कमला पुलको बेहाल

प्रकाशित समय 8:48:00 PM
मनिका झा
जनकपुरधाम, २८ चैत्र । सात वर्षदेखि निर्माणाधीन धनुषा र सिरहा जोड्ने कमला नदीको पुल ठेकेदारको लापरवाहीका कारण यो वर्ष पनि सम्पन्न नहुने भएको छ।वर्षौंसम्म योजना ‘होल्ड’ गरेर राख्ने ठेकेदारको प्रवृत्तिका कारण धनुषा र सिरहाका पाँच स्थानीय तह जोड्ने कमला पुल निर्माणमा ढिलाइ भएको हो । पुल निर्माण नहुँदा दुई जिल्लाका दुई लाख जनाको दैनिकी सहज बन्न सकेको छैन ।
पुल नबन्दा वर्षायाममा तीन महिना भारत हुँदै जनकपुर आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीय बेचन मुखिया बताउँछन् । हिउँदमा नदी भएरै आउजाउ गरे पनि वर्षायाममा पानीको सहत बढेपछि आवागमन रोकिने गरेको उनको भनाइ छ ।
४ सय ७० मिटर पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभीले २०६८ साल जेठमा सम्झौता गरेको थियो । सम्झौता भएको केही समयपछि नै बनाउन थालिए पनि सात वर्ष बित्न लाग्दा प्रगति ३५ प्रतिशतमा सीमित छ । सम्झौता भएयता दुईपटक म्याद थप भइसकेको जनाइएको छ ।
हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर मनोज मण्डल पुल निर्माणको म्याद अन्तिमपटक थप गरिएको सुनाउँछन् । अब पनि समयमा काम हुन नसके ठेकेदार कम्पनीमाथि कारबाही अघि बढाउने उनको भनाइ छ । उनका अनुसार अब तीन महिनाभित्र काम सम्पन्न नभए विभागीय कारबाही हुनेछ ।
निर्माण कम्पनीका इन्जिनियर जमुना यादव असार मसान्त सम्ममा काम सम्पन्न हुने दाबी गर्छन् । तर, पुलमा कार्यरत श्रमिक भने यही गतिमा काम भयो भने पूरा हुन अझै दुई वर्ष लाग्ने बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »