४ दिनको अछूत

प्रकाशित समय 10:02:00 PM
काजल जोशी 
२१औं शताब्दी अर्थात् अहिलेको “वैज्ञानिक युग” । विज्ञानले चम्काएका चहकिला सहरहरूकै बीचमा छाउपडी जस्ता कुप्रथाको दियो कहिल्यै निभेनन् । बरु झन् रापिलो र धापिलो भएर बलि नै रहेका छन् । सुन्दा अचम्म लाग्छ तर पनि हाम्रो घर समाजमा जिउँदो रहेको एक दुःखलाग्दो कुसंस्कार, धार्मिक संस्कारका नाममा महिलामाथि गरिने हिंसा र उत्पीडन हो, छाउपडी कुप्रथा ।   
पुर्खादेखि चलिआएको यो कुप्रथा समयको माग अनुसार परिवर्तन हुँदै वर्तमान अवस्थासम्म निर्मूल भइसक्नुपर्ने थियो । विडम्बना यो सामाजिक समस्याकै रूप रहेकै छ । यस्तो विभेदमा को दोषी ? शिक्षित वर्ग वा अशिक्षित । यसरी वर्गीकरण गरेर हेर्नु नै यस सवालमा भूल हुनेछ । किनकि शिक्षित, अशिक्षित सबैको यस्तो कुप्रथालाई मलजल गर्नुमा समान भूमिका देखिन्छ । कारण शिक्षित महिलाहरू पनि आखिर छाउगोठमै दिन बिताउँछन् । सहरमा पनि गाउँमा जस्तै छाउपडीमाथि विभेद छ । फरक यत्ति छ कि सहरबजारमा महिलाले घरको छानोभित्र बास पाएकी छन, ग्रामीण क्षेत्रको तुलनामा केही पोषिला र शक्तिवद्र्धक खाने कुरा पाएका छन् । तर पानी भने छुन पाउँदैनन् । त्यस्तै ग्रामीण भेगमा पनि महिनावारी भएकी कन्या वा महिला घरको आँगनभन्दा कम्तीमा १०० मिटर टाढै बस्छन् । ज्यान सुकाएर काम गर्छन, सुक्खा खाना खान बाध्य छन् ।
यसरी हेर्दा छाउपडीप्रथा देशभरी नै व्याप्त छ । तर अन्य क्षेत्रको तुलनामा विशेषगरी मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यो समस्या विकराल छ । छाउपडी जस्तो कुप्रथाबाट  नारीजाति नै अपहेलित छन् भने उनीहरूको स्वास्थ्यमाथि समेत खेलवाड भइरहेको छ । जुन नेपाली समाजका  महिलाहरूका लागि अभिसाप नै हो ।
के हो छाउपडी (महिनावारी) ? के छ यसभित्रको वास्तविकता ?
महिनावारी अर्थात ठेट नेपाली भाषामा ‘छाउपडी’ महिलाहरूमा हुने नियमित प्राकृतिक प्रक्रिया हो । यो महिलाहरू प्रजनन प्रक्रियाका लागि सक्षम रहेको एउटा स·ेत हो । 
महिनावारी हुनु भनेको महिलाको बाहिरी प्रजनन अ· ‘योनीबाट लगभग हरेक २८ दिनमा ३ देखि ५ दिनसम्म रगत बग्ने प्रक्रिया हो । जुन रगत महिलाको पाठेघरको विकारयुक्त रगत हो । महिनावारीको समयमा एक पटकमा लगभग ५० देखि ९० मिलिलिटर रगत बाहिर निस्किन्छ । महिनावारी सुरु हुने उमर १३ देखि १५ वर्ष हो, जसलाई मेनार्क भनिन्छ । महिनावारी रोकिने उमेर ४५ देखि ५० वर्ष हो, जसलाई मेनोपज  भनिन्छ । यो महिलामा हुने सामान्य प्राकृतिक प्रक्रिया हो । महिनावारीको बारेमा सत्य–तथ्य कुरा जानिसक्दा पनि कोही यसमा परिर्वतन गर्न चाहँदैनन् । किनकि उनीहरूलाई देवी रिसाउने डर छ । अछामकै कुरा गर्दा एक दशकमा १२ महिला तथा किशोरीहरूले छाउपडी गोठमा ज्यान गुमाएका छन् । गतवर्ष मात्रै तिमिल्सैन–७ की डम्बरा उपाध्याय र गाज्रा ७ की  रोशनी तिरवा र यस वर्ष नै तुर्मखादकी गौरी बूढा ले ‘छाउगोठ’मै अकालमा ज्यान गुमाउनुपरेको थियो । नेपालका केही जिल्लाहरूलाई ‘छाउगोठ मुक्त घोषणा गर्दा पनि छाउपडीगोठहरू कायमै रहेको पाइन्छन् । ती क्षेत्रमा गोठमा किन बस्छ भनी सोध्दा अधिकांशले देवी रिसाउने, सन्चो नहुने, छुन नमिल्ने हुनाले गोठमा जाने गरेको उत्तर दिने गर्छन् ।
नारीलाई देवीको स्थान दिने धर्मावलम्बी भएको हाम्रो देशमा धर्मले नै नारीलाई पूजा गर्नुपर्छ भनेर सिकाउँछ । तर, यही समाजमा नारीलाई पुरुषको कठपुतली बनाइएको छ । यहाँ पत्थरकी शैलेश्वरीको पूजा गरिन्छ तर जीवित नारीलाई महिनाको ४ दिन अछूत भनी हेला गरिन्छ । जहाँ माता भगवती, पार्वती, मनकामनाको पूजा गरिन्छ तर त्यहाँ नै देवीको रूप नारीलाई महिनाको ४ दिन अपहेलना गरेको पाइन्छ ।
आखिर किन ? 
महिलाको प्रजनन प्रक्रियालाई अछुतका रूपमा परिभाषित गरी महिलाको स्वास्थ्यसँग खेलवाड किन भइरहेको छ ? किन कसैले पनि यो महिलाको प्राकृतिक प्रक्रिया हो भनी जान्न र बुझ्न चाहँदैनन् ? र, जानेकाहरू बुझाउन चाहँदैनन् ? के छाउपडी मान्नुको एक मात्र कारण देवीदेवता रिसाउनु नै हो ? यदि हो भने किन धर्मशास्त्रमा ‘छाउगोठका बारेमा उल्लेख छैन ? किन विज्ञानले यसलाई सामान्य प्रक्रिया हो भन्छ ? किन हाम्रो औपचारिक शिक्षामा ‘छाउ बार्नु भनी सिकाएन ? यो सबैको एउटै जवाफ हो किनकि यी सबैकुरा यर्थाथ नभई रुढीवादी हुन् । ‘छाउका बारेमा जति पनि मान्यता छन, समाजमा ती सबै अन्धविश्वासमा आधारित छन् । त्यसैले यसलाई समाप्त गर्न आवश्यक छ । हामीलाई सिकाइन्छ कि, भगवान, हल्लाह र गड एउटै हो, मात्र तिनीहरूका नाम अलग हुन् । यदि त्यसो हो भने किन हिन्दु धर्मको पूजा गर्नेहरूले महिनावारी बार्नुपर्ने ? जबकि गडको पूजा गर्नेहरूका लागि महिनावारी सामान्य प्रक्रियाझैं लाग्छ । के अब रुढीवादी अन्धविश्वासलाई समाप्त गर्नका लागि महिलाहरूले धर्म परिर्वतन गर्नुपर्ने हो ? यदि छाउपडी अछुत नै हुने कुनै सर्वमान्य कारण आधार भए सबैलाई समानरूपले दुःख हुनुपर्ने थियो । सबैलाई बिसन्चो हुनुपर्ने थियो । सबैका देवता रिसाएर हानि हुनुपर्ने थियो ।
तर यस्तो छैन । छाउपडीलाई समस्याका रूपमा तिनीहरूले मात्र लिएका छन, जसले अन्धविश्वासलाई हटाउन चाहँदैनन् । जो रुढीवादी विचारबाट माथि आउन चाहँदैनन् । जो परिर्वतन हुनै चाहँदैनन् वा आफ्नो आँखामा रहेको अन्धविश्वासको ‘कालोपर्दा खोल्न चाहँदैनन् । जसले प्राकृतिक प्रक्रिया ‘छाउ’लाई अछुत भनी सड्ढीर्ण मानसकिता बनाएका छन् । तिनीहरूका लागि मात्र ‘छाउ समस्याका रूपमा छ । तर सबै यसको सबै प्रक्रिया र आधारहरूलाई केलाएर हर्ने हो भने ‘दूधको दूध पानीको पानी हुने स्पस्ट छ ।
छाउ मान्ने मानिस किन हुन्छन् त बिरामी ?
हामीले हाम्रो गाउँ समाजमा धामी झाँक्री र अन्य कैयौँ मानिसहरू छाउपडीले गर्दा सन्चो हुँदैनन भनी सुनेका छौँ । यसलाई स्पस्ट पार्न डा. शिखर स्वाँर (न्याय हेल्थमा मानसिक स्वास्थ्य विभागमा कार्यरत) भन्छ, ‘छाउपडी अथवा महिनावारी महिलामा हुने सामान्य प्रक्रिया हो, जसले महिलाको प्रजनन प्रक्रियालाई मद्दत गर्छ । छाउपडीले छोए बिरामी हुन्छन् भन्नु सरासर गलत र असत्य कुरा हो । धामीझाँक्री र अन्य मानिसहरू बिरामी हुनुभनेको उनीहरूको मानसिकता मात्र हो अथवा मनको भ्रम मात्र हो ।  र धामीझाँक्री काँप्नु भनेको उनीहरूको उपचार दिने विधि मात्र हो र अन्य बिरामी अथवा काँप्ने हुनु, मूर्छा पर्ने मानिस छन् भने मानसिक समस्या हुन सक्छ । त्यतिबेला धामीझाँक्रीको नभई चिकित्सक अथवा मानसिक परामर्शकर्ताको आवश्यकता हुन्छ ।
त्यसैगरी सन् १९५० मा गरिएको प्लेसेवो सकारात्मक संवेगको अध्ययनले स्पष्ट पार्छ कि छाउपडीले गर्दा सन्चो नुहुनु, देवी देवता रिसाउनु, काँप्ने आउनु आदि मानिसहरूको नकारात्मक सोचाइले मात्र उत्पन्न भएका रोग हुन् । प्लेसेवो अध्ययन चिकित्सा विज्ञानमा औषधिको बारेमा अध्ययन गर्दा अपनाइने महत्वपूर्ण प्रक्रिया हो । जसमा औषधिजस्तै देखिने तर औषधिको गुण नभएको चक्की वा सुई बिरामीलाई दिइन्छ । बिरामीले औषधि खाइरहेको छ र अब चाँडो निको हुन्छ भन्ने सकारात्मक सोच र विश्वास गरेको कारणले आन्तरिक शक्ति बलियो हुन गई बिरामीलाई सन्चो हुन्छ । त्यसैगरी मुटुका रोगीहरूको उपचार र शल्यक्रिया गर्ने अमेरिकाको एउटा अस्पतालमा बिरामीहरूको मनोपद्धतिको अध्ययन गरिएको थियो । त्यस अध्ययनमा मुटुको रोगले सिकिस्त भए पनि बाँच्न सक्छु भन्ने उत्साह भएका बिरामीहरूलाई छुट्टै वार्डमा राखिएको थियो । अर्कोथरी बिरामीहरू जसले बाँच्ने आशा मारेका थिए उनीहरूलाई छुट्टै वार्डमा राखिएको थियो । अन्त्यमा दुवै खाले  सोचाइ भएका बिरामीको शल्यक्रिया गरियो । जसको परिणाम सकारात्मक सोच भएका बिरामीको उपचारमा सफलता ५० प्रतिशतले बढी पाइएको थियो ।
यसरी अध्ययनबाट पनि स्पष्ट हुन्छ कि महिनावारी भएकी महिलाहरूलाई वा महिलाले छुँदा, सँगै खाँदा देवी रिसाउने, घरमा नराम्रो घटना घट्ने, बिरामी हुने, काँप्ने आउने आदि जस्ता कुरा हाम्रो नकारात्मक सोच र भ्रमले गर्दा मात्र भएको हो । यसर्थ छाउपडी प्रथा एकदमै असत्य कुरा हो, जुन हाम्रो नकारात्मक सोचले मात्र उत्पन्न हुने गर्छ ।
यस कारण छाउपडी प्रथा हटाउन आवश्यक छ  हाम्रो समाजमा महिलालाई छाउ बार्न लगाएर उनीहरूको स्वास्थ्य अधिकार हनन् भएको छ । महिलाहरूको स्वास्थ्य अधिकार पाउन र उनीहरूको शारीरिक स्वास्थ्यसँग खेलवाड हुन् नदिनका लागि छाउपडीजस्ता कुसंस्कारहरूलाई हटाउन एकदमै आवश्यक देखिन्छ । महिनावारी हुँदा शारीरिक तथा विभिन्न मानसिक समस्याहरू जस्तैः रगत बग्नु, तल्लो पेट दुख्नु, ढाड दुख्नु, टाउको दुख्नु आदि देखा पर्छन् । जुनबेला महिलालाई सफा वातावरण र पोषिलो खानाको आवश्यकता पर्छ । तर, समाजको रुढीवादी सोचले गर्दा महिलाहरू यी सबै कुराबाट वञ्चित हुन पुगेका छन् । उल्टै छाउगोठमा बस्नुपर्ने बाध्यताले गर्दा स्वास्थ्य झन् समस्याहरू बल्झिँदै गएको देखिन्छ । अर्कोतिर स्तनपान गराउने महिलासँगै रहेका कतिपय निर्दोष बालकहरू पनि यस कुप्रथाका कारण विभिन्न रोगहरू जस्तैः झाडापखाला, निमोनिया, जरो, खोकी आदिको शिकार हुन पुगेका छन् ।
तसर्थ महिनावारी कुनै अभिषाप नभई महिलामा हुने प्राकृतिक प्रक्रिया हो । त्यसैकारण छाउपडी जस्तो कुप्रथालाई हटाएर महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्दै उनीहरूमा आश्रित निर्दोष बालबालिकालाई रोगको शिकार हुनबाट रोक्न यो कुप्रथाको अन्त्य गर्न आवश्यक छ । रातोपाटीबाट सभार

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »