचे हुन्छ ।
म व्यक्तिगत र प्रहरी प्रमुखको हैसियतले प्रहरीलाई राष्ट्र र जनताप्रति समर्पित संगठन बनाउँछु । अहिले धेरै नबोलौं, प्रहरी यस्तो हुनुपर्छ भन्ने जुन तपाईहरूको चाहाना छ, त्योअनुसारको प्रहरी बनाउँछु ।
गृहमन्त्रीले विमानस्थलबाट टनका टन सुन तस्करी हुन्छ भन्नुभएको छ । सुन तस्करीको अवस्था त्यस्तै छ? यो किन भइरहेको छ?
यसलाई म दुईवटा कोणले हेर्छु । एउटा पक्राउ गर्दा गर्दै सुन आउनु । अर्को सुन ल्याउँदै ल्याउँदै पक्राउ पर्नु । पक्राउ गर्दा पनि सुन आइरहनु भनेकोचाहिँ  बिफलता हो ।
सुन तस्करीमा हामी कहिँ न कहिँ चुकेको हुनुपर्छ । म अपराध महाशाखाको प्रमुख हुदाँ सुन तस्करीमा संलग्नलाई कमिसनको लोभ नगरी संगठित अपराधमा पहिलो पटक मुद्दा चलाएको हुँ ।
अब तस्करी रोक्न हरसम्भव प्रयास गरिन्छ । प्रयास त यसअघि पनि भए होलान् अब म कठोर र निमर्मताका साथ कदम चाल्छु । टनका टन सुन तस्करी भइरहेको कुरा मन्त्रीज्यूबाट आएको छ । यसमा प्रहरीको ध्यान गएको छ ।  प्रहरीले इन्टेलिजेन्स टोली खटाएर काम सुरू गरिसकेको छ ।
गोली चल्छ, गुन्डाको राज चल्दैन भन्नुहुन्थ्यो ? पछिल्लो समय ‘हिरो बन्न‘ प्रहरीले इन्काउन्टर गर्ने परिपाटी बढेको छ भन्छन् नि ?
अर्काको मानवअधिकार हनन गर्ने, मनपर्दी गर्ने, समाजलाई अस्थिरता बनाउनेले मेरो राज चल्छ भन्छन् भने त्यसको राज चल्दैन । गुन्डाको राज चल्दैन, हुन त कहिले चलेको छ र?
इन्काउन्टरको सन्दर्भमा प्रहरीले क्रेडिसनल एक्सन गर्नुपर्छ । त्यो औचित्यपूर्ण हुनुपर्छ । अपराधीसँग डराउने होइन । उसलाई नियन्त्रणमा लिन कठोर बल प्रयोग गर्न पनि पछि पर्नु हुन्न । प्रहरीमाथि आइलाग्ने र जाइलाग्नेलाई प्रहरीले कारबाही गर्छ ।
प्रहरीको रासनमा विवाद  किन भइरहेको होला ?
अहिलेदेखि होइन, पहिलेदेखि नै रासनमा विवाद छ । रासनमा विवाद आएर पैसा दिइएको हो । पैसा लिने र उठाएर मेस सञ्चालन गर्ने कुरा पनि भएको हो । यसमा अब मैले पूनरावलोकन गर्छु । अर्को कुरा टेन्डर आह्वानमा समस्या छ । यस विषयमा राष्ट्रिय तहमा नै छलफल भइसकेको छ । सबैभन्दा सस्तो टेन्डर आह्वान गर्ने छान्नुपर्दा कम गुणस्तरका सामान पनि आएको भन्ने कुरा छ ।
यस विषयमा मन्त्री, सचिवज्यूसँग छलफल गर्छु ।
अन्त्यमा तपाईं र प्रहरी संगठनका लागि अबका मूख्य चुनौती के हुन ?
चुनौती धेरै छन् । विगतमा भएका केही अप्रिय गतिविधि, अकल्पनीय अवस्था र नसोचिएका परिणाम आउँदा आममानिसमा प्रहरीप्रतिको आस्था र विश्वासमा ह्रास आएको छ । प्रहरीभित्र रहेका केही नैराश्यतालाई पनि पन्छाएर जानु पर्नेछ ।
अर्को अपराध अनुसन्धान एवम कस्ता कस्ता अपराधहरू आउनसक्छन, हुन सक्छन, के–के गतिविधि, घटना घट्नसक्छन् भन्ने कुराको उचित विश्लेषण गर्दै त्यसको सही परिणाम दिनसक्ने हुनुपर्नेछ । त्यसका लागि अब हुने प्रदेशमा प्रहरीले गर्नुपर्ने दायित्व, अरू निकायसँग गर्नु पर्ने समन्वय र प्रहरीको कमान्डको श्रृखंला र कुनै घटनालाई कसरी समाधान गर्ने कुरा छन् । हेर्दा मसिना लाग्ने तर बहुत सचेतताका साथ गर्नु पर्नेछ ।
त्योसँगै यस्तो अवस्थामा अपराधीले टाउको उठाउन सक्छ, चाहे त्यो गैरसंवैधानिक होस् या आपराधिक अथवा नचाहिँदो प्रभाव पार्ने खालको गतिविधि । हामीले यी कुरालाई प्रक्षेपण गरेर समयमै त्यसको उपयूक्त योजनासहित प्रहरीको परिचालन गर्ने र अन्य निकायहरूसँग समन्वय गरेर संयुक्त रूपमा अत्यन्तै पेसागत, व्यवसायिकता र निष्ठासहित काम गर्ने वातावरण बनाउँछु । जस्तोसुके चुनौती आउँदा पनि नेपाल प्रहरीले सामना गर्न सक्छ भन्ने विश्वास दिलाउन काम गर्छु । सेतोपाटीबाट सभार

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »